+
+

का‍ंग्रेसको नजर स्टार्टअप र साना मझौला उद्यम प्रवर्द्धनमा

नवप्रवर्तन र साना उद्यमी प्रोत्साहन गर्न कांग्रेसले आयोजना गरेको ‘नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय’ सम्मेलन साना उद्यमीका समस्या ठूला उद्योगीदेखि नीति निर्मातासम्म पुर्‍याउने माध्यम बनेको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ माघ १६ गते २१:२०
कांग्रेसले ‘नवप्रवर्तन र साना उद्यमी’ प्रोत्साहन गर्न बुधबारबाट आयोजना गरेको दुई दिने सम्मेलनको दौरान पार्टी केन्द्रीय कार्यालयमा राखिएका स्टलहरू । तस्वीर : आर्यन धिमाल ।

१६ माघ, काठमाडौं । ‘नवप्रवर्तन र साना तथा मझौला व्यवसायलाई अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न सक्ने क्षेत्रका रूपमा अर्थ्याउन थालेको धेरै भयो । तर, कतिपय सरकारी अड्चन हटाउन तथा नयाँ पुस्तामा आत्मविश्वास भर्न नसक्दा यसबाट लिन सकिने जति लाभ व्यक्तिले लिन सकेको छ, न राज्यले ।

नेपाली कांग्रेसले ‘नवप्रवर्तन र साना उद्यमी’ प्रोत्साहन गर्ने उद्देश्यले बुधबारबाट आयोजना गरेको दुई दिने सम्मेलनको दौरान केही यस्तै गुनासा सुनिए । सँगसँगै नीतिगत सुधारका लागि सरकारलाई झकझक्याउन आवश्यक रहेको निष्कर्षहरू पनि आए ।

नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलनको दौरान उत्पादित वस्तुको प्रदर्शनीको साथै सरोकारपक्षका समस्या सुन्ने कार्य कांग्रेसले तय गरेको थियो ।

पार्टी केन्द्रीय कार्यालय सानेपाको प्राङ्गणमा ८० भन्दा बढी स्टलहरू राखिएका छन्, जहाँ कृषि उत्पादनदेखि आइटी क्षेत्र, कपडा र नवीकरणीय ऊर्जाका उत्पादनसम्म प्रदर्शनीमा राखिएका छन् । नेपालमा उत्पादित चिया, मह, ढाका र अल्लोको कपडा, च्याउलगायतका कृषिजन्य उत्पादन पनि प्रदर्शनीमा छन् ।

यस्तै, दुई सय बढीलाई रोजगारी दिएका आइटी कम्पनीहरू सम्मेलनका दौरान प्रदर्शनीका लागि उत्साहित भएर सहभागी भएको कांग्रेसको उद्यमशीलता र साना मझौला व्यवसायी विकास विभागका सचिव खगेन्द्र आचार्यले जानकारी दिए ।

सम्मेलन साना उद्यमीका समस्या नीति निर्मातादेखि ठूला उद्योगीकहाँ पुर्‍याउने माध्यमसमेत बनेको छ । विषयगत रहेर बहस गर्ने विभिन्न क्षेत्रका विज्ञका साथै उद्यमीहरूलाई वक्ताका रूपमा आमन्त्रण गरिएको छ ।

नव प्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण विषयमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नबिल बैंकका सिनियर डिसिओ मनोज ज्ञवाली, गोल्डस्टार सुजका कार्यकारी निर्देशक विदुषी राणा, नास आइटीका उपाध्यक्ष गौरव पाण्डेले उद्यमीका समस्याका साथै नीतिगत तहमा गर्नुपर्ने कार्य सरकारलाई सुझाए ।

‘नेपालमा लगानीः स्टार्टअप र साना तथा मझौलाको भविष्य’ विषयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी, महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवाली, विजनेस अक्सिजनका सीईओ सिद्धान्तराज पान्डेलगायतले विचार राखे ।

विभाग संयोजक उर्मिला थपलियाले डिजिटल अर्थतन्त्रलाई प्रवर्धन गर्ने र साना उद्यमीलाई प्रोत्साहन गर्न सम्मेलनले योगदान गर्ने विश्वास व्यक्त गरिन् । ‘सम्मेलनले विभिन्न क्षेत्रका सिकाइ, अनुभव र विचारबाट एकअर्कामा ज्ञानको प्रवाह गरेको छ भने युवा उद्यमी एवम् नयाँ पुस्ता जोडिँदा पार्टीलाई समेत टेवा पुग्नेछ,’ थपलियाले भनिन् ।

सम्मेलन बिहीबारसम्म चल्नेछ ।नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरणलगायतका विभिन्न ६ वटा विषयमा बुधबारदेखि सुरु छलफल बिहीबार पनि जारी रहनेछ ।

कांग्रेसले सम्मेलनले उद्यमशीलता र आर्थिक वृद्धिमा योगदान दिने विश्वास व्यक्त गरेको छ । आर्थिक रुपान्तरणको लागि प्रवर्धन, लगानी प्रोत्साहन, निधि सुधारमा वकालत, डिजिटल अर्थतन्त्रको प्रवर्धनलगायतका उद्देश्य कांग्रेसले राखेको छ ।

