मधुमेहको समस्यामा शरीरले रगतमा चिनी (ग्लुकोज)को मात्रा सही राख्न सक्दैन । रगतमा चिनीको मात्रा बढ्दा समयसँगै धेरै स्वास्थ्य समस्या निम्तन सक्छ ।
स्वास्थ्यकर आहार र सक्रिय जीवनशैलीमार्फत आफ्नो रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने व्यक्तिहरूले मधुमेहलाई धेरै हदसम्म नियन्त्रण गर्न सक्छन्, तर अझै पनि नियमित जाँच र परीक्षण आवश्यक पर्छ ।
किनकि नियमित परीक्षणले मधुमेहलाई नियन्त्रणमा राख्न र थप जटिलता निम्तनबाट रोक्छ । कोही व्यक्तिमा मधुमेहको लक्षण देखा परेमा डाक्टरले केही रगत परीक्षण गर्ने सल्लाह दिन्छन् ।
यदि परीक्षणको नतिजा प्रि-डाइबेटिजको नजिक छ भने डाक्टरले जीवनशैली परिवर्तन गर्न सल्लाह दिन्छन्, जसले गर्दा रगतमा चिनीको मात्र नबढोस् । यस्तोमा कसैलाई मधुमेह भएको छ वा प्रि-डाइबेटिज भएको छ भने उनीहरूले केही परीक्षण नियमित गर्नुपर्छ । जसले मधुमेहको कारण निम्तने अन्य समस्याबाट बच्न सकिन्छ ।
१. फास्टिङ प्लाज्मा ग्लुकोज परीक्षण
मधुमेहका लागि पहिलो चिकित्सा परीक्षण फास्टिङ प्लाज्मा ग्लुकोज परीक्षण हो । ८ देखि १२ घण्टा उपवास बसेपछि रगतमा चिनीको मात्रा जाँच गर्न फास्टिङ प्लाज्मा ग्लुकोज परीक्षण गरिन्छ। रगतमा सुगरको मात्रा पत्ता लगाउने यो विधि लामो समयदेखि चल्दै आएको छ ।
यो परीक्षणमा चिनीको मात्रा १०० मिलिग्राम/डेसीएल भएमा सामान्य मानिन्छ । प्रि-डाइबेटिजको अवस्थामा, यो ११० मिलिग्राम/डेसीएल सम्म हुन सक्छ । यदि टाइप २ मधुमेहको समस्या छ भने चिनीको स्तर १२६ मिलिग्राम/डेसीएल वा यो भन्दा बढी हुनसक्छ ।
२. ‘पोस्टप्रान्डियल’ ब्लड सुगर परीक्षण
मधुमेह जाँच गर्न पोस्टप्रान्डियल ब्लड सुगर परीक्षण पनि गरिन्छ । यो परीक्षण खाना खाएको लगभग २ घण्टापछि गरिन्छ । यदि कसैलाई मधुमेहको समस्या छ र शरीरले पर्याप्त इन्सुलिन उत्पादन गरिरहेको छैन भने यसको मतलब रगतमा चिनीको मात्रा धेरै उच्च हुन्छ । जसका कारण समय बित्दै जाँदा यसले स्नायु र आँखाको क्षतिजस्ता गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
यस्ता मधुमेहका लागि गरिने चिकित्सा परीक्षणहरू मार्फत, बिरामीको शरीरले खाना खाएपछि चिनी र स्टार्चलाई कस्तो प्रतिक्रिया दिइरहेको छ भनेर हेर्न सकिन्छ ।
पेटमा खाना पच्नेबित्तिकै रगतमा ग्लुकोज वा रगतमा चिनीको मात्रा अचानक बढ्छ । यसले प्यान्क्रियाजमा इन्सुलिन स्रावित गर्छ ताकि यो चिनी मांसपेशी कोशिकाहरू र अन्य तन्तुहरूमा इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ । यदि यस्तो भयो भने, खाना खाएको दुई घण्टा पछि इन्सुलिन र रगतमा ग्लुकोजको स्तर सामान्य हुनुपर्छ । यदि यो भएन भने मधुमेह भएको छ भनेर बुझ्नुपर्छ ।
यस परीक्षणको नतिजा उमेरअनुसार फरक हुनसक्छ । यदि कसैलाई मधुमेह भएको छैन भने, त्यसपछिको ब्लड सुगर लेबल १४० मिलिग्राम/डेसीएल भन्दा कम हुनुपर्छ । मधुमेह छ भने उसको रगतमा चिनीको मात्रा १८० मिलिग्राम/डेसीएल भन्दा बढी हुन्छ ।
३. अनियमित ब्लड सुगर लेबल
