+
+
सिंहदरबारमा रवि-सभामुख भेट :

रविले भने–मेरो निलम्बन प्रक्रिया संगत छैन, सभामुखले भने–पूर्वाग्रह थिएन

रास्वपा सांसद् सोबिता गौतमले अनलाइनखबरसँग भनिन्, ‘संसदको नियमावलीले अदालतले पुर्पक्षको लागि थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पद निलम्बनमा पर्ने भनेको छ । तर, माननीय रवि लामिछानेज्यूको हकमा अदालतले धरौटीमा छोडेको अवस्था छ । त्यसैले तत्कालै निलम्बन फुकुवा हुनुपर्छ भनेका छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १२:४७

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद् पदबाट आफूलाई गरिएको निलम्बन फुकुवा गरिदिन माग गरेका छन् । सभामुख घिमिरेले भने आफूले पूर्वाग्रहमा सांसद् पदबाट निलम्बन नगरेको भन्दै छलफल गर्ने बताएका छन् ।

आफ्नो सांसद पद निलम्बन प्रक्रियासंगत नरहेको भन्दै लामिछाने शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए । त्यसक्रममा उनले आफ्नो सांसद पद तत्काल फुकुवा गर्न माग गर्दै सभामुखलाई निवेदन समेत दिएका छन् ।

तर, सभामुखले ‘छलफल गर्दै गर्ने’ जवाफ दिएका छन् । सभामुखले अगाडि भनेका छन्, ‘मैले पूर्वाग्रहमा तपाईंको सांसद पद निलम्बन गरेको होइन ।’

सभामुख घिमिरेले कास्की जिल्ला प्रहरी कार्यालयको जानकारी पत्रका आधारमा गत पुस ८ गते लामिछानेलाई सांसदबाट निलम्बन गर्ने निर्णय गरेका थिए । सभामुखको निर्णय अनुसार संसद सचिवालयले लामिछानेको सांसद पद निलम्बनमा परेको सूचना टाँस गरेको थियो ।

तर, यो प्रक्रियासंगत नरहेको विषय आफूहरूले उठाउँदै आएको र यही कुरा शुक्रबार सभामुख घिमिरेलाई निवेदनमार्फत अवगत गराइएको रास्वपाकी सांसद सोबिता गौतमले जानकारी दिइन् ।

सभामुखसँगको भेटबारे जानकारी दिँदै सांसद् सोबिता गौतम ।

उनले अनलाइनखबरसँग भनिन्, ‘संसदको नियमावलीले अदालतले पुर्पक्षको लागि थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पद निलम्बनमा पर्ने भनेको छ । तर, माननीय रवि लामिछानेज्यूको हकमा अदालतले धरौटीमा छोडेको अवस्था छ ।’

त्यसैले तत्कालै लामिछानेमाथिको निलम्बन फुकुवा हुनुपर्ने आफूहरुको माग रहेको उनले बताइन् । यही विषय निवेदनमा रहेको उनले उल्लेख गरिन् ।

लामिछानेले सांसदको रुपमा काम कारबाही गर्न पाउनुपर्ने माग निवेदनमा रहेको छ ।

लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो । उनी उनीमाथि लागेको सहकारी ठगीको मुद्दा जिल्ला अदलातमा विचाराधीन छ । पर्सामा अझै अनुसन्धान भइरहेको छ ।

रास्वपाले लामिछानेको सांसद् पद निलम्बनमा सभामुखले विवेक नपुर्‍याएको टिप्पणी समेत गर्दै आएको छ ।

संसद सचिवालयले भने लामिछानेको सांसद पद निलम्बनको आधार कास्की जिल्ला प्रहरी कार्यालयको पत्रलाई देखाउँदै आएको छ ।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएपछि कास्की जिल्ला प्रहरीले संघीय संसद सचिवालयमा जानकारी पत्र पठाएको थियो । सोही पत्रका आधारमा संसद् सचिवालयले लामिछाने सांसद पदबाट निलम्बनमा रहेको पत्र टाँसेको थियो ।

कास्की जिल्ला प्रहरी कार्यालयको जानकारी पत्रकै आधारमा लामिछानेको सांसद पद निलम्बनमा नपर्नुपर्ने जिकिर रास्वपाका नेताहरूले गर्दै आएका छन् ।

तस्वीरहरू: शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?