+
+
उहिलेका कुरा :

श्रीलाल बा र मेरो सिकाइ

सीप भएको केटालाई ‘यत्तिको केटाले गरिखान्छ’ भन्थे। एउटी श्रीमती त रूखको टुप्पामा लगेर नि पालिहाल्छ नि भनेको सुनिन्थ्यो हाम्रो पालामा।

रेवतीराज त्रिपाठी रेवतीराज त्रिपाठी
२०८१ माघ १९ गते २१:०१

समयलाई पछाडि फर्काउन अनि बिर्सन पनि सकिंदैन। विगतलाई सम्झेर आनन्दित हुनु मानव स्वभावै हो या पहिलेको समय नै आनन्दमय थियो बहुत द्विविधामा हुन्छु अहिले।

तीसको दशकका हाम्रा किशोरवयका दौंतरीहरू अहिले साठीको हाराहारीमा गुज्रँदै छन् जसरी म चिप्लेकीरा जस्तै सकी–नसकी घस्रिरहेको छु। त्यतिबेला अहिलेको जस्तो आङमा न्यानो कपडा थिएन। न्यानो कपडा भनेको फलाटिनको दौरा वा कमिज, घरबुना खद्दरको कमिज हुन्थे घरमै दमैदाइलाई बोलाएर सिलाएका। खुट्टामा न्यानो जुत्ता, चप्पल त अलि परैको कुरा भयो। खानेकुरा भने पूरै अर्गानिक थिए। आँटो, ढिंडो अनि भुटेका मकै र भट्ट (हाम्रोमा भटमासलाई भट्ट भनिन्छ)। खाजा प्राय: मोही र मकै–भट्ट।

दूध मोहीको लागि एक–दुई भैंसी वा गाई प्रायः सबैका गोठमा पालेका देखिन्थे। आफ्नोमा दुहुनो गाई–भैंसी नभए पनि मोही भने मागेर पनि पाइने। मोही माग्नु लाज लाग्ने कुरा नभएर सामान्य कुरा थियो। मोही माग्न सहज हुनाले होला मोही माग्ने ढुंग्रो लुकाउने उखान बनेको।

जति दुःख भए आमाबाबुलाई हुन्थे। बाबुआमालाई आफू दुःख काटेर भए पनि सन्तानलाई दु:ख दिनुहुँदैन भन्ने सोच हुन्थ्यो। त्यसैले छोराछोरीको सामु दुःखका कुरा सुनाउँदैनथे। अनि त उमेर नपुग्दासम्म त बाबुआमाको दुःख बुझ्ने कुरा पनि भएन। बाबुआमाका दुःख त अहिले पो बुझिन्छ। हामी सुखी हुनुको एउटा कारण अहिले जस्तो केटाकेटीदेखि नै डाक्टर इञ्जिनियर बन्नुपर्ने बाबुआमाको सपनाको भरिया नभएकाले पनि होला। सन्तानहरूलाई महत्वाकांक्षी सपनाको बोझ नबोकाएर आमाबाबुहरूले आफू अनि छोराछोरी दुवैलाई सुखी राखेका हुन्थे।

बाबुआमाको चिन्ता छोराछोरी सक्षम होउन् भन्ने त हुन्थ्यो नै। तर सक्षमताको परिभाषा र बुझाइ भने अति फरक र सरल थियो त्यतिवेला। छोराछोरीहरू आफ्नै खुट्टामा उभिएर एक मानो खान सक्ने बनुन् त्यत्ति हुन्थ्यो बाबुआमाको सपना। यो गरिखाने कुराले त्यति साह्रो बोझिलो महत्वाकांक्षा भने खोजेको थिएन।

त्यही एक मानाको जोहो पनि गर्न नसक्ला कि भन्ने चिन्ताले पिरोल्थ्यो र भन्थे- हामी मरेपछि यिनले के गरी खालान्? कसरी गरिखालान्? गरिखानु पनि सरल फेरि गरिखानको लागि सीप आर्जनको तरिका पनि सरल।

गरिखाने कुरामा खेतीपाती गर्ने र घरायसी प्रयोगका साधन निर्माणका सीप पर्दथे। खेतीपातीमा लगनशील र घरायसी प्रयोगका अत्यावश्यक साधनहरू डोको, नाम्लो बुन्ने, कुचो बाट्ने जस्ता सीप भएको मानिसले गरिखान्छ भनेर मानिन्थ्यो। कुचो बाट्नु लक्षण विचार्नु भनेर त्यसैलाई भनेका होलान् सायद। यो लक्षण विचार्ने कुरा जहाँ पनि लागू हुन्छ है फेरि। म पनि मेरा विद्यार्थीलाई कहिलेकाहीं भन्ने गर्छु तिमीले कस्तो लेख्छौ भन्ने कुरा तिम्रा दुई हरफबाट थाहा पाउँछु म। अहिल्यै एक अनुच्छेद लेखेर देखाउ त, अनि थाहा भइहाल्छ तिम्रो क्षमता कति छ भन्ने। तर अहिले गरिखानु त्यति सजिलो कहाँ छ र? प्रतिस्पर्धामा खरो उत्रिनुपर्छ।

सीप भएको केटालाई यत्तिको केटाले गरिखान्छ भन्थे। एउटी श्रीमती त रूखको टुप्पामा लगेर नि पालिहाल्छ नि भनेको सुनिन्थ्यो हाम्रो पालामा। के भनेको होला यो रूखको टुप्पोमा लगेर पाल्ने भनेर म अचम्म मान्थें। त्यसको अर्थ न त उहिले बुझियो न त अहिले छोराछोरी हुर्काइसकेर हजुरबाउ भएपछि नै थाहा पाइयो। म अहिलेसम्म पनि यसको अर्थ खोजिरहेछु। तर मैले डोको, नाम्लो बुनेको देख्दा, खेतबारीमा काम गरेको देख्दा मलाई पनि त्यसैगरी गरिखान्छ भन्थे काकी र ठूली आमाहरू। तर त्यसरी सजिलो गरी गरिखाने बाटो छोडेर कहाँको यो बाँगोटिंगो बाटो हिंडियो जिन्दगीमा। फेरि बाटो त्यो सजिलो कि यो सजिलो उत्तर भने सहज छैन।

