+
+
पुस्तक समीक्षा :

प्रकृति र जीवनको संवाद– ‘पञ्चतत्त्वको पालाम’

कवि सुब्बाले यथेष्ट प्राकृत विम्बहरू चलाएका छन् । पञ्चतत्त्व प्राकृतिक भएकोले त्यसो हुनु अपेक्षित र स्वाभाविक पनि हो । कवि शब्द–चित्रकार हो, जो कविताको क्यानभासमा लय, विम्ब र अर्थहरूको रङ पोत्छ ।

रोशन शेरचन रोशन शेरचन
२०८१ माघ १९ गते १८:२५

यदाकदा विना उद्देश्य हिंड्नु र कसैलाई यसै भेट्नु प्राप्तिको विषय बन्न पुग्छ । त्यो दिन म बागबजारमा हिंडिरहेको थिएँ । सोचे, नभेटेको धेरै भयो, जयराम तिमल्सिना कहाँ पसुँ । कहिलेकाहीं चियाखान र काठमाडौंको प्रदूषित कोलाहलमा विश्राम जस्तो गर्न त्यहाँ पुग्छु । विगतमा पाण्डुलिपि ईबुकको प्रारम्भिक छलफलहरू त्यहीं भएको थियो । त्यसैबेलादेखि त्यो स्थान मन परेको हो । सेन्टरमा पर्ने भएकोले पुग्न सहज र शान्त ।

बागबजारमा जयरामको प्रिन्टिङ पसल छ । कहिलेदेखि ? सोधेको छैन । कुरा खोतल्न मलाई रुचि हुन्न । न त कसैले मेरो बारे खोजीनिती गरेकै मन पर्छ । कहाँसम्म भने, वर्षौंसम्म परिचित साथीहरूको घर र परिवारबारे मलाई थाहा हुन्न । जयराम तर जिज्ञाशु छन् । चिया पिउँदै उनीसँग अध्यात्मको विषयमा धेरै पटक कुराकानी गरेको छु ।

वि.सं २०८० मा हो सायद उनले प्रकाशनगृह पेज टर्नर खोले । छेवैको कवलमा पेज टर्नरको बिक्री कक्ष थपिएको छ । भर्खर जयरामको उपन्यास ‘धीमही’ प्रकाशित भएको छ । उनै जयराम ग्राहकसँग व्यस्त रहँदा म भने पुस्तकहरू नियाल्न थाल्छु । आधादर्जन पुस्तकहरूको शीर्षकमा नजर चिप्लँदै गएर मेरो दृष्टि एउटा पुस्तकमा अडिन्छ– कवि मनप्रसाद सुब्वाको कविता संग्रह ‘पञ्चतत्त्वको पालाम’मा ।

शीर्षकले ध्यान तान्छ । पञ्चतत्त्व दार्शनिक अवधारणा हो । पूर्वेली दर्शनको केन्द्रमा रहेको । ब्रह्माण्ड वा सृष्टि यिनै तत्वहरूको योगले बनेको मानिन्छ । पञ्चतत्त्व अर्थात् आकाश, अग्नि, हावा, पानी र धर्ती । ब्रह्माण्ड र जीवन यी तत्वहरूले गर्दा अस्तित्वमा आएकोले यसलाई सबैभन्दा आधारभूत मानिएको छ ।

तीव्र र व्यापक कल्पनाशीलता देख्न सकिन्छ कवितामा । आफ्ना पूर्वजहरू मार्फत उनी तानमा आकाश बुन्छन् । तानमा अपरिमित आकाश बुनेको सोच्न सक्नु कविको सामर्थ्य हो

‘पञ्चतत्त्वको पालम’ शीर्षक नै आध्यात्मिक वा धार्मिक ग्रन्थ जस्तो । पालमबारे मलाई धेरै थाहा छैन । थाहा छ त, पालम लिम्बुहरूले गाउने लोक गीत हो । यो तर गायनमा मात्र सीमित छैन बरु परम्परागत धाननाचको (या–राक्मा) अभिन्न हिस्सा हो– लिम्बु संस्कृति, परम्परा र जीवनशैलीसँग अन्योन्याश्रित गाँसिएको ।

