
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज सिजन ६’का विजेतालाई पुरस्कार प्रदान गरिएको छ । मंगलबार बेलुका आयोजित समारोहमा हिमालय टिभी र प्रायोजकका प्रतिनिधिहरूले पुरस्कार वितरण गरे ।
विजेता घोषित सिक्किमका जोसेफ शर्मा र उपविजेता बाँकेका अरविन चन्द ठकुरीले पुरस्कार ग्रहण गरे । टीम अनुपविक्रम शाहीको तर्फबाट विजेता घोषित शर्मालाई १० लाख नगद र शीर्ष प्रायोजक यामहाबाट मोटरसाइकलसहित गिफ्ट ह्याम्परहरू प्रदान गरियो ।
उपविजेता ठकुरीलाई १ लाख नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरियो । हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल, कार्यकारी निर्देशक श्याम कँडेल लगायतले पुरस्कार प्रदान गरे ।
अध्यक्ष भुसालले जोसेफको जितले विश्वभर छरिएका नेपालीभाषीमाझ रोडिजलाई विस्तार गरेको भन्दै खुसी व्यक्त गरे । रोडिजको सातौं संस्करणको अडिसन पनि चाँडै सुरु हुने उनले जनाए । शीर्ष प्रायोजक यामहासँग हिमालय टिभीको सहकार्य उत्कृष्ट रहेको उनको भनाई छ ।
कार्यकारी निर्देशक कँडेलले सातौं संस्करण निकट भविष्यमा सुरु हुने बताउँदै डिजिटल अडिसन सुरु हुने बताए । ‘सिक्किमका जोसेफको जितले रोडिज एउटा भूगोलमा मात्र सीमित छैन । नेपालीभाषी माझ पनि पुगेको छ’ उनले भने ।
निर्देशक सिमोस सुनुवारले सिजन ७ मा कीर्तिमान कायम गर्ने ढंगले निर्माण हुने बताए । कोच अनुपविक्रम शाहीले आफूलाई ग्याङ लिडरको रुपमा चयन गरेकोमा जोसेफलाई धन्यवाद दिए । जितपछिको मिडिया कुराकानीमा जोसेफले आफू सिक्किम फर्किएर ज्याभलिन थ्रो खेलको तयारीमा जुट्ने बताए ।
कोच प्रियंका कार्कीले रोडिजसँग आफ्नो जीवन परिवर्तन गर्ने अनुभव रहेको बताइन् । दीया मास्केले पनि सो अवसरमा आफ्नो अनुभव सुनाइन् । एड्भेन्चर रियालिटी शो हिमालय रोडिजमा यसपटक १६ जनाले प्रतिस्पर्धा गरेका थिए । होस्ट रेमनदास श्रेष्ठ र अर्का कोच लाउरे विदेशमा भएकाले उपस्थित भएनन् । सो अवसरमा अन्य प्रतिस्पर्धी पनि सहभागि थिए ।
तस्वीर सौजन्य : ज्ञानु राई
प्रतिक्रिया 4