१८ माघ, काठमाडौं । बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा अर्को साता ओपन फिल्म फुटबल कप आयोजना हुने भएको छ ।
फिल्म फेयर अवार्डको अवसर पारेर आयोजना गर्न लागिएको सेभेन ए साइड ए साइड ओपन फुटबल यही माघ २५ र २६ गते बौद्ध महांकालस्थित इलाइट फुटबलमा आयोजना हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा ४४ टिमले नकआउट फर्म्याटका आधारमा प्रतिस्पर्धा गर्ने आयोजक ग्रुपका बक्स अफिस इन्टरनेशनलका अध्यक्ष आरके सुवेदीले जानकारी दिए । प्रतियोगिताका खेलहरू दुवै हाफ गरेर १०-१० मिनेटको हुनेछ भने फाइनल १५-१५ मिनेट गरी ३० मिनेटको हुनेछ ।
फिल्म फेयर अवार्डको फागुन २८ गते आयोजना हुने र त्यसकै प्रमोसन इभेन्टको रुपमा पनि ओपन फिल्म फुटबल प्रतियोगिता आयोजना गर्न लागेको सुवेदीले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजा र उपविजेताले ५१ हजार ५५० रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट टिम म्यानेजर, फेयर प्ले, उत्कृष्ट फ्यान कलेक्सन अवार्ड, उत्कृष्ट फुटबल लभर अवार्ड, उत्कृष्ट खेलकुद पत्रकार अवार्ड, इनकरेजमेन्ट फुटबल टिम अवार्ड, फुटबल हट अवार्ड, उत्कृष्ट फुटबसल ग्राउण्ड अवार्ड, फुटबल ब्लड अवार्ड गरी कूल १४ विधामा अवार्ड प्रदान गरिने पनि ग्रुपका अध्यक्ष सुवेदीले जानकारी दिए।
फुटबल प्रतियोगिताको समापनको अवसरमा नेशनल बक्स अफिस फिल्म फेयर अवार्डको ३२ विधाका उत्कृष्ट पाँचको मनोनयनसँगै विभिन्न विधामा अवार्ड जित्नेहरुलाई सम्मान गर्ने आयोजकले जनाएको छ ।
फुटबल र मनोरञ्जनलाई एक साथ जोड्ने लक्ष्यका साथ ओपन फिल्ड फुटबल प्रतियोगिता गर्न लागिएको आरके सुवेदीले जानकारी दिए ।
प्रतियोगितामा सहभागिताको लागि ९ हजार ९ सय दर्ता शूल्क राखिएको छ । चाँडै नाम दर्ता गर्ने क्लबलाई छुटको व्यवस्था पनि छ ।
बक्स अफिस इन्टरनेशनल ग्रुपले फिल्म क्षेत्रमा विभिन्न अवार्ड कार्यक्रमहरु बयोजना गर्दै आएको र मैत्रीपूर्ण र च्यारिटी पुटबल खेलहरु समेत आयोजना गरेको सुवेदीले बताए ।
यस्तै सेभेन ए साइड फुटबल बाहेक अन्य विभिन्न फुटबल प्रतियोगिताहरू पनि आयोजना गर्ने सुवेदीले जानकारी दिए ।
प्रतिक्रिया 4