*** ***

गरिखाने सीप त जस्तासँग सिक्यो उस्तै होइन्छ। खेतीपातीमा अब्बल थिए हाम्रा छिमेकी श्रीलाल बा र नन्दीकेशर दाइ। श्रीलाल बा नाताका मेरो चौथो पुस्ता परका काका अनि नन्दीकेशर दाइ चाहिं मेरो आफ्नै ठूलाबाका छोरा। घर व्यवहारमा अत्यन्तै नजिक। ऐंचोपैंचो माग्नु परे उहाँकोमा नै गइन्थ्यो। नजिक र टाढा त व्यवहारले बनाउने न हो। पुस्तेवारीमा कति नजिक वा टाढा भन्ने कुरा त पछि न थाहा हुने कुरा भयो।

हाम्रा दुई परिवार एउटै जस्ता थिए। म जान्ने भएपछि धेरै वर्ष खेतीपाती गर्न उहाँकै परिवारसँग परेली लगाइयो। हाम्रोमा खेतीपाती गर्न परेली लगाउने चलन छ। खेतालोको सट्टा खेतालो, बाउसेको सट्टा बाउसे र गोरुको सट्टा गोरु नै दिएर तिर्ने गरी आलोपालो गरेर खेती गर्ने चलन हो परेली।

सानो खेतीपाती हुनेले एउटा गोरु पालेर परेली गरेर आलोपालो खेती गर्ने चलन थियो। अझै पनि छ। कहिले हाम्रोमा कहिले उहाँकोमा पालैपालो रोपाइँ अनि गोडमेल गर्ने। खेत कसैको पहिले रोप्नुपर्ने कसैको बेस्सरी पानी परेपछि मात्र रोपाइँ हुने हुन्छन्। परेली लगाउँदा यी कुराको पनि विचार गर्नुपर्दछ। नत्र तेरो पहिला र मेरो पहिला भन्ने प्रतिस्पर्धा हुन्छ।

श्रीलाल बाकै साथमा काम गरेको हुनाले मलाई काम नराम्रो गर्न मन लाग्दैनथ्यो। काम बरु ढिलो होस् तर राम्रै होस् भन्ने मान्यता विकास गराइदिनुभएको थियो श्रीलाल बाले। घाँस अनि धान मसिनो गरी काट्ने, खेतबारी फोहोर नहोस्। खेत खन्दा बाँझो नछोडी गहिरो गरी खन्ने। अहिले लेखपढको काममा पनि त्यस्तै गर्न मन लाग्छ सकेसम्म। कतिपयलाई काम राम्रो नचाहिने जति सक्दो धेरै चाहिने पनि हुन्छ नि त !

पछि श्रीलाल बाहरू बसाइँ सरेर चितवनको माडी जानुभयो। म पनि जागिरको सिलसिलामा घरदेखि अलि टाढा भएँ। श्रीलाल बा टाढा हुनुभयो। म पनि खेतीपातीको कामबाट टाढिएँ। म जागिरको क्रममा बाहिर भएपछि केही वर्ष भाइबहिनीहरूले धाने काम। तर उनीहरू पनि अध्ययनका लागि हिंडेपछि हाम्रो खेतीपातीको काम कम भयो। सबै आ–आफ्नो पेशामा लागेपछि खेतीपातीको काम रोकियो।

*** ***

करिब ३० वर्षपछि फेरि काठमाडौंमा श्रीलाल बासँग भेट भयो। गठ्ठाघर बस्न थाल्नुभएको थियो २०६६ सालतिर। यहाँ भएपछि फेरि आउने–जाने क्रम बाक्लियो। उमेरले वृद्धावस्थामा पुग्नुभएको भए पनि बोली उस्तै। जाँगर उस्तै। खाना उस्तै मिठो पकाउने। मलाई फेरि गाउँ नै पुगे जस्तो भयो।

के भयो कुन्नि केही वर्ष खाल्डोमा बसेपछि उहाँलाई काठमाडौं बस्न मन लागेन। फेरि माडी जानुभयो। जीवनका उर्वर पचास वर्ष पोखरामा बिताउनुभएको उहाँ जीवनको उत्तरार्धमा मधेश झर्नुभएको थियो। ३० वर्षजति मधेशको गर्मीमा बसेर काठमाडौं पसे पनि यहाँ रमाउनुभएन। गाउँमा खुला र फराकिलो ठाउँमा बस्ने बानी परेकालाई यो भीडभाड र कोलाहल मनपर्ने कुरा पनि भएन।

दुई वर्ष अगाडि महाप्रस्थान गर्नुभयो। अहिले मसँग उहाँको मीठो सम्झना मात्र बाँकी छ। काम गर्दा उहाँमा देखिने धैर्य साँच्चिकै अनुकरणीय थियो। मानिसको जीवनमा अमिट छाप छोड्ने केही मानिसहरू हुन्छन् कोही गुरुको रूपमा, कोही साथीको रूपमा र कोही अभिभावकको रूपमा। श्रीलाल बा मेरा अभिभावकको रूपमा अविस्मरणीय हुनुहुन्छ। मैले उहाँबाट धेरै काम र कुरा सिके पनि धीरता भने सिक्न सकिनँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?