१६ माघ, काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले सञ्चालन गरेको डा.ओम फाउण्डेसनले सरकारी विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । सरकारी विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा फाउण्डेसनले गरेको हो ।
छात्रवृत्तिका लागि माघ १७ देखि फागुन ५ गतेसम्म समय तोकिएको छ । देशभरका सरकारी विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययन गर्दै गरेका विद्यार्थीले आवेदन दिन सक्ने फाउण्डेसनका अध्यक्ष डा.अनिलले जानकारी दिए ।
छात्रवृत्तिमा सहभागी हुन फाउण्डेसनको वेबसाइटमा रहेको छात्रवृत्ति फर्म भरेर आवेदन दिन सकिने उनले बताए ।
डा.अनिलका अनुसार छात्रवृत्तिका लागि २० लाख रुपैयाँ रकम छुट्याइएको छ । विद्यार्थी स्वयम्, विद्यालय वा अभिभावकले आवेदन दिन सक्नेछन् । छात्रवृत्तिका लागि आवेदन दिँदा साथमा विद्यार्थीको अघिल्लो कक्षाको ग्रेड सिट र चालु शैक्षिक शत्रका दुई वटा त्रैमासिक परीक्षाको ग्रेड सिट अपलोड गर्नुपर्ने छ।
यसका साथै विद्यार्थीको परिचयपत्र, आमा वा बुवाको नागरिकताको फोटो, परिवारको आर्थिक अवस्था कमजोर भएको पुष्टि गर्ने वडाको सिफारिस तथा विद्यार्थीको शैक्षिकस्तर सम्बन्धि विद्यालयको सिफारिस समावेश गर्नुपर्ने पनि डा.अनिलले बताए ।
प्राप्त आवेदनहरूबाट लाभग्राही विद्यार्थी छनोट गरिने फाउण्डेसनले जनाएको छ । दुई पुस्तकका लेखकसमेत रहेका डा. अनिलको दोस्रो पुस्तक‘जीवन्त सम्बन्ध’ को विक्रीबाट प्राप्त रकमले छात्रवृत्ति दिन लागिएको डा. अनिलले जानकारी दिए।
यस पुस्तकको विक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम डा.ओम फाउण्डेसनमार्फत स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका निम्ति खर्च गर्ने डा अनिलले पूर्वघोषणा गरेका थिए । डा. ओम फाउण्डेसनले उद्देश्यअनुरूप निरन्तर काम गरिरहेको दावी डा.अनिलको छ।
फाउण्डेसनले विभिन्न ठाउँमा सात वटा निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरी १६ सय जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो । उक्त शिविरमा इको, इसीजी, सुगर प्रेसरलगायत जाँच गर्नुका साथै आवश्यक औषधिसमेत निःशुल्क प्रदान गरिएको उनले जानकारी दिए।
यसका साथै फाउण्डेसनले विपन्न तथा सीमान्तकृत समुदायका ३५० परिवारलाई कम्बल वितरण गरेको थियो । स्वदेश र विदेशमा बसोबास गर्ने नेपालीहरूका निम्ति निःशुल्क टेलिमेडिसिन सेवा र विद्यार्थीलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई लक्षित गरी स्वास्थ्य जागरूकता सम्बन्धि सचेतनामूलक कार्यक्रम पनि यसले गर्दै आएको छ ।
धूम्रपान विरुद्धको अभियानमा देशभरका विद्यार्थीहरूलाई सहभागी गराई हाजिरीजवाफ, चित्रकला, कविता प्रतियोगिता पनि गरेको थियो । धूम्रपान विरुद्धकै अभियानमा १७ सय जनाभन्दा बढीलाई धूम्रपान तथा सुर्ती सेवनको लत छुटाएको दावी डा.अनिलको छ।
साथै ५० जनाभन्दा बढीलाई सिपिआर तालिम प्रदान गरी आकस्मिक रुपमा हुने स्वास्थ्य जटिलता र पीडितको जीवन रक्षा गर्न सहयोग गर्ने ज्ञान प्रदान पनि गरेको थियो । फाउण्डेसनले अहिले विद्यार्थीको शिक्षामा जोड दिन छात्रवृत्ति कार्यक्रम गरेको हो । यस पटक फाउण्डेसन आफैँले छात्रवृत्ति प्रदान गर्दै छ । यस अभियानमा कुनै व्यक्ति वा संस्थाले फाउण्डेसनमार्फत थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने इच्छा व्यक्त गरेमा त्यसका निम्ति फाउण्डेसनले सहजीकरण पनि गरिदिने डा. अनिलले बताए ।
प्रतिक्रिया 4