+
+

स्थलमार्गबाट भित्रिने भारतीय पर्यटक संख्या यकिन गर्न सर्वेक्षण गरिँदै

पर्यटन बोर्डका अनुसार भन्सार विभाग र अन्य सरोकारवाला निकायसँग समन्वय गरी नेपाल भित्रिने भारतीय सवारीसाधन अध्ययन गरी पर्यटक तथ्यांक यकिन गर्ने तयारी छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ माघ १७ गते १५:०९

१७ माघ, काठमाडौं । स्थलमार्गबाट भित्रिने भारतीय पर्यटक संख्या यकिन गर्न सर्वेक्षण गरिने भएको छ ।

नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८१÷८२ मै यस्तो सर्वेक्षण गर्ने गरी बजेट विनियोजन गरेको छ । बोर्डले उक्त प्रयोजनमा २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

बोर्डका अनुसार भन्सार विभाग र अन्य सरोकारवाला निकायसँग समन्वय गरी नेपाल भित्रिने भारतीय सवारीसाधन अध्ययन गरी पर्यटक तथ्यांक यकिन गर्ने तयारी छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी यो कामलाई ‘टुरिज्म स्याटलाइट अकाउन्ट’ (टीएसए) निर्माणभित्रको एक कदम मान्छन् ।

‘हामी यसै वर्ष टीएसएको काम सक्छौं,’ जोशीले भने, ‘जसले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटनको योगदानको वास्तविक योगदान देखाउने छ । त्यसका लागि स्थलमार्गबाट आउने भारतीय पर्यटकको सर्वेक्षण आवश्यक परेको हो ।’

नेपालले अहिलेसम्म हवाई जहाज चढेर आउने भारतीयलाई मात्र पर्यटक मान्दै आएको छ । तर, पछिल्लो समय स्थलमार्गबाट समेत खर्चालु पर्यटक आउने क्रम बढिरहेको छ ।

पोखरा, सौराहा र नेपालको तराई भेगका सहरका होटलका भरपर्दा पाहुना अहिले भारतीय नागरिक बनेका छन् । सोही सन्दर्भमा बोर्डले यस्तो संख्या यकिन गर्ने गरी कार्यक्रम बनाएको जनाएको छ ।

यो सर्वेक्षणमा कम्तीमा आफ्नै निजी सवारीसाधन वा पर्यटकीय सवारीसाधन लिएर आउने पर्यटक समावेश गरिने सीईओ जोशीले जानकारी दिए ।

यातायात व्यवस्था विभाग, भन्सार विभाग, अध्यागमन कार्यालय सहित निकायबाट यस्ता सवारीसाधन र यसमा भित्रिने पर्यटक संख्या यकिन गरिने उनले बताए । त्यसपछि पर्यटकीय स्थलमा पुगेर पर्यटकसँग मौखिक सर्वेक्षणको तयारी छ ।

त्यसबाट भारतीय पर्यटकको प्रमुख रोजाइ, औसत नेपाल बसाइ तथा औसत खर्चसमेत खुल्ने अपेक्षा छ । अहिले स्थलमार्गबाट आउने भारतीय बाहेक अन्य देशका नागरिकको औसत बसाई अवधि, खर्चसहित तथ्यांक खुल्ने गरेको छ ।

भारतीय पर्यटकको समेत यस्तो तथ्यांक आएसँगै जीडीपीमा पर्यटनको योगदान यकिन हुने अपेक्षा गरिएको उनले बताए । तथ्यांक विश्लेषणका बेला राष्ट्रिय तथ्यांक कार्यालयसँग सहकार्य गरिने उनको भनाइ छ ।

बोर्डले यसअघि सन् २०१८ मा एक मिनी सर्वेक्षण मार्फत स्थलमार्गबाट भित्रिएका भारतीयको तथ्यांक निकाल्ने कोसिस गरेको थियो । तर, निरन्तरता दिन सकेन ।

भारत नेपाली पर्यटनको प्रमुख स्रोत बजार हो । त्यहाँबाट सन् २०२४ मा ३ लाख १७ हजार ७ सय ७२ पर्यटक नेपाल आएको देखिन्छ । यो हवाई मार्ग हुँदै आएको संख्या हो ।

भारतका स्थलमार्ग हुँदै नेपाल भित्रिने तेस्रो देशका नागरिकलाई भने पर्यटकका रूपमा गणना हुन्छ । २०२४ मा नेपालले कुल ११ लाख ४७ हजार ५ सय ६७ पर्यटकलाई नेपालमा स्वागत गरेको थियो ।

पर्यटक खर्च र आन्तरिक पर्यटक सर्वेक्षण समेत यसै वर्ष

बोर्डले यर्स वर्ष पर्यटकले गर्ने खर्च र पर्यटकको सन्तुष्टि सम्बन्धी अध्ययन समेत गर्ने तयारी गरेको छ । जसका लागि २५ लाख बजेट विनियोजन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा राष्ट्रिय तथ्यांक कार्यालयसँगको समन्वय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) सँगको सहकार्यमा यस्तो अध्ययन र सर्वेक्षण गर्ने बोर्डको तयारी छ ।

यसै वर्ष नेपालको आन्तरिक पर्यटक सर्वेक्षणको काम समेत सक्ने बोर्डले जनाएको छ । त्यसका लागि ४९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसमा राष्ट्रिय तथ्यांक कार्यालयसँग समन्वय गरिँदैछ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?