+

सभापति कप फुटबलको उपाधिका लागि संकटा र आयोजक भिड्दै

२०८१ माघ  १७ गते ८:४५ २०८१ माघ १७ गते ८:४५
सभापति कप फुटबलको उपाधिका लागि संकटा र आयोजक भिड्दै

१७ माघ, काठमाडौँ । सभापित कप फुटबलको उपाधिका लागि ए डिभिजन टोली संकटा एफसी र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशबीच आज प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।

पहिलोपटक आयोजना भएको र नेपाली नकआउट फुटबलमै सर्वाधिक नगद पुरस्कार राशी रहेको यस प्रतियोगिताको विजेताले नगद २६ लाख हात पार्नेछन् । उप विजेताले १३ लाख रुपैयाँ नगदै पाउने छ ।

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा माघ १० गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए ।दुई-दुई खेल जित्दै फाइनलका पुगेका संकटा र आयोजकको टोली फाइनल खेलका लागि तयार छन् ।

संकटाले सेमिफाइनलमा मच्छिन्द्र एफसिलाई सडनडेथमा ८–७ गोलले पारजित गर्दै फाइनलमा पुगेको थियो । यस्तै आयोजक बागमतीले एनआरटीलाई टाईब्रेकरमा ४–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

बुधबार आयोजित फाइनलअघिको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनलका लागि तयार रहेको र खेल प्रतिस्पर्धात्मक हुने बताएका थिए ।
दुवै टिमले पहिलो संस्करणको उपाधि जित्दै इतिहास रच्ने लक्ष्य राखेका छन् ।

संकटाका प्रशिक्षक रविन्द्र शिलाकारले उपाधि जितेपछि ट्रफी सानो वा ठूलो नहुने बताए । पहिला क्वाटरफाइनल र सेमिफाइनलमा राम्रो गरेकाले सम्पूर्ण टिमको मनोबल उच्च रहेको उनको भनाई छ ।

फाइनलमा खेल्ने विपक्षी टिमको दुवै खेल हेरेको बताउँदै त्यसकै आधारमा रणनीतिका साथ मैदान उत्रिने पनि शिलाकारले बताए । संकटाका कप्तान दीप कार्कीले फाइनल जित्नकै लागि मैदान उत्रिने बताउँदै तयारी राम्रो रहेको उल्लेख गरे ।

यसैगरी, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) टिमका कप्तान विकेश कुथुले संकटा सेट टिम भएको बताउँदै आफूहरु पनि कडा चुनौती दिन तयार रहेको बताए । आफूहरुले पनि विपक्षीलाई कमजोर नठान्ने उनले बताए ।

प्रशिक्षक प्रकाश वैद्यले यसअघि देखिएका कमजोरीहरुमा सुधार गर्दै फाइनल जित्ने लक्ष्य रहेको सुनाए । निर्धारित ९० मिनेटभित्रै नतिजा निकाल्ने गरी मैदान उत्रिने लक्ष्यमा रहेको पनि उल्लेख गरे ।

प्रतियोगिताको च्याम्पियन बन्ने टोलीलाई फाइनलपछि २६ लाख नगद नै प्रदान गर्ने आयोजकले जनाएको छ ।

फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । यसअघिका खेलमा १०० र २०० टिकट मूल्य रहेकोमा फाइनल खेलका लागि साधारणतर्फ २०० र भिआइपीतर्फ ५०० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गरिने महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतले जानकारी दिए ।

फाइनल खेलको समापनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुरस्कार वितरण गर्ने छन् भने फाइनल अघि झाँकी पनि प्रस्तुत गरिने तयारी छ ।

सभापति कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय