+
+

पेन्सनपट्टाका लागि काठमाडौं धाउनुपर्ने शिक्षकको बाध्यता

किताबखानालाई व्यवस्थित गर्ने योजना बनाउँदै छौं : शिक्षामन्त्री

शिक्षकहरूको माग जिल्ला–जिल्लाबाट काम हुनुपर्ने छ । पेन्सनपट्टा बनाउने कामलाई डिजिटलाइज र अनलाइनमा आधारित बनाइए काठमाडौं आउनुपर्ने बाध्यता हट्ने उनीहरूको आशा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १८ गते २२:१७

१८ माघ, काठमाडौं । काठमाडौं तहाचलस्थित राष्ट्रिय किताबखाना (शिक्षक) मा पेन्सनपट्टाका लागि कहिले ५० बढी फाइल हुन्छन् त कहिले ५–७ वटा ।

पेन्सनपट्टा बनाउन सातै प्रदेशबाट शिक्षक काठमाडौं नै आइपुग्नुपर्ने बाध्यता छ ।

‘मेची महाकालीबाट शिक्षक आउनुपर्छ । कागजात नमिलेपछि फर्केर जानुपर्ने बाध्यता छ,’ राष्ट्रिय किताबखाना (शिक्षक) का उप–महानिर्देशक युवराज पौडेलले भने, ‘इन्टरनेट पुगेको ठाउँमा ह्वाट्सएपबाट कागजात मगाएर पनि काम गरेर पठाउने गरेका छौँ ।’

उप–महानिर्देशक पौडेलका अनुसार पेन्सनपट्टा बनाउने काम यति नै दिनमा काम सकिन्छ भन्ने हुँदैन । ‘सबै कागजात मिल्यो भने एकै दिनमा पनि पूरा हुन्छ । मिलेन भने समय लाग्छ,’ उनले भने ।

संघीयता आएको वर्षौं भएपनि पेन्सनपट्टाका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यताबारे सरोकारवाला सबै जानकार छन् । यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई समाधानको योजना बनाएको बताउँछिन् ।

शिक्षा मन्त्रालयको विषयगत समितिको बैठकमा मन्त्री भट्टराईले पेन्सनपट्टको काम प्रदेशस्तरमा लैजाने तयारी भइरहेको बताइन् ।

‘किताबखानालाई व्यवस्थित गर्ने योजना बनाइरहेका छौँ । पेन्सनपट्टा बनाउन शिक्षकहरू काठमाडौं नै आउनुपर्छ । महिनौं बस्नुपर्छ । अब सात वटा प्रदेशमा पठाउन सकियो भने सहज हुन्छ,’ मन्त्री भट्टराईले भनिन् ।

उप महानिर्देशक पौडेल पनि प्रदेशबाट काम भयो भने शिक्षकहरूलाई राहत मिल्ने बताउँछन् । ‘यो सरकारले निर्णय गर्ने कुरा हो । सरकारले प्रदेशमा लग्यो भने शिक्षकलाई धेरै सहज हुन्छ,’ उनले भने ।

शिक्षकहरूको माग जिल्ला–जिल्लाबाट काम हुनुपर्ने छ ।

‘७७ जिल्लाबाट शिक्षक आउँदा किताबखानामा भीड लाग्छ । जिल्ला–जिल्लाबाट नै पेन्सनपट्टा बनाउर्ने व्यवस्था गर्नुपर्छ,’ शिक्षक महासंघका पूर्वअध्यक्ष कमला तुलाधारले भनिन्, ‘जिल्लामा सम्भव भएन भने मात्र प्रदेशस्तरमा लैजानुपर्छ ।’

पेन्सनपट्टा बनाउने कामलाई डिजिटलाइज र अनलाइनमा आधारित बनाइए काठमाडौं आउनुपर्ने बाध्यता हट्ने उनीहरूको आशा छ ।

यसअघिका शिक्षा मन्त्री सुमना श्रेष्ठले डिजिटलाइजको पहल गरेकी थिइन् । सरकार फेरिएपछि रोकिएको थियो ।

तर, शिक्षकहरू यो पुस्ताको हकमा अनलाइनमा लैजान नहुने मत राख्छन् ।

‘अब आउने पुस्ताको लागि अनलाइन ठीक छ । अहिले रिटार्यड हुने पुस्तालाई अनलाइन सम्भव हुँदैन,’ तुलाधारले भनिन्, ‘पुरानो पुस्ता सबै अनलाइनसँग अभ्यस्त छैनन् । अर्कोलाई गर्न लगाउनुपर्छ त्यो राम्रो हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?