+
महिला टी-२०आई श्रृंखला :

ऐतिहासिक टी-२०आई श्रृंखलाले महिला क्रिकेटमा उत्साह

२०८१ माघ  १६ गते २१:२६ २०८१ माघ १६ गते २१:२६
ऐतिहासिक टी-२०आई श्रृंखलाले महिला क्रिकेटमा उत्साह

१६ माघ, काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई श्रृंखला बिहीबारदेखि काठमाडौंमा सुरू हुँदै छ । नेपालमा झण्डै साढे दुई वर्षपछि अन्तर्राष्ट्रिय महिला क्रिकेट फर्कन लागेको हो ।

श्रृंखला खेल्नका लागि इन्दु बर्माको कप्तानीमा यू-१९ विश्वकप खेलेका दुई खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ । नेपालले नेदरल्याण्ड्ससँग पहिलोपटक खेल्न लागेको‌ हो । थाइल्याण्ड पनि नेपालमा आएर पहिलोपटक खेल्दै छ ।

नेपालमा तीन टोली सम्मिलित भएर टी-२०आई श्रृंखला हुन लागेको यो पहिलोपटक हो । यसअघि युगाण्डासँग द्विदेशीय श्रृंखला भएको भएपनि तीन टोली सम्मिलित भएर श्रृंखला आयोजना हुन लागेको भने पहिलोपटक हो ।

श्रृंखलामा सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने छन् । फाइनल खेल भने हुने छैन । सबै टिमलाई समान खेलको अवसर प्राप्त गराउने उद्देश्यले सबैको समझदारीमा फाइनल नराखिएको क्यानका सचिव पारस खड्काले जनाए ।

श्रृंखलाको पहिलो खेलमा बिहीबार नेपाल र नेदरल्याण्ड्स खेल्ने छन् । खेल दिउँसो सवा १२ बजेदेखि सुरू हुनेछ ।

साढे दुई वर्षपछि घरमै श्रृंखला

नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेलहरू नखेलेको साढे दुई वर्षभन्दा बढी भइसकेको थियो । पछिल्लोपटक सन् २०२२ को मे महिनामा युगाण्डाको महिला टिमसँग कीर्तिपुरमा खेलेपछि नेपालले घरेलु मैदानमा खेलहरू खेलेको थिएन ।

त्यसपछि नेपालले मलेसियामा र हङकङमा विभिन्न श्रृंखलाहरू तथा महिला विश्वकप छनोट र महिला एसिया कप पनि खेल्यो । तर नेपालमा भने त्यसबीचमा कुनै पनि खेल भएनन् ।

लामो समयपछि घरमै हुन लागेको यो अन्तर्राष्ट्रिय क्रिकेटका लागि उत्साहित रहेको कप्तान इन्दुको भनाइ थियो । ‘साढे दुई वर्षपछि घरेलु मैदानमा नै यो श्रृंखला हुन लागेको छ, धेरै उत्साहित छौं हाम्रो टिम पनि राम्रो छ सन्तुलित छ’ इन्दुले भनिन् ।

त्यसैगरी इन्दुले यो श्रृंखला नेपालका लागि निकै महत्वपूर्ण भएको उल्लेख गरिन् । ‘हामीले भर्खर पीएम कप पनि खेलेर आएका छौं, महिला क्रिकेटकै राम्रो प्रोगेसका लागि यो हाम्रो लागि निकै महत्वपूर्ण छ’ इन्दुले थपिन् ।

खेलाडीहरूको उत्साह

नेपालको आयोजनामा पहिलोपटक हुन लागेको यस त्रिदेशीय श्रृंखलाका लागि पाहुना टोलीका कप्तानहरू उत्साहित देखिएका छन् । नेपालले नेदरल्यण्ड्स महिला टोलीसँग पहिलोपटक खेल्न लागेको छ भने थाइल्याण्डसँग घरेलु मैदानमा पहिलोपटक खेल्ने छ ।

थाइल्याण्डकी कप्तान नारुमोल चाइवाइले पहिलोपटक नेपालमा आएर खेल्न उत्साहित रहेको बताउँदै यसअघि भारतमा आएर खेलेको र त्यहाँको कन्डिशन उस्तै भएकाले अनुभव काम लाग्ने बताइन् । ‘हामी पहिलोपटक नेपाल आएका छौं, यसअघि भारतको पुनेमा खेलेका थियौं, त्यहाँ र यहाँको कन्डिशन एउटै जस्तो छ त्यसकारण राम्रो प्रदर्शन गरेर ट्रफी जित्ने छौं’ उनले भनिन् ।

त्यस्तै नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडेले पनि पहिलोपटक नेपाल आउँदा उत्साहित भएको बताइन् । नेपालसँग पहिले खेल्ने अवसर नपाएपनि अब पाएको अवसरमा राम्रो खेल प्रदर्शन हुने उनको भनाइ थियो ।

