१९ माघ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको आयोजनामा ११ चरणको राउण्ड रोविन प्रतिस्पर्धा सहित सम्पन्न भएको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पुरूषतर्फ एफएम रुपेश जैसवाल र महिलातर्फ सिन्दिरा जोशी च्याम्पियन बनेका छन् ।
हेटौंडामा एक सातासम्म चलेको बुद्धिचाल प्रतियोगितामा रौतहटका रुपेश जैसवाल ९ अंक जोडेर २५औं राष्ट्रिय चेस च्याम्पियन बनेका हुन्। उनको यो दोस्रो राष्ट्रिय उपाधि हो।
रुपेशले चौथो वरियतावाट खेल प्रारम्भ गर्दै सात जीत, चार बराबरी खेले। उनले आफ्नो व्यक्तिगत रेटिङ २०९३ वाट खेल सुरु गरेर ३०.२ रेटिङ बढाएका छन्। समग्रमा उनको उत्कृष्ट रेटिङ पर्फमेन्स २२११ रह्यो।
युवा पुरुषोत्तम सिलवालले टाइब्रेकरका आधारमा दोस्रो बन्दै प्रतिस्पर्धा अन्त्य गरेका छन्। वतर्मान नेपाल च्याम्पियन राजन सुवेदीसँग समान ८.५ अंक बनाएका पुरुषोत्तमको ३७.२५ टाइब्रेक प्वाइन्ट र राजन ३६.२५ मा सिमित भए। झापाका राजन तेस्रो स्थानमा अडिए।
मकवानपुरका एफएम क्षितिज भण्डारीले ८ अंक बनाइ चौथो स्थान प्राप्त गरेका छन्। दोलखाका आशिष् फूँयाल ७ अंक जोडेर पाँचौ स्थानमा रहे। झापाका सिएम शुश्रुत दहाल ६.५ अंक सहित सातौं, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ६ अंक आठौं, प्रेमकृष्ण महर्जन नवौं र ललितपुरका सुरोज महर्जन दशौं भए।
त्यसैगरी १०औं महिला राष्ट्रिय वुमन च्याम्पियन सिन्दिरा जोशीले ९ अंक बनाएकी छिन्। उनले उत्कृष्ट खेल खेली उपाधि जोगाउन सफल भएकी छिन् ।
यस्तै लामो समय चेस खेलमा व्यतीत गरेकी पुनम प्रसाईंले ८ अंक जोडेर दोस्रो भएकी छिन्। निकै कडा प्रतिस्पर्धामा झापाका पुनमले टाइब्रेक प्वाइन्ट ३८.७५ प्राप्त गरि दोस्रो भइन्।
बाँकेकी इशा गिरीले ८ अंक टाइब्रेक प्वाइन्ट ३६.२५ का आधारमा तेस्रो स्थान हासिल गरेकी छन्। उदीयमान इशाले पहिलो प्रयासमा नै नेपाल तृतीय बनेकी हुन्। काठमाडौंका एञ्जल महर्जनले समान ८ अंक जोडेर चौथो स्थानमा रहने क्रममा अप्रत्याशित उत्कृष्ट खेल प्रदर्शन गर्दै ३५ टाइब्रेक प्वाइन्ट बनाइन्।
यसैगरी मोरङ्का शान्ति धिमाल ७.५ अंक सहित पाँचौं, झापाका कृतिसारा अधिकारी ६.५ अंकमा छैटौं, किर्तिपुरका बिनिता कपाली ६ अंक प्राप्त गर्दै सातौं, बारा जिल्लाका शुशिला गुरुङ ५.५ अंक आठौं, चितवनका लक्ष्मी कँडेल नवौं र काठमाडौंका निहाना श्रेष्ठ दशौं भए।
प्रतिक्रिया 4