+
+

ऊर्जामन्त्रीविरुद्ध उजुरीको छलफलमा कांग्रेस सांसद अनुपस्थित, पुगेका पनि हाजिर गरेर हिँडे

समिति स्रोतका अनुसार मुगु कर्णाली र किमाथांका जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भएका अनियमितताबारे उजुरी परेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते २०:११

१६ माघ, काठमाडौं । बुधबार बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा पूर्वाधार विकास समितिको बैठक बोलाइएको थियो ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ पनि आमन्त्रित थिए ।

कार्यसूची थियो– ऊर्जा मन्त्रालयसँग सम्बन्धित उजुरीबारेको छलफल । समिति स्रोतका अनुसार मुगु कर्णाली र किमाथांका जलविद्युत् आयोजनाको ठेक्का प्रक्रियामा भएका अनियमितताबारे उजुरी परेको थियो । उक्त ठेक्का प्रक्रियामा ऊर्जामन्त्री खड्काले अनियमितता गरेको आरोप समितिमा प्राप्त उजुरीहरूमा लगाइएको छ ।

छलफलका लागि समितिले बोलाएकै समयमा ऊर्जामन्त्री खड्का र राजयमन्त्री तामाङ उपस्थित भएका थिए ।

तर, गणपुरक संख्या नपुग्दा बैठक स्थगित हुन पुगेको छ ।

समिति सभापति दीपक बहादुर सिंहका अनुसार बैठक सञ्चालनका लागि २ जना सांसदको संख्या नपुग्दा स्थगित गरिएको हो । २५ सदस्यीय समितिमा गणपुरक संख्या पुर्‍याउन १४ जना सांसद्को आवश्यकता पर्छ ।

तर, बुधबारको बैठकमा जम्मा १२ जना मात्रै सांसद उपस्थित हुन पुगेको सभापति सिंहको भनाइ छ ।

अधिकांश कांग्रेसका सांसद गएनन्, पुगेका पनि हाजिर गरेर हिँडे

पूर्वाधार विकास समितिको बैठकमा २५ सदस्य छन् । जसमध्ये नेपाली कांग्रेसबाट ८, नेकपा एमालेबाट ७, नेकपा माओवादी केन्द्रबाट ३, राप्रपाबाट २, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २, नेकपा एकीकृत समाजवादी पार्टीबाट १, नागरिक उन्मुक्ति पार्टीबाट १ र जनता समाजवादी पार्टीबाट १ जनाले प्रतिनिधित्व गर्छन् ।

समितिमा सबैभन्दा धेरै प्रतिनिधित्व नेपाली कांग्रेसका सांसद्को छ । जसमध्ये राजेन्द्र बजगाईं र कल्पना चौधरी पुगेका थिए । उनीहरू बैठकमा पुगेपनि हाजिर गरेर हिँडे ।

कांग्रेसका अन्य सांसदहरू खम बहादुर गर्बुजा, दिनेश कुमार यादव, प्रतिमा गौतम, मैना कार्की, शंकर भण्डारी, सिता गुरुङ बैठकमै पुगेनन् ।

समिति सभापति सिंहका अनुसार शंकर भण्डारीले भने आफू जिल्लाबाहिर हुने भएकाले बैठकको समय परिवर्तन गर्न आग्रह गरेका थिए । अन्य सांसदको भने कुनै जानकारी समितिलाई छैन ।

‘आज शहीद दिवस पनि भएको, विभिन्न जिल्ला जिल्लामा माननीयज्यूहरू पनि जानपर्ने भएकाले यस्तो भएको हुनसक्छ,’ सभापति सिंहले भने ।

बुधबारको बैठकमा नेकपा माओवादी केन्द्रबाट १, नेपाली कांग्रेसबाट २, नेकपा एमालेबाट ५, राप्रपाबाट २, जसपाबाट १ जना बुधबारको बैठकमा सहभागी हुन पुगेका थिए ।

नेकपा एमालेबाट ठाकुर गैरे, गोकर्ण विष्ट, प्रेमराज महर्जन, दयालबहादुर शाही र निर्मल कोइराला बैठकमा सहभागी हुन पुगेका थिए । माओवादी केन्द्रबाट माधव सापकोटा मात्रै पुगेका थिए भने उर्मिला माझी पुगिनन् ।

राप्रपाबाट समितिमा प्रतिनिधित्व गर्ने दुईजना दिपक बहादुर सिंह र बिना लामा नै उपस्थित थिए । रास्वपाबाट प्रतिनिधित्व गर्ने दुई सांसद निशा डांगी र शिव नेपाली दुवै उपस्थित भएनन् । जसपाबाट प्रतिनिधित्व गर्ने सांसद सुशिला श्रेष्ठ पनि बैठकमा सहभागी हुन पुगेकी थिइन् । एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने सांसद प्रकाश ज्वाला पनि बैठकमा पुगेनन् ।

अब अर्को बैठक आगामी २४ गते बिहान ८ बजेका लागि बोलाइएको सभापति सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?