१७ माघ, काठमाडौं । फरक फर्म्याटमा भएको यूईएफए च्याम्पियन्स लिगको लिग चरणको खेलहरु सकिएसँगै नकआउट चरणको समीकरण पूरा भएको छ ।
इंग्लिस क्लब लिभरपुलको शतप्रतिशत जितमा ब्रेक लागेपनि लिग चरणमा लिभरपुल शीर्ष स्थानमा रहेर प्रि-क्वाटरफाइनल प्रवेश गरेको छ । लिगको अन्तिम खेलमा लिभरपुललाई नेदरल्याण्ड्सको पीएसभी आइन्डहोभनले पुनरागमन गर्दै ३-२ ले पराजित गरेको हो ।
लिभरपुलका कोडी गाक्पोले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई पहिले अग्रता दिलाए पनि पीएसभीले पुनरागमन गरेको थियो । पीएसभीका लागि जोहान बाकायोको, इस्माउल साइबारी र रिकार्डो पेपीले गोल गरे । लिभरपुलका लागि हार्भे एलिएटले अर्को गोल गरे ।
लिभरपुलसँगै इंग्ल्याण्डबाट आर्सन र एस्टन भिल्ला गरी सर्वाधिक ३ क्लब अन्तिम आठमा पुगेका छन् । आर्सनलले जिरोनालाई २-१ ले तथा भिल्लाले सेल्टिकलाई ४-२ ले हरायो ।
यसैगरी तथा स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको मड्रिड, इटलीको इन्टर मिलान, जर्मनीको बायर लेभरकुजन र फ्रान्सको लिल पनि सिधै अन्तिम १६ मा प्रवेश गरेका छन् ।
बार्सिलोनाले लिगको अन्तिम खेलमा एटलान्टासँग २-२ को बराबरी खेल्दा एट्लेटिको मड्रिडले आरबी साल्जवर्गलाई ४-१ ले हरायो । यस्तै इन्टरले मोनाकोलाई ३-० ले, बाएर लेभरकुजनले स्पार्टा प्रागलाई २-० ले तथा लिलले फेयनुर्डलाई ६-१ ले हराएको हो ।
यसबाहेक रियल मड्रिड, बायर्न म्युनिख, म्यानचेष्टर सिटी, पेरिस सेन्ट जर्मेन, एसी मिलान जस्ता क्लबले भने प्रि-क्वाटरफाइनल पुग्न प्लेअफ खेल्नुपर्ने भएको छ ।
लिग चरणमा ३६ क्लबले प्रतिस्पर्धा गरेकोमा शीर्ष ८ टोली सीधै प्रि-क्वाटरफाइनल पुग्दा नवौंदेखि २४औं स्थानसम्मका टोलीहरुले प्रि-क्वाटरफाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् । २५औं देखि अन्तिम स्थानसम्म रहेका क्लबहरु भने बाहिरिएका छन् ।
अब नकआउट चरणका पुग्नका लागि प्लेअफ खेल हुनेछ र त्यसपछि अन्तिम १६ को खेल हुनेछ । लिगमा शीर्ष दुईमा रहेको लिभरपुल र बार्सिलोनाबीच अब फाइनलअघि भेट हुने छैन ।
प्रतिक्रिया 4