
१७ माघ, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि डाक्टरहरूले पनि आवेदन दिन पाउने भएका छन् । सिफारिस समितिको बिहीबार बसेको बैठकले कार्यविधि परिमार्जन गर्ने निर्णय गरेपछि डाक्टरहरूले पनि आवेदन दिन पाउने भएका हुन् ।
यसअघि कार्यविधिमा मान्यता प्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त हुनुपर्ने भनिएको थियो । यो प्रावधानमा मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यता एमडी, एमएस र एमडीएस नसमेटिएको डाक्टरहरूको जिकिर थियो ।
केयू उच्च स्रोतका अनुसार मेडिकलको सबैभन्दा ठूलो प्राज्ञिक योग्यतालाई पनि समावेश गर्नेगरी कार्यविधि संशोधन गरिएको छ ।
‘स्नातकोत्तर उत्तीर्ण गरेकोले पनि आवेदन दिन पाउनेगरी कार्यविधि संशोधन भएको छ,’ स्रोतले भन्यो । अब सिफारिस समितिले पुनः केही दिनको समय दिएर शुक्रबार आवेदनको लागि सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ ।
आवेदन दिन पाउने भएपछि डाक्टरहरूले निष्पक्षरुपमा उपकुलपतिको नाम सिफारिस गर्न आग्रह गरेका छन् । ‘समितिले गरेको निर्णय स्वागतयोग्य छ । सुरुमै गरेको भए यति धेरै नकारात्मक सन्देश जाने थिएन । अब आग्रह पूर्वाग्रह नराखी नाम सिफारिस हुने अपेक्षा छ,’ केयू स्कूल अफ मेडिकल साइन्स फ्याकेल्टी काउन्सिलका अध्यक्ष डा. सुवीन्द्र कार्कीले भने ।
यसअघि आवेदन दिएर स्वीकृत भएका १६ जनाको भने यथावत् रहने छ । १८ पुसमा पहिलो पटक खुला आह्वान गरिएको थियो ।
तर कार्यविधिमा तोकिएको योग्यताका कारण डाक्टरहरूले आवेदन दिन नपाएपछि प्रक्रिया लम्बिएको थियो । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले कार्यविधि पुनर्विचार गर्न निर्देशन दिएका थिए । डाक्टरहरू सर्वोच्च अदालतसम्म पुगेका थिए ।
छनोट समितिमा संयोजक केयूका पूर्वउपकुलपति सुरेशराज शर्मा, सदस्यमा डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् ।
प्रतिक्रिया 4