
मेरो बुवा खेतीकिसानी गर्नुहुन्थ्यो । म भारतीय सेनामा भर्ती भएको थिएँ । २०१८ सालमा म सात महिनाको छुट्टी लिएर घर आएँ । त्यतिबेला गाउँका मान्छेहरू खाली खुट्टा हिंड्दै भोटबाट नुन ल्याउँथे । म पनि नुन बोक्न तीन पटक भोट आउजाउ गरेको छु ।
त्यतिबेला ढोरपाटनमा तिब्बती शरणार्थीहरू घोडा, खच्चर सहित बस्न आएका थिए । भोटतिरबाट आएका हुनाले हामी उनीहरूलाई ‘भोटे’ भन्थ्यौं । ती तिब्बती शरणार्थीका सन्तानहरू अहिले पनि ढोरपाटन क्षेत्रमा छन् ।
उनीहरूलाई सघाउन भनेर १३ देशका मान्छेहरू पनि ढोरपाटन आएका थिए । गरिब देशलाई सहयोग गर्न आएका मान्छे हौं भन्थे । उनीहरूले एक दिन गाउँका ठूलाबडाहरूसँग स्यालापाखे भन्ने ठाउँमा बैठक राखे । म पनि बैठक हेर्न गएँ ।
ती विदेशीले गाउँमा बाटो खनिदिन्छौं, बिजुली ल्याइदिन्छौं, स्कुल खोलिदिन्छौं, हामीलाई बस्ने ठाउँ दिनुस् भने । गाउँका अरू बुढापाकाहरूले त बस्न दिन्नौं भने । किनभने गोराहरू गाउँमा बसे भने बच्चाबच्ची चोरिदिन्छन्, छोरीचेली बिगारिदिन्छन् भन्थे । म त लाहुरे, छुट्टीमा आएको थिएँ । गाउँका बुढापाकाहरूको अगाडि बोल्ने कुरा पनि भएन ।
ती गोराहरू करिब एक वर्ष मात्रै बसेर फर्किए । उनीहरूले फर्किने बेलामा तिब्बती शरणार्थीहरूलाई र नबी गाउँका ठूलाबडा भन्ने मान्छेहरूलाई घाँसको बीउ दिएका थिए । त्यो बीउबाट उम्रिने घाँस मासिंदा पनि मासिंदैन, त्यो खुवाउँदा गाईवस्तुले दूध पनि धेरै दिन्छ भन्थे ।
त्यो घाँसको बीउ नबी र पाखाथर नौथर भन्ने गाउँका ६–७ घरकाले बारीका पाटामा छरे । घोडा–खच्चर पाल्ने तिब्बतीहरूले पनि आफू बसेको ठाउँ वरिपरि छरे । हाम्रो गाउँका मान्छेले भने छरेनन् । हामीले उनीहरूले गरेको हेर्यौं । त्यसपछि राम्रो भए छरौंला भनेर सुरुमा नछरेको जस्तो लाग्छ ।
नबी गाउँमा त्यो बीउबाट घाँस त उम्रियो तर जमिन साह्रै रुखो बनायो । बाटोघाटो जता पनि उम्रिहाल्ने, नमर्ने रहेछ त्यो घाँस । त्यो घाँसले गाईवस्तुको दूध बढाउने पनि होइन रहेछ । गाउँलेलाई आपत् पर्यो । नबी गाउँमा नन्दलाल भन्ने हुनुहुन्थ्यो, उहाँले तिमीहरूले गोराले दिएको बीउ नछरेर ठिक गर्यौ भन्नुभएको सम्झना छ मलाई ।
म २०२२ सालमा दोस्रोपटक छुट्टीमा गाउँ आएको थिएँ । त्यतिबेला त्यही घाँस हाम्रो गाउँमा पनि देखें । सुरुमा एक–दुईवटा बोट थिए । त्यो घाँस त पाँच–सात वर्षको बीचमै फैलिंदैफैलिंदै खेतबारी छपक्कै छोप्न थाल्यो । आलु त फल्नै छाड्यो ।