अनुमान लगाएँ, पञ्चतत्त्वहरू अन्तरसम्बन्धित भई सृष्टि वा जीवनको रचना गर्ने भएकोले यी तत्वहरूलाई आह्वान गर्दै कविले समवेत स्वरलाई पालममा गाउने उद्यम गरेका होलान् । कवितालाई पालाममा कसरी गाएका छन् ? पालमको कस्तो ध्वनि निःसृत भएको छ ? र, सबभन्दा महत्वपूर्ण, अर्थले कतातिर संकेत गरेको छ ? जान्ने खुल्दुली लाग्यो ।

कविता संग्रह, ६ खण्डमा विभाजित रहेछ । हरेक तत्वलाई एक खण्ड । क्रमशः आकाश, हावा, अग्नि, पानी र धर्ती । अन्तिममा उपसंहार । उपसंहारले यी पाँचै तत्वलाई दार्शनिक भावभूमिमा उन्न खोजेको छ । यस अर्थमा, उपसंहार सिनोप्सिस भएको छ, प्रयोजनमा ।

तीव्र र व्यापक कल्पनाशीलता देख्न सकिन्छ कवितामा । आफ्ना पूर्वजहरू मार्फत उनी तानमा आकाश बुन्छन् । तानमा अपरिमित आकाश बुनेको सोच्न सक्नु कविको सामर्थ्य हो । मानिन्छ, कवितामा कविले आन्तरिक लोकको निर्माण गर्न सक्नुपर्छ । यहाँ विचित्रको लोकनिर्माण भएको छ । विविध र बहुरुप । जिजूबोजुहरूको असंख्य हाडले बनेको तानको विचित्रको मिथकले पाठकलाई प्राचीन समयतिर धकेल्छ, जहाँ दिक् र कालको अमूर्त कुइरोमा मिथक जादूई बनेको छ । दन्त्य कथामा भेटिने हजारौं वर्ष बाँच्ने मान्छेहरू कविताको क्यानभासमा सल्बलाइरहेको आभास हुन्छ ।

समयको यौटा प्राचीन कुइनेटोमा
मेरा जिजुबाजेका जिजुबाजेले
आफ्नो ज्यानको २०६ वटै हड्डी जोडजाड पारी
यौटा अनौठो तान बनाए
र उपहारमा दिए मेरी जिजूबोजुकी जिजूबोजुलाई
त्यही तानमा ती प्राचीन जिजूबोजुले बुनिन् नीलो आकाश
संवेदनाका अनन्त रेसाहरू निकालेर….
–तानमा बुनेको आकाश

‘उज्यालो जब खस्छ’ कवितामा उज्यालोको पर्सोनिफिकेसन गरिएको छ । एकदम चाल मारेर आउने उज्यालोलाई बिरालो जस्तो सोच्न सकिन्छ । कहाँ उज्यालो भौतिक तरंग, कहाँ जैविक बिरालो । बिरालो भनेपछि कसैले चाल नपाउने अकस्मात् नजिक आउने प्राणीको चित्र नै मनमा आउँछ । किन अँध्यारालाई घोप्टो अवस्थामा दर्शाएको होला ? स्वयंमा अँध्यारोको अस्तित्व नभएर ? आखिर उज्यालोको अनुपस्थिति नै अँध्यारो हो । त्यसैले अँध्यारोको मेरुदण्ड छैन । मेरुदण्ड नभएपछि आफ्नै भरमा कहाँउ भिन सक्छ र ? घोप्टो नै डिफल्ट अवस्था हो । लस्कर प्रश्नहरू मनमा झुत्ती खेल्न आइपुग्छ ।

