१८ माघ, काठमाडौं । एन्फा महिला लिग फुटबलको च्यम्पियन एपीएफ महिला टोलीका सदस्यहरू सशस्त्र प्रहरी बलबाट सम्मानित भएका छन् ।
सशस्त्र प्रहरी बल महानिरीक्षक राजु अर्यालले ‘एन्फा महिला लिग फुटआल–२०२४’ को उपाधि जित्न सफल नेपाल एपीएफ क्लबका महिला फुटवल टिम तथा अफिसियलहरुलाई शुक्रबार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेका हुन् ।
महानिरीक्षक अर्यालले नेपाल एपीएफ क्लबमा आबद्ध भई उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गरी संगठनको छवि उच्च राख्न खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरेको एपीएफले जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधबार भएको फाइनलमा विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफले लगातार चौथोपटक लिग उपाधि जितेको थियो । एपीएफ अपराजित रहँदै च्याम्पियन बनेको थियो ।
प्रतियोगितामा नेपाल एपीएफ क्लबका सबिता रानामगर सर्वोत्कृष्ट खेलाडी, साबित्री किसन सर्वोत्कृष्ट गोलकिपर र रश्मीकुमारी घिसिङ सर्वाधिक गोलकर्ता हुन सफल भएका थिए ।
एपीएफले यसअघि २०७५, २०७७ र २०७९ सालमा समेत महिला लिग फुटबलको उपाधि जित्न सफल भएको थियो ।
प्रतिक्रिया 4