वरियतामा माथि रहेका टिमसँग खेल्दै नेपाल

महिला टी२०आई क्रिकेटको वरियतामा नेपालभन्दा थाइल्याण्ड र नेदरल्याण्ड्स दुवै टोली माथि छन् । थाइल्याण्ड १३औं स्थानमा छ भने नेदरल्याण्ड्स १६औं र नेपाल २०औं स्थानमा छन् ।

कप्तान इन्दुले यो वरियता सुधारको मौका समेत भएको उल्लेख गरिन् । ‘हामी वरियतामा तल छौं, यो अब वरियता पनि सुधार गर्दै नेपाली क्रिकेट टोलीको क्षमता बढाउनका लागि पनि महत्वपूर्ण हुनेछ’ उनले भनिन् ।

‘पहिलोपटक खेल्दै छौं, उनीहरूको खेलको भिडियो हेरेर रणनीति बनाएका छौं । हामीसँग घरेलु मैदान र घरेलु दर्शकको पनि साथ छ’ इन्दुको भनाइ थियो ।

नेपालसँग खेल्नुअघि अभ्यास खेलहरू पनि खेलेको उल्लेख गर्दै डच टिमकी कप्तान डे लिडेले यहाँको कन्डिशनबारे केही थाहा भएको र यूरोपभन्दा फरक कन्डिशन भएकाले त्यसैअनुसारको खेल प्रदर्शन गर्ने बताइन् ।

यू-१९ विश्वकप सहभागिताले बढेको मनोबल

नेपाली महिला यू-१९ टोलीले भर्खरै मात्र ऐतिहासिक विश्वकप खेलेर फर्किएको छ । नेपाली महिला क्रिकेट इतिहासमा कुनैपनि टोलीले विश्वकप खेलेको यो पहिलोपटक थियो ।

विश्‍वकपमा खेलेका खेलाडीहरूमध्ये दुई खेलाडी त यही श्रृंखलाका लागि पनि टोलीमा समावेश छ । यस्तोमा विश्‍वकप खेलेका खेलाडीको अनुभवले टिम सन्तुलित भएको र त्यस विश्‍वकप सहभागिताले टोलीको मनोबल धेरै बढैको इन्दुले बताइन् ।

‘यो सिनियरको ब्याकअप टिम हो, अब एउटा टप प्रतिस्पर्धा हुने वातावरण सिर्जना भएको छ । पुजा र एलिशा दुई खेलाडीको विश्‍वकप अनुभव समेत टिममा थपिँदा अब हाम्रो टिम अझै बलियो भएको छ’ इन्दुले भनिन् ।

यस्ता श्रृंखलाहरू अझै धेरैभन्दा धेरै खेलिरहन सके टिमले थप एक्सपोजर पाउने इन्दुको भनाइ थियो ।

दर्शकलाई प्रवेश नि:शुल्क

यस श्रृंखलाका सम्पूर्ण खेलहरू हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा प्रवेश नि:शुल्क गरिएको छ । महिला क्रिकेटलाई थप प्रोमोसन गर्नका लागि यस्तो गरिएको क्यानको भनाइ छ ।

‘हामीले महिला क्रिकेटको पनि धेरैभन्दा धेरै प्रोमोसन होस् भन्ने हिसाबले यसरी दर्शकहरूलाई प्रवेश नि:शुल्क गरेका छौं । त्यसकारण धेरैभन्दा धेरै दर्शकहरू मैदानमा आएर सपोर्ट गरिदिनुहोला’ क्यानका कोषाध्यक्ष पदम खड्काले भने ।

नेपाली टोलीका कप्तान इन्दुले धेरैभन्दा धेरै दर्शकहरू मैदानमा आएर समर्थन गरिदिन आग्रह गरेकी छन् । ‘धेरैपछि हामीले घरेलु मैदानमा खेल्दै छौं, सबैजना फ्यानहरूलाई आएर हेरिदिनुहोला, अहिले नै हो सपोर्ट गर्ने बेला’ इन्दुले भनिन् ।

क्यानका सचिव पारस खड्काले महिला क्रिकेटमा पनि अब धेरैभन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र होम एण्ड अवे खेलहरू आयोजना गर्ने तयारी भइरहेको बताए । ‘महिला क्रिकेटमा पनि लगानी गर्न सक्ने हो भने धेरै उपलब्धि हासिल गर्न सकिने कुरा अहिलेको विश्वकप सहभागिताले प्रमाणित गरिसकेको छ’ पारसले भने, ‘साढे दुई वर्षपछि अब घरमै अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको छ, सबैजनाको समर्थनको आशा गरेका छौं।’

***

नेपालले माघ १७ मा नेदरल्याण्ड्स, माघ १९ मा थाइल्याण्ड, माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।

फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ ।

नेपालको टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्‍वरी विष्ट 

नेपाली महिला क्रिकेट टोली महिला टी-२०आई श्रृंखला

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय