
१९ माघ, विराटनगर । विराटनगर महानगरपालिका– ५ को कलेर्वा टोलमा गाडिएको अवस्थामा फेला परेकी बालिकाको हत्यामा मामली घरका सदस्यसँगै आमाको पनि संलग्नता देखिएको प्रहरीले बताएको छ ।
शुक्रबार दिउँसो प्रहरीले कलेर्वा टोलका सरजुग मण्डलको घर पछाडि गाडिएको अवस्थामा १४ वर्षीया चाँदनी यादवको शव फेला पारेको थियो । बालिका सरजुगको माइली छोरी राजकुमारीको छोरी हुन् ।
भारतको छप्राहा जिल्ला घर भएकी उनको प्रेम सम्बन्ध छुटाउन बुबा लालमोहन र आमा राजकुमारीले एक महिनाअघि मामलीघर विराटनगर ल्याएका थिए ।
अनुसन्धानका क्रममा ११ माघको राति बालिकाको हत्या गरी शव खाल्डो खनेर गाडेको देखिएको प्रहरीले बताएको छ । बालिकाकी आमा भने भालिपल्ट बिहान झिसमिसेमै माइतबाट घर फर्किएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
‘यो घटनामा मामलीघरका हजुरबुबासहित बालिकाको आमाको पनि भूमिका देखिन्छ,’ मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले भने, ‘कसको कति कसुर छ भन्ने चाहिँ खोज्दैछौं ।’
उनका अनुसार बालिकाको बुबाको भूमिको विषयमा पनि अनुसन्धान भइरहेको छ । ‘घरका सदस्यले प्रेम सम्बन्ध छुटाउन दबाब दिएको, तर बालिकाले नमानेको देखिन्छ,’ उनले भने, ‘त्यसमै विवाद हुँदा हत्यापछि शव गाडेको देखिन्छ ।’
प्रहरीका एक महिनाअघि छोरी लिएर आएका लालमोहन र राजकुमारी केही दिन बसेर छोरीलाई छाडेर फर्किएका थिए । घटना हुनुभन्दा अगाडि भारतबाट आमा राजकुमारी फेरि आएको देखिएको प्रहरीको दाबी छ ।
उनी घटनालगत्तै बिहान झिसमिसेमा सिटी सफारी चढेर भारत जोगवनीसम्म पुगेकी थिइन् । शव भेटिएपछि स्थानीयबाट पाएको यो सूचना भेरीभाइ गर्दा सरजुगले पनि बुबाले छोरी आएर फर्किएको स्वीकार गरेका थिए ।
प्रहरी नायव उपरीक्षक जोशीका अनुसार यो घटनामा बालिकाको मामली तर्फका हजुरबुबा र हजुरआमासहित आठजना अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । घटनामा संलग्नता देखिएकालाई आइतबार म्याद थप गरी अनुसन्धान अघि बढाउने डीएसपी जोशीले बताए ।
हत्या कसरी गरियो भन्ने यकिन भइनसकेको उनले बताए । ‘हत्या कसरी भयो भनेर अहिल्यै भन्न सकिँदैन, शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएकाले अनुमान गर्न सक्ने अवस्था छैन,’ प्रहरी भन्छ, ‘घटना यकिन गