
काठमाडौं । सलोन बस्नेतले निर्माण गरेको फिल्म ‘रंगी’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरियो ।
निर्माता कम्पनी सान्भी इन्टरटेनमेन्ट प्रालि अभिनेता बस्नेतको फिल्म निर्माण कम्पनी हो । सार्वजनिक ट्रेलरमा बाबु र छोरीको प्रेम, कमेडी र पीडालाई दर्शाइएको छ ।
छोरीको हेरचाह र उज्वल भविष्यको लागि बाबुले गर्ने संघर्षको कथामा फिल्म केन्द्रित छ । ट्रेलरमा डेब्यु अभिनेत्री तथा पूर्वमिस नेपाल नम्रता श्रेष्ठलाई पनि चित्रण गरिएको छ । फिल्ममा उनले आमाको भूमिका निर्वाह गरेकी छन् । बालकलाकारको भूमिकामा आयुषी ढकाल चित्रित छन् ।
पत्रकार सम्मेलनमा निर्मात्री करिश्मा केसी बस्नेतले बाबुछोरीमार्फत मायाको परिभाषालाई फरक ढंगले प्रस्तुत गरिएको बताइन् । निर्माता समेत रहेका सलोनले फिल्मलाई संघर्ष र मायाको कथाको रुपमा बुझ्न आग्रह गरे ।
डेब्यु अभिनेत्री श्रेष्ठले आफूले धेरै दबाब झेलेर काम गर्नु नपरेको बताइन् । बालकलाकार ढकालले ट्रेलरलाई दर्शकले मनपराउनेमा आफू ढुक्क रहेको बताइन् ।
सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको फिल्ममा दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको पटकथा र सौरभ लामाको छायांकन छ ।
प्रतिक्रिया 4