
१७ माघ, काठमाडौं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति ‘ज्वाइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) बैठक २२ माघ (४ फेब्रुअरी) मा भारतमा बस्ने भएको छ ।
हालै भारत नयाँदिल्लीमा बसेको सहसचिवस्तरको संयुक्त कार्यदल बैठकमा दुई देशलाई जोड्ने ४०० केभीका दुई प्रसारण लाइन निर्माण मोडालिटीमा सहमति भएपछि त्यसलाई अनुमोदन गर्ने गरी सचिव स्तरीय बैठक बस्न लागेको हो ।
नेपाल र भारतबीच यस्तो बैठक हरेक ६ महिनामा बस्नुपर्ने सम्झौता भए पनि एक वर्षपछि मात्रै बस्न लागेको हो ।
यसअघि गत वर्ष २१ पुस (३ जनवरी २०२४) मा चितवनमा यो बैठक भएको थियो ।
सहसचिवस्तरको जेडब्लूजी बैठकले दुई प्रमुख प्रसारण लाइन निर्माण र लगानी प्रारूपमा गरेको सहमति अनुमोदन गर्न जेएससी बैठक बस्न लागेको ऊर्जा मन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो ।
यसअघि ९ माघमा बसेको ‘ज्वाइन्ट वर्किङ ग्रुप’ (जेडब्लूजी) को बैठकले इनरुवा–पूर्णिया तथा लम्की (दोदोधरा)–बरेली ४०० केभी प्रसारण लाइन दुवै देशतर्फको निर्माण संयुक्त लगानीका कम्पनी मार्फत गर्ने सहमति गरेको थियो ।
जेडब्लूजी बैठकमा भएको सहमति अनुसार क्रसबोर्डर प्रसारण लाइन निर्माणका लागि दुवै देशमा कम्पनी स्थापना हुनेछन् । भारतमा स्थापित कम्पनीले भारततर्फको प्रसारण लाइन निर्माण गर्ने छ, जसमा भारतीय पावर ग्रिड कर्पोरेसनको ५१ प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४९ प्रतिशत सेयर हुनेछ ।
त्यस्तै, नेपालमा स्थापित कम्पनीले नेपालतर्फको भाग प्रसारण लाइन निर्माण गर्ने छ, जसमा ५१ प्रतिशत सेयर स्वामित्व विद्युत् प्राधिकरणको हुनेछ भने ४९ प्रतिशत हिस्सा भारतीय पावर ग्रिड कर्पोरेसनको हुनेछ ।
अब स्टेयरिङ कमिटी बैठकमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।
बैठकमा नेपाली पक्षको नेतृत्व ऊर्जा सचिव सुरेश आचार्यले गर्ने छन् भने भारतीय पक्षको नेतृत्व त्यहाँका ऊर्जा सचिव पंकज अग्रवालले गर्नेछन् ।
ती दुई प्रसारण लाइनममध्ये इनरुवा–पूर्णिया ४०० केभी लाइन सन् २०२८/२९ मा सम्पन्न हुने सहमति भएको छ । त्यस्तै, लम्की (दोदोधरा)–बरेली प्रसारण लाइन सन् २०२९/३० मा मात्रै सम्पन्न हुने भएको छ ।
यसका साथै ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन क्षमता बढाउने सहमति तथा थप तीन हाइभोल्टेज प्रसारण लाइन सम्भाव्यता अध्ययन सम्बन्धी समझदारी पनि बैठकमा हुनेछ ।
प्रतिक्रिया 4