ढोरपाटनमा ठूलो खाली ठाउँ थियो । अहिले पनि छ । तिब्बतीहरूले त्यहाँ डुलाई–डुलाई घोडा चराउँथे । ती घोडाले पनि त्यो घाँस खाए होलान् । अनि घोडाले गरेको दिसाबाट त्यो घाँस पनि जताततै फैलियो जस्तो लाग्छ । त्यही भएर गाउँलेले गोराले दिएर गएको बीउबाट उम्रिएको त्यो घाँसको नाम नै ‘भोटे झार’ राखिदिए ।
मेरो बुवाले त्यतिबेला आलु, जौ र गहुँ मात्र खेती गर्नुहुन्थ्यो । जंगलका रूख फाँडेर आगो लगाएर फापर पनि छर्ने गरेको याद छ । हिजोआज त रूख काट्न पाइँदैन ।
हामीले गाउँमा खाद (रासायनिक मल) छर्दैनौं । सबै गोबर सोत्तरको मल हाल्छौं । गोबर कुहिएर मल बन्दा पनि त्यो घाँसको बीउ नकुहिने रहेछ । बारीमा छरेको मलबाटै त्यो भोटे झार उम्रिने रहेछ । मेरो बारीमा अहिले त्यसले दुःख दिइरहेको छ । मेरो घर वरिपरि मात्रै होइन, गाउँका प्रायः सबैको खेतबारीमा भोटे झार छ ।
२०१८ सालतिर मलाई राम्रोसँग याद छ गाउँमा घोडा, खच्चर डुब्ने दलदल थियो । वर्षमा चार–पाँच चोटि पशुहरू दलदलमा डुबेर मर्थे । ती गोराहरूले दलदलबाट हिलोपानी बग्ने बाटो खोलिदिए । पछि त त्यो दलदल पनि सुक्यो । कसैकसैले त्यही भोटे झारले दलदल सुकाएको हो पनि भने । तर के हो थाहा छैन ।
त्यो भोटे झारले आलु फल्ने माटो चाहिं बिगार्यो । जति उखेले पनि मासिंदैन, आगो लगाए पनि फेरि उम्रिहाल्छ । यसले अरू बालीनाली पनि पटक्कै हुन दिएन । ढोरपाटनमा वर्षमा एक बाली मात्र खेती हुन्छ । मुख्य खेती आलु नै हो । फागुन–चैतमा आलु लगाउँछौं र साउन–भदौमा खन्छौं ।
असोजतिरबाट चिसो बढ्न सुरु हुन्छ । त्यसपछि गाउँका सबै तल बोबाङ भन्ने ठाउँमा झर्छौं । जाडो सकिएपछि फेरि फागुन–चैततिर गाउँ उक्लिन्छौं । अब त आलु पनि पहिले जस्तो फल्न छाडिसक्यो । सबै मल त्यही भोटे झारले खाइदिन्छ । यसको जराले जाली लगाएको जस्तो गरी माटो समाउँछ । माटो सुक्खा भएर कक्रक्क हुन्छ । हलहल बढेर आलुको बोट नै ढाक्छ ।
भोटे झारले आलु उत्पादन त भुसुक्कै घटायो । पहिले चार पाथी आलु फल्ने ठाउँमा अहिले दुई पाथी जति मात्रै फल्छ । आलुको दाना पनि साना बनायो । फल पनि थोरै लाग्ने बनायो । भोटे झारबाट हामीलाई धेरै घाटा लागेको छ । यसले गर्दा हामीलाई परेको मर्का आरक्ष, कृषि कार्यालय, पालिका कसैले पनि बुझेनन् । पञ्चायतकालमा पनि कसैले वास्ता गरेनन् । यसबारे एकपटक छलफल पनि भएको छैन ।
आलु राम्रो फल्न छाडेपछि मकै, सिमी पनि रोप्न थालेका छौं । कसै–कसैले त स्याउ खेती पनि गरेका छन् । तर त्यसबाट पनि फाइदा भएको जस्तो लाग्दैन । यहाँ त भोटे झारले मात्रै होइन, वनमाराले पनि दुःख दिइरहेको छ । कसैले यसलाई मास्ने उपाय बताइदिए हुन्थ्यो ।
(ढोरपाटन नगरपालिका–९ काङ्गा गाउँका ९० वर्षीय घर्तीसँग गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4