
१९ माघ, काठमाडौं । मानभवनस्थित तत्कालीन नेपालय आरशालामा २० वर्षअघि सुरु भएको थियो पलेँटी शृंखला । आज पनि युट्युबदेखि स्पटिफाइसम्म यसका शान्त, मोहक गीतहरू सुन्न पाइन्छन् ।
करिब बिर्सन लागिएका, अनि अत्याधुनिक प्रविधिले थुपारेको हल्लासँगै इतिहासको गर्तमा पुरिएका अजरअमर गीतसमेतलाई खोजेर नयाँ स्रोतासामू पुर्याएको जस पलेँटीलाई जाने गर्छ ।
संगीतकार आभासले दुई दशकअघि सुरु गरेको यही ‘पलेँटी’ भन्दा २ वर्षपछि जन्मिइन् अभिज्ञा घिमिरे । शुक्रबार साँझ कालिकास्थानमा उनी र अर्का गायक बेनुप क्षेत्रीको भागमा नेपाली संगीत र वाङ्मयका दिवंगत, तर अमर रत्नहरूका ११ गीत परे ।
नेपालयले कालिकास्थानको नवनिर्मित आरशाला अर्थात् रिहर्सल स्थलमा शुक्रबार साँझ बितेका ११ स्रष्टा सम्झिइयो । माधवप्रसाद घिमिरे, रत्नशमशेर थापा, विनोद स्याङ्देन, फत्तेमान, भीम विराग, प्रेमध्वज प्रधान, योगेश वैद्य, अम्बर गुरुङ, मीरा थापा, कुमार सुब्बा, राममान तृषितका गीतहरूलाई अभिज्ञा र बेनुपले गाउँदा संगीतकार आभास उद्घोषणमा थिए ।
‘यी ११ जना स्रष्टा पलेँटीमा आउनुभएको थियो, जो बीचका यी वर्षहरूमा बित्नुभयो,’ आभासले भने, ‘उहाँहरूले लेखेका, संगीत गरेका, गाएका गीतहरूमा साझा तत्व रहेछ– फूल । आज प्रस्तुत गीतहरूमा तिनै अमर फूलहरूको सुवास छ ।’
आभासले अभिज्ञाबारे भन्दैगर्दा यो पनि खुलाए, ‘उनी पलेँटी सुरु भएको दुई वर्षपछि जन्मेकी छोरी पुस्ता हुन् । उनलाई हामीले टिकटकबाट छानेका हौं ।’
तारादेवीको ‘फूलैफूलको मौसम तिमीलाई’ देखि मन्जुलको ‘एक थुंगा मायालाई’ सम्मका गीतहरू सम्झँदा सबै गीतको साझा भाव ‘फूल’ मा गएर उनिएको थियो । केवल विस्मातको कुरा यो थियो कि यीमध्ये कुनै गीतका गायक–गायिका, कुनै गीतका संगीतकार, कुनै गीतका रचनाकार यो बीचमा बितेका थिए ।
नेपालयका किरणकृष्ण श्रेष्ठले यी स्रष्टाहरूलाई गुमाउनुपर्दाको अवसाद सुनाउँदै अब अमर संगीतहरूमा उनीहरूलाई बचाइराख्ने प्रण गरे । उनले स्तरीय संगीत र कलालाई बचाइराख्न सबैको साथ चाहिने आह्वान पनि गरे ।
अभिज्ञा र बेनुपलाई किबोर्डमा दिनेश रेग्मी, गितारमा कृपेश लोहनी, बाँसुरीमा मिलन घिमिरे, पक्र्युसनमा पारसमणि सुवेदी, तबलामा लक्ष्मीप्रसाद डंगोलले साथ दिए ।
नेपाली आधुनिक तथा सुगम संगीतलाई नयाँ पुस्तामाझ गुणस्तरसहित पस्किरहेको नेपालयका प्रमुख श्रेष्ठले अब पलेँटीले फेरि विगत वर्षहरूझैं नियमितता पाउने बचन दिए ।
अर्को महिना दार्जिलिङबाट चन्दन लोम्जेल, डेजी बराइली, विमोचना लोम्जेल सहभागी हुनेछन् । नोर्देन रुम्बाका आखिरी वर्षहरूमा रचिएका गीतहरू प्रस्तुत हुने संगीतकार तथा नेपालयका संगीत निर्देशक आभासले बताए ।
आभास तिनै गायक, संगीतकार हुन् जो विभिन्न कलाकार अनि गीत, संगीत खोज्दै नेपाल र भारतका विभिन्न ठाउँहरू पुगेका छन् । अनि, भ्रमण क्रममा भेटेका मध्ये थुप्रै स्तरीय गायक, संगीतकारलाई पलेँटीमा बसाएका छन् ।
तिनै आभासको नयाँ खोजी हुन्, अभिज्ञा । धनुषामा जन्मेकी उनी अहिले भक्तपुरस्थित सैनिक विद्यालयमा पढ्दैछिन् । ४ वर्षको उमेरदेखि नै आफू संगीत साधनामा लागेको उनी बताउँछिन् । अर्थात् उनको साधना वर्ष भयो १४ ।
अभिज्ञाले अनलाइनखबरसँग कुरा गर्दै आफू विगतमा लता मंगेशकर, आशा भोसले लगायतलाई सुन्दै आए पनि नेपाली गीतहरूमा गहिरो गरी लगाव बढ्दै गएको सुनाइन् । पलेँटीमार्फत् लिएको अनुभवलाई उनले गर्वका साथ सुनाउँदै भनिन्, ‘सारेगमप लगायत प्लाटफर्ममा यसअघि गाइसकेकी थिएँ । पलेँटीजस्तो स्तरीय अनि प्रतिष्ठित इतिहास भएको ठाउँमा गाउन पाउँदा एकदमै खुसी छु ।’
प्रतिक्रिया 4