+
+
ओखलढुंगा दुर्घटना :

जलेकी आमालाई अस्पताल ल्याउँदै थिए पुजन, भँडारेखोलामा अस्ताए

मायादेवीका श्रीमान् शेरबहादुरले सोच्दै नसोचेको घटना व्यहोर्नुपरेको छ । वडाध्यक्ष तुलाराम राईका अनुसार शेरबहादुर अहिले अचेत जस्तै छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते २१:०८

१७ माघ, काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका-३ बास्पानीकी ५६ वर्षीया मायादेवी गुरुङको जेठाजु नाता पर्ने धनबहादुर गुरुङको काजकिरिया चलिरहेको छ ।

काजकिरियामा आवश्यक पर्ने सहयोगका लागि हिजो (बुधबार) दिउँसो २ बजेसम्म पिठो पिस्ने काममा व्यस्त थिइन्, मायादेवी । काम सकिएपछि मदिरा (रक्सी) पिउने सल्लाह भयो ।

मायादेवीलाई रक्सी तताउने कामको जिम्मा लगाइयो । चुल्हो छेवैमा थियो, दुईवटा बोत्तल । एउटामा रक्सी र अर्कोमा पेट्रोल ।

मायादेवीले रक्सीको बोत्तल चिनिनन् । रक्सी सोचेर कराइमा खन्याएको बोत्तल पेट्रोल परेछ ।

एक्कासी आगो दन्कियो । मायादेवीको शरीरमा आगो लाग्यो ।

उनलाई उपचारका लागि लगत्तै जिल्ला अस्पताल दिक्तेल लगियो । उनको उपचार दिक्तेलमा सम्भव भएन ।

चिकित्सकले काठमाडौं रेफर गरिदिए । परिवार र आफन्तको सल्लाहमा जीप रिजर्भ गरेर काठमाडौं लाने निधो भयो ।

ना १ ज ६४२१ नम्बरको जीपमा राति नै उनलाई खोटाङबाट काठमाडौं हिंडाइयो ।

मायादेवीको साथमा थिए, उनकै २८ वर्षीय छोरा पुजन गुरुङ र रुपाकोट मझुवागढी नगरपालिका–१२ की ४५ वर्षीया तारा गुरुङ ।

तारा मायादेवीकी बहिनी हुन् ।

उनीहरू सवार जीप ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–७ स्थित मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा दुर्घटना भयो ।

दुर्घटनामा परेर मायादेवी, पुजन र तारा तीनै जनाको निधन भएको छ ।

मायादेवीका श्रीमान् शेरबहादुरले सोच्दै नसोचेको घटना व्यहोर्नुपरेको छ । वडाध्यक्ष तुलाराम राईका अनुसार शेरबहादुर अहिले अचेत जस्तै छन् । उनलाई पानी छम्किएर आफन्तले सम्झाउँदै गरिरहेका छन् ।

श्रीमती र २८ वर्षीय छोरा गुमाएका शेरबहादुरका अर्का छोरा सुजन पनि शारीरिक रुपमा अशक्त छन् ।

दुई छोरी छन्, भावना र बबिता । एउटी छोरीको बिहे भइसकेको छ भने अर्कीको बाँकी छ ।

दुर्घटनाग्रस्त जीपका चालक सुनसरीको इनरुवा नगरपालिका–२ का २२ वर्षीय अनिल पण्डित भने बँच्न सफल भए ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष लुँइटेलका अनुसार चालकको अहिले मध्यपुरठिमीस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ ।

उनी दुर्घटनालगत्तै आफन्तसँग समन्वय गरेर सुरुमा धुलिखेल अस्पतालसम्म आइपुगेका थिए । इन्स्पेक्टर कुँइकेलका अनुसार चालकको टाउकोमा चोट लागेको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?