साथै, युवाहरूको नेटवर्क निर्माण, नीतिगत सुधार र प्रदर्शनीमार्फत स्थानीय उत्पादनहरूको प्रचार–प्रसार एवम् बिक्रीमा बृद्धि हुुने अपेक्षा कांग्रेसको छ । फोहोरमैलाबाट उत्पादित नवीकरणीय ऊर्जा उत्पादनहरू प्रदर्शनमा राखेकी आस्थाविन्दु मल्लले कांग्रेसले देखाएको चासोप्रति सन्तुष्टि व्यक्त गरिन् । उनले भनिन्, ‘दक्षिण कोरियाका राजदूतले पनि अवलोकन गर्नुभयो । नवीकरणीय ऊर्जामा सहकार्य गर्न बोलाउनुभएको छ । नेताहरूलाई पनि यो विषयमा सुनाउन पाएँ ।’

‘सपोर्ट बिना स्टार्ट अपले गति लिँदैन’

सम्मेलनका वक्ताहरूले सरकारको सहयोग बिना स्टार्टअप र साना उद्यमीले गति लिन नसक्ने बताएका छन् । राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले स्टार्टअप र उद्यमशीलताका लागि सरकारको सहुलियत कर्जा बढाउनु पर्ने विचार राखे । सहुलियतपूर्ण कर्जा केन्द्रीय बैंकबाट जान नसकेको बताउँदै नेपालले कर्जा प्रवाह बढाउनुपर्नेमा जोड दिए ।

नबिल बैंकका सिनियर डीसीईओ मनोज ज्ञवालीले विश्वभर चलिरहेको स्टार्टअप ९० देखि ९५ प्रतिशत असफल गरेको बताए । बिजनेस असफलको रिक्स लिन नसक्ने कारणले स्टार्टअपलाई बैंकहरूले लगानी नगर्ने अवस्थाले स्टार्टअपहरूले बैंकहरू खोज्नेभन्दा पनि सरकारी श्रोतहरू खोज्नुपर्ने सुझाव दिए ।

‘यदि स्टार्टअप गर्ने हो भने आफ्नो सञ्चित रकमबाट सुरु गर्नुहोस् । यदि पुगेन भने परिवारका सदस्यहरूबाट लिनुहोस्,’ ज्ञवालीले प्यानल संवादमा भने, ‘त्यसले पनि पुगेको भने भेन्चर क्यापिटलहरूमा जानुहोस् । त्यसले पनि पुगेन भने सरकारमा पुग्नुहोस् । यति गरेपछि स्टार्टअप ग्रो हुन्छ र त्यसपछि बैंक तपाईंको पछिपछि लाग्छ ।’

नास आईटीका उपाध्यक्ष गौरव पाण्डे करिब एक लाख युवा यस क्षेत्रमा आवद्ध रहेको बताउँछन् । सरकारको नीति, बैंकको सहयोग हुँदा अबको १० वर्षमा चार लाख युवालाई रोजगारी प्रदान गर्न सकिने र वार्षिक १० खर्ब विदेशी मुद्रा आर्जन गर्न सकिने पाण्डेको दाबी गर्छन् ।

२७ वर्षदेखि निरन्तर उद्यमशीलताका क्षेत्रमा काम गरिरहेका उमेशकुमार गुप्ताले स्टार्टअप कर्जाको नीति अघि बढाएको सुनाए । विजनेस अक्सिजनका सीईओ सिद्धान्तराज पान्डेले युवा पुस्ताले साइड विजनेस गरेर लाखौँ कमाइरहेका जानकारी गराए । उनले भने, ‘केही नभएको भन्ने होइन, तर युवापुस्तालाई विदेशीनबाट रोक्न लगानीमा सहजीकरण र कानुनी अड्चनहरू फुकाउनुपर्ने देखिन्छ ।’

कानुनी जटिलता हटाउन माग

स्टार्टअप र साना तथा मझौला उद्योग स्थापना र प्रवर्धनका लागि लगानीको सहज वातावरण बनाउन कानुनी जटिलता हटाउन सम्मेलनमा वक्ताहरूले माग गरेका छन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले राजनीतिक दलहरूले नवप्रवर्तनका काममा प्रोत्साहन गर्न सके युवाहरूलाई लगानी र स्टार्टतर्फ आकर्षित गर्न सकिने बताए ।

अध्यक्ष ढकालले भने, ‘पहिला चुनौति थियो, अहिले धेरै सहज छ । अहिले बैंक र बित्तीय संस्थाले सहज रूपमा ऋण लिन सकिने व्यवस्था गरेका छन् । विभिन्न समिटहरू भइरहेका छन् । त्यसबाट सहजै अवसर लिन सकिने अवस्था छ ।’

त्यस्तै, गोल्डस्टार सुजका कार्यकारी निर्देशक विदुषी राणाले जुत्ता उद्योगहरूले भोगिरहेको समस्या सम्मेलनमा सुनाइन् । उत्पादनमूलक उद्योगलाई बैंकहरूले प्रवाह गर्ने कर्जा महंगो भएको गुनासो राणाले राखिन् । नेपालमा करिब १५ सयवटा फुटवेयर कम्पनी रहेको जानकारी गराउँदै राणाले ५० हजारजनालाई प्रत्यक्ष रोजगारी सिर्जना भएको सुनाइन् । पछिल्लो १० वर्षयता निर्यात गर्न समस्या रहेको उनले सुनाइन् ।

नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बिहान सम्मेलनको उद्घाटन गरे । सम्मेलनले लगानीकर्तालाई अवसर र युवालाई स्वरोजगारको ढोका खोल्ने विश्वास रहेको देउवाले बताए ।

तस्वीरहरूः आर्यन धिमाल 

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?