शरीरमा ग्लुकोज वा चिनीको मात्रा जाँच गर्न अनियमित ब्लड सुगर परीक्षण पनि गरिन्छ । यो परीक्षणमा बिरामीको रगतको नमुना मात्र चाहिन्छ । यो परीक्षण गर्नुअघि बिरामीलाई भोकै बस्नु आवश्यक हुँदैन । यो परीक्षण छिटो गरिन्छ र यसले कुनै प्रकारको समस्या उत्पन्न हुँदैन । यो दिनको कुनैपनि समयमा गर्न सकिन्छ । यस परीक्षणका अनुसार यदि रगतमा चिनीको मात्रा २०० मिलिग्राम/डेसीएल वा सोभन्दा बढी छ भने यो मधुमेहको सङ्केत हो ।
४. हेमोग्लोबिन एवानसी ‘एचबीएवानसी’परीक्षण
यस रक्त परीक्षणबाट रगतमा पछिल्लो दुई वा तीन महिनादेखि रगतमा रहेको चिनीको मात्रा पत्ता लगाइन्छ । यो रक्त परीक्षण गराउनको लागि खाली पेट बस्नु आवश्यक हुँदैन । मधुमेहको लागि चिकित्सा परीक्षणहरूमा, यो परीक्षण खाना खानु अघि र पछि रगतमा चिनीको मात्रा नाप्ने परीक्षणहरू भन्दा बढि प्रभावकारी मानिन्छ ।
यो परीक्षणले हेमोग्लोबिनसँग जोडिएको ग्लुकोजको मात्रा नाप्छ । हेमोग्लोबिन रातो रक्त कोशिकाहरूमा अक्सिजन बोक्ने प्रोटिन हो, जसले रगतलाई यसको रङ्ग दिन्छ । यो परीक्षण सुरुमा मधुमेह भएका व्यक्तिहरूमा ग्लुकोजको स्तर अनुगमन गर्न प्रयोग गरिएको थियो, तर अब यो टाइप २ मधुमेह र प्रि-डाइबेटिज निदान गर्न पनि प्रयोग गरिन्छ ।
रगतमा ग्लुकोजको मात्रा बढ्दै जाँदा हेमोग्लोबिनसँग जोडिएको ग्लुकोजको मात्रा बढ्छ । हेमोग्लोबिन एवानसी परीक्षणले विगत दुई देखि तीन महिनाको औसत रगतमा चिनीको स्तर नाप्छ । दिनको कुनै पनि समयमा हेमोग्लोबिन एवानसी परीक्षण गराउन सकिन्छ । यो परीक्षण धेरै दिनसम्म ग्लुकोज स्तर निगरानी गर्न पनि गरिन्छ ।
यस परीक्षणको माध्यमबाट डाक्टरले बिरामीको लागि सही मधुमेह उपचार निर्णय गर्न सक्छन् । प्रि-डायबिटिजको अवस्थामा हेमोग्लोबिन एवानसी लेबल ५.७ देखि ६.४ प्रतिशत हुन्छ । यो स्तर ६.५ प्रतिशतभन्दा बढी भएमा मधुमेहको निदान गर्न सकिन्छ।
यी मधुमेहका लागि चिकित्सा परीक्षणहरू थिए जसमा रगत जाँच गरिन्छ । तर, जब मधुमेह हुन्छ, यसले आँखा र खुट्टामा पनि असर गर्छ । त्यसैले मधुमेहले आँखा र खुट्टामा कस्तो प्रभाव पार्छ भन्ने थाहा पाउन केही अन्य परीक्षण पनि गर्न सकिन्छ ।
५. डाइलेटेड आँखा परीक्षण
मधुमेहको लागि गर्नु पर्ने मेडिकल टेस्टमा डाइलेटेड आँखा परीक्षण पनि एक हो । उच्च ब्लड सुगर लेबलले आँखामा समस्या उत्पन्न गर्न सक्छ जसमा दृष्टि धमिलो हुन्छ । यसका साथै यो समस्याका कारण आँखा उज्यालो प्रति बढी संवेदनशील हुन्छ । त्यसैले स्वास्थ्य अवस्था हेरेर, डाक्टरले आँखाको डाइलेटेड परीक्षण आवश्यक छ वा छैन भन्न सक्छन् ।
६. खुट्टा परीक्षण
मधुमेह छ भने उसको रगतमा चिनीको मात्रा उच्च हुन्छ । यस्तो अवस्थामा बिरामीको रक्तनली र नसामा क्षति पुग्छ । यसले प्रभावित व्यक्तिको खुट्टालाई पनि असर गर्न सक्छ । खुट्टामा समस्या भएमा बिरामीले खुट्टामा कुनै चोटपटक वा घाउ महसुस गर्न सक्दैन । यदि समस्या बढ्दै गयो भने यसले अल्सर वा संक्रमण पनि निम्त्याउन सक्छ । यति मात्र होइन, यदि समस्या बढ्यो भने प्रभावित खुट्टा काट्नु पर्ने समेत हुन्छ, ताकि संक्रमण शरीरको अन्य भागमा नफैलियोस् ।
यस्तो अवस्थामा, डाक्टरले खुट्टामा कुनै रातोपन, छाला वा घाउ आदि छ कि भनेर जाँच गर्छन् । यदि खुट्टामा समस्याहरू देखा पर्यो भने मोनो-फिलामेन्ट परीक्षण गर्ने सल्लाह दिन्छन् ।
प्रतिक्रिया 4