उज्यालो 
एकदम चाल मारेर
खस्छ
घोप्टो परिराखेको 
अँध्यारोको ढाडमा

कवि सुब्बाले यथेष्ट प्राकृत विम्बहरू चलाएका छन् । स्वाभाविक पनि हो, पञ्चतत्व प्राकृतिक भएकोले त्यसो हुनु अपेक्षित छ र स्वाभाविक पनि । कवि शब्द–चित्रकार हो, जो कविताको क्यानभासमा लय, विम्ब र अर्थहरूको रङ पोत्छ । कविको स्ट्रोक तर अभ्यन्तरबाटै उठ्छ । टिस्टा, रङ्गीत मेचीवारीका हामीमाझ एकदम अपरिचित नाम संज्ञा होइन । मैले शायद पहिलो पटक टिस्टा र रङ्गीत बारे प्रकाश कोविद्को उपन्यासमा पढेको थिएँ । पछि इतिहासमा पनि पढियो, नेपालको सिमाना विगतमा पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म फैलिएकोथ्यो भनेर ।

सन् २०११ मा सिक्किम जाँदा बाटामा टिस्टा बगिरहेको भेटियो । राम्फुमा सुरक्षा चेकिङको निम्ति गाडी रोकिंदा म भने भाव उद्वेलित भई पुलबाट टिस्टा हेरिरहें । कविता पढ्दा थाहा भयो, टिस्टाको एक प्रमुख भँगालो रङ्गीतको सिवलिङ पनि रहेछ । खोलालाई विम्ब सोच्नु धेरै अघिदेखि चलिआएको प्रचलन हो । खोलाको अविराम गतिशीलता र बरु स्वको विलय होस् तर समुद्र (समष्टि) को अंश हुने नदीको नैसर्गिक स्वभावबाट कविहरू आदिमकालदेखि आकर्षित भएका होलान् । टिस्टा र रङ्गीतको प्रणय सम्बन्धतिर कविताले संकेत गरेको छ । टिस्टालाई प्रेमिका बताइएको छ । साह्रै मोहक शैलीमा त्रिवेणीसम्म ढाडमा बोकेर भाइ छोटा रङ्गीतले बडा रङ्गीतलाई टिस्टासँग मेल गराइदिन्छ । मानौं छोटा रङ्गीत टिस्टासँग विलय गराएर भए पनि बडा रङ्गीतलाई टिस्टाको अस्तित्वको एक अंश भएको हेर्न चाहन्छ ।

दक्षिणतिरबाट आएको उसको भाइ छोटा रङ्गीतले
उसलाई ढाडमा बोकेर लान्छ अचेल तल त्रिवेणीसम्म
र खुइ्य गर्दै आइपुगेको टिस्टाको हातमा सुम्पिन्छ
अनि एकअर्काको हाल हेरेर दुवै रुन्छन् अँगालोमा
नभनेरै बुझ्छन् कि दुवैको हंस
पातालबाट आउने अँध्यारो नजरले टिपेर लगेको छ
–बडा रङ्गीत अनि टिस्टाका कथा

स्वनामधन्य कवि सुब्बालाई काठमाडौंमा बसेर पढ्नु नियमित आकस्मिकता जस्तो अनुभव भएको छ । गम्भीर कवि लाग्यो मनप्रसाद सुब्बा ।

‘पञ्चतत्त्वको पालम’लाई विचारको फराकिलो फलकमा सोच्नु अझ श्रेयस्कर हुन्छ । पञ्चतत्त्व प्रकृतिप्रदत्त र सृष्टिको आधार भएकोले, पर्यावरणीय दृष्टिविन्दुवाट पनि सोच्न सकिन्छ । अझ भनुँ, सोच्नु अपेक्षित छ । मानवीय गतिविधिले पृथ्वी लगायत चराचर जगतलाई गहिरो क्षति पुर्‍याइरहेको सन्दर्भमा पञ्चतत्वको पालमले पृथ्वीको संरक्षण गर्न मानव जातिलाई आह्वान गरेको छ । पर्यावरणीय कविता नभनिकनै तर सारमा पर्यावरणप्रति मान्छेले गरेको ज्यादतीको भयावह शब्दचित्र खिचेर मानिसलाई सचेत हुन कविले आग्रह गरेका छन् । पञ्चतत्वको पालमको अर्को आयाम, पर्या–कविताको छ ।

हाम्रो विडम्बना, मान्छेले जुन स्रोतको निम्ति पैसा तिर्नुपर्छ त्यसलाई महत्व दिन्छ । प्रकृतिले निःशुल्क उपहार दिएकोले नै मान्छेले आकाश, अग्नि, हावा, पानी र धर्तीको महत्व बुझेको देखिंदैन । नत्र यतिविधि कार्वन उत्सर्जन, हावा र जल प्रदूषण, वन डढेलो र आकाशमा नानाभातिको प्राविधिक छेडखानी हुने थिएन । जलवायु परिवर्तन मानव जातिकै सबभन्दा ठूलो समस्या बन्ने थिएन । मान्छेका अहम्वादी सोच र हरकतले मानिस, अन्य प्राणी र वनस्पतिको निम्ति पृथ्वी झन्–झन् प्रतिकूल बन्दैछ । करोडौं प्रजाति पहिचान हुनु अघि नै लोप भइसकेको छ । त्यति भयावह ।

‘मुक्त महाज्योति’, संग्रहको सबैभन्दा बलशाली कविता लाग्यो । महाविस्फोट, महामुहूर्त, महाज्योति पिण्ड, व्ल्याकहोल आदि पदावलीसँग सैद्धान्तिक भौतिकशास्त्रीहरूले भन्ने गरेका विगब्याङ्ग, क्वान्टम थ्यौरी, सिङ्गुलारिटीले सहचार्यभाव उत्पन्न गर्‍यो । कताकता अबोधगम्यतातिर लगे जस्तो । यस कविताको ध्वनि विशिष्ट छ–मन्त्र जस्तो । अन्य कविताहरूमा आगो र आगोको हंस, म सूर्य, ओ आगो, मेरो आकाश, पानीको प्रश्न, भूमि सशक्त छन् ।

समीक्षक महेश पौड्यालले सही लेखेका छन्– पञ्चतत्त्व, यानि आकाश, अग्नि, हावा, पानी र धर्तीलाई हेर्ने अति–मानवीकृत दृष्टिकोणको विनिर्माण गरेका छन्, कवि सुब्बाले । ……मान्छेका असंवेदनशील र स्वार्थपूर्ण कुकृत्यका कारण पर्दै गएको नकारात्मक असरबारे पाठकलाई सचेत गराउने प्रचेष्टा गरेका छन् ।

स्वनामधन्य कवि सुब्बालाई काठमाडौंमा बसेर पढ्नु नियमित आकस्मिकता जस्तो अनुभव भएको छ । गम्भीर कवि लाग्यो मनप्रसाद सुब्बा । पछिल्लो डिस्कोर्समा आएको पर्या–कविताको क्षेत्रलाई यसले थप समृद्ध बनाएको छ । पर्याप्त वैचारिक हुँदाहुँदै पनि काव्यको कमलोपनलाई अक्षुण्ण राखेको यस कविता संग्रहको उपस्थिति अत्यन्त सुखद छ । संग्रह पठनीय बनेको छ ।

बडा रङ्गीत अचेल आफैंलाई व्यङ्ग्य भएको छ
खिएर इत्रु भा’को उसलाई
बाख्राको पाठाले पनि फुत्रुक्क उफ्रेर नाघ्छ
–बडा रङ्गीत अनि टिस्टाको कथा

लेखकको बारेमा
रोशन शेरचन

झन्डै तीन दशकदेखि लेखनमा सक्रिय निबन्धकार एवं कवि रोशन शेरचनका ‘गल्ली संसार’, ‘धोविघाट एक्सप्रेस’ एवं ‘चम्पारन ब्लुज’ जस्ता पुस्तक प्रकाशित छन् । वातावरण विज्ञानमा विद्यावारिधी शेरचन संरक्षण साहित्यका पनि अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?