+

हारपछि कप्तान इन्दुले भनिन्- बलिङ र फिल्डिङमा चुक्यौं

२०८१ माघ  १७ गते १७:१७ २०८१ माघ १७ गते १७:१७
हारपछि कप्तान इन्दुले भनिन्- बलिङ र फिल्डिङमा चुक्यौं

१७ माघ, काठमाडौं । काठमाडौंमा बिहीबारदेखि सुरू भएको महिला टी-२०आई शृंखलाको पहिलो खेलमा पराजित भएपछि कप्तान इन्दु बर्माले कमजोर बलिङ र फिल्डिङका कारण हार व्यहोर्नुपरेको बताएकी छन् ।

नेपाल नेदरल्याण्ड्ससँग १५८ रनको लक्ष्य पछ्याउने क्रममा २० रनले पराजित भएको थियो । खेलपछि पत्रकारहरूसँग कुरा गर्दै इन्दुले बलिङ र फिल्डिङमा एकदमै चुकेको उल्लेख गरिन् ।

‘फिल्डिङमा र बलिङमा एकदमै धेरै चुक्यौं, सुधार गर्न बाँकी धेरै ठाउँ छ’ इन्दुले भनिन्, ‘हाम्रा लागि सबै खेलहरू महत्वपूर्ण छन् । अवसरलाई सदुपयोग गर्न सक्यौं भने खेल जित्न सकिन्छ।’

साथै इन्दुले डच टिमले राम्रो खेलेको भन्दै प्रंशसा समेत गरिन् । आगामी दिनमा उनीहरूको खेल बुझेर त्यही अनुसारको रणनीति बनाउन सकिने इन्दुको भनाइ थियो ।

नेपालका लागि डेब्यू खेल खेलेकी स्पिनर मनिषा उपाध्यायले बलिङ भने गरिनन् । यसबारेमा इन्दुसँग प्रश्न गर्दा उनले डच ब्याटरहरूले स्पिनरहरूलाई राम्रो खेलेकाले बलिङमा नउतारेको बताइन् ।

‘उनीहरूले स्पीनरलाई पनि राम्रो खेलिरहेको थियो, पेस बलरसँग चाहिँ अलिकति संघर्ष गरेको जस्तो लागेर बलिङमा नल्याएको’ इन्दुले भनिन् ।

नेपालको ब्याटिङमा भने आशा देखिएको छ । नेपालले लक्ष्य पछ्याउँदा बनाएको यो नै सबैभन्दा उच्च योगफल हो । यसअघि नेपालले यूएईसँग ११६ रनको लक्ष्य पूरा गर्नु नै नेपालको सबैभन्दा उच्च थियो। ‘ब्याटिङमा हामी सकारात्मक देखिएका छौं, बलिङमा केही राम्रो गर्न सकेको भए खेल जित्न सक्ने थियौं’ इन्दुले भनिन् ।

खेलको प्लेयर अफ दि म्याच भएकि डच खेलाडी रोबिन रिकेले पहिलोपटक नेपालमा खेल्न पाउँदा निकै खुसी लागेको बताउँदै दर्शकहरूको पनि राम्रो साथ पाएको उल्लेख गरिन् ।

उनले नेपालको खेलको पनि प्रशंसा गरिन् । ‘हामी कुनैपनि टिमलाई नजरअन्दाज गर्दैनौं । पहिलोपटक खेल्दै थियौं, नेपालले ब्याटिङमा पनि राम्रो प्रदर्शन गर्‍यो’ उनले भनिन् ।

‘महिला क्रिकेटमा १५० भन्दा माथिको स्कोर धेरै राम्रो मानिन्छ । १४० सम्म बनाउने प्लान थियो । हामीले आफ्नो बेस्ट गेम खेल्न सक्यौं, त्यहीभएर जित्न सफल भयौं’ उनले थपिन् ।

इन्दु बर्मा महिला टी२०आई श्रृंखला

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय