१८ माघ, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ प्रवेशका लागि दुई महारथी टोलीहरू प्लेअफमै भिड्ने भएका छन् ।
शुक्रबार भएको प्लेअफ ड्र बाट स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यान्चेस्टर सिटी प्लेअफ खेल्ने पक्का भएको हो । यस सिजनदेखि नयाँ फर्म्याटमा खेलाइएको च्याम्पियन्स लिगमा दुवै टोली लिग चरणमा शीर्ष ८ मा पर्न नसक्दा प्लेअफका लागि छानिएका थिए ।
रियल मड्रिड गत सिजनको च्याम्पियन टोली हो भने सिटी त्यसअघिको विजेता हो । गत सिजनको क्वाटरफाइनलमा रियलले सिटीलाई टाइब्रेकरमा हराएको थियो । यसपटक भने दुई टोली प्लेअफमै भिड्ने भएका हुन् ।
प्लेअफ खेलको पहिलो लेग फेब्रुअरी ११/१२ मा सिटीको मैदानमा हुनेछ भने दोस्रो लेग त्यसपछिको साता रियलको मैदानमा हुनेछ । यस खेलमा विजयी हुने टिम अन्तिम १६ मा प्रवेश गर्ने छन् भने पराजित हुने टोली बाहिरिनेछ ।
प्लेअफकै अर्को ड्र बाट जर्मन क्लब बायर्न म्युनिखले स्कटिश क्लब सेल्टिकलाई प्रतिद्वन्द्वीको रूपमा पाएको छ । त्यस्तै पीएसजीले ब्रेस्ट, युभेन्ट्सले पिएसभी इन्डोभेनसँग खेल्ने छ ।
प्रतिक्रिया 4