
१८ माघ, काठमाडौं । यो साता सेयर बजार जम्मा ३ अंक बढेको छ । गत साता २६५४ मा रहेको बजार यो साता २६५७ अंकमा बन्द रह्यो । सार्वजनिक विदाका कारण यो साता बजार जम्मा ३ दिन मात्रै खुला रह्यो ।
आइतबार १०.४१ र सोमबार १०.६१ अंक घटेको बजार मंगलबार २४.५० अंक बढ्यो । यो साता कारोबार रकम केही बढेको देखिएको छ । गत साता अन्तिम दिन ७ अर्ब ८५ करोडको कारोबार भएकोमा यो साता आइतबार ९ अर्ब १२ करोड, सोमबार ८ अर्ब ९२ करोड र मंगलबार ९ अर्ब ४० करोडको भयो ।
यो साता डेभलपमेन्ट बैंक सेक्टरका लगानीकर्ताले सबैभन्दा धेरै ५.४ प्रतिशत कमाए । गत साता पनि डेभलपमेन्ट बैंक सेक्टर ३.३८ प्रतिशत बढेको थियो । डेभलपमेन्ट बैंकमा पनि ‘लोक्याप’ कम्पनीको मूल्य उच्च दरमा बढेको छ ।
‘हाइक्याप’ राष्ट्रियस्तरका विकास बैंकको मूल्यवृद्धिदर तुलनात्मक रुपमा न्यून छ । कर्पोरेट डेभलपमेन्ट, ग्रीन डेभलपमेन्ट, सिन्धु, मितेरीजस्ता लोक्याप कम्पनीको मूल्य उच्च दरमा बढ्यो । जसले गर्दा यो सेक्टर प्रभावित बन्यो ।
केही सातादेखि नै डेभलपमेन्ट बैंक र हाइड्रोपावर सेक्टरको प्रदर्शन बजारमा राम्रो देखिएको छ । डेभलपमेन्ट बैंकपछि हाइड्रोपावर सेक्टर यो साता २.४ प्रतिशत बढ्यो । गत साता यो सेक्टर १ प्रतिशत बढेको थियो ।
हाइड्रोपावर कम्पनीहरुले माघ मसान्तसम्म दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्नेछन् । दोस्रो त्रैमासिक रिपोर्ट राम्रो आउने अनुमान छ । घटेको ब्याजदरको प्रभाव हाइड्रोपावर कम्पनीहरुमा पहिलो त्रैमासिक रिपोर्टमा पनि देखिएको थियो । अबको रिपोर्टमा पनि यो प्रभावले नाफा बढ्ने अनुमानका बीच लगानीकर्ता यो सेक्टरमा आकर्षित देखिएका छन् ।
प्रतिक्रिया 4