+
+

प्रधानमन्त्रीले विकासको कुरा गरेको सुन्दा आश्चर्य लाग्यो : केसी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते १९:३४

१८ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरूको आफ्नै घोषित नीति र सिद्धान्तअनुसार चल्न नसक्दा मुलुकको विकास हुन दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले अहिले दैनिक दुई हजार युवाहरू विदेश गइरहेको उल्लेख गरे ।

मुलुकलाई पुँजीवादले नांगो प्रहार गरिरहेको उनको भनाइ थियो ।

‘आफ्ना घोषित सिद्धान्त र नीतिअनुसार हामीे राजनीति गरेनौं । अहिले मुलुकको यर्थाथ तस्बिर के छ भन्दा दिनको पन्ध्र सयदेखि दुई हजारका दरले नयाँ पिँढी बाहिर गइरहेको छ । यही हो प्रगति ? नेपालमा केही हुन्न १२ पास गरेपछि जाने अमेरका, अस्ट्रेलिया र युरोप नै हो भनेर शिक्षा दिइन्छ ? यही हो हामीले प्रगति गरेको ?,’ उनले भने ।

मुलुकमा भएका उद्योग तथा कलकारखानाहरु बन्द भएको तथा शिक्षा प्रणालीमा सुधार नगरिएको कारण युवा पलायन बढी रहेको उनले बताए ।

अहिले खाडि र विकसित देशहरूबाट आउने रेमिट्यान्सले सदन र सरकार चलिरहेको टिप्पणी गरे । जनतामा बढ्दो घृणालाई कम गर्न नसके व्यवस्था नै नरहने पनि उनले बताए ।

‘देशमा पुँजीवादले नांगो आक्रमण गर्‍यो । भएका उद्योग र कलकारखानाहरू सबै सखाप अनि नयाँ पिँढीलाई हामीले यो देशमा केही हुन्न भनेर शिक्षा दिन थाल्यौं,’ केसीले भने, ‘अनि अहिले खाडी र विकसित मुलुकबाट आएको पैसाले हामीले सांसद र सरकार चलाइरहेका छौं । प्रधानमन्त्रीले विकासको कुरा गरेको सुन्दा मलाई चाँही आश्चर्य लाग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?