१६ माघ, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन दोस्रो साता हुने भएको छ ।
आयोजक युवा संघले बुधबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म हुने जानकारी दिएको हो । प्रतियोगितामा ए डिभिजन क्लब र विदेशी क्लब गरी १० टोलीको सहभागिता हुने युवा संघले जनाएको छ ।
प्रतियोगिताको क्वाटरफाइनलसम्मका खेलहरू सातदोबाटोस्थपत एन्फा कम्प्लेक्समा खेलाइने र सेमिफाइनल तथा फाइनल खेल दशरथ रंगशालामा खेलाइने आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए ।
केपी ओली कपमा विश्वकै ख्याती प्राप्त खेलाडीलाई ल्याएर ईन्डोर्समेन्ट गर्ने युवा संङका अध्यक्ष थेबेले बताए ।
प्रतियोगितामा सहभागिताको लागि खुल्ला आह्वान गरिने पनि आयोजकले जनाएको छ । नेपालका ए डिभिजन र विदेशी प्रतिष्ठित टिमहरुलाई प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ । भुटान र भारतबाट पनि टिम आउने कुरा भइरहेको अध्यक्ष थेबेले बताए ।
प्रतियोगिताको विजेताले नगद १५ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख हात पार्नेछ । यसैगरी उत्कृष्ट खेलाडीले नगद १ लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समान ५० हजार तथा उत्कृष्ट उदीयमान खेलाडीलाई पनि ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
हरेक खेलको विजेता टिमलाई २५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार प्रदान गरिनेछ ।
खेलकुद क्षेत्रमा ‘समस्या हैन, सम्भावना छ’ भन्ने कुरालाई उजागर गर्दै युवा संघले दुई वर्ष अगाडिदेखि केपी ओली कप फुटबल सुरु गरेको थियो ।
केपी ओली कपको यसअघि भएका दुवै संस्करणको उपाधि मच्छिन्द्र एफसीले जितेको थियो ।
प्रतिक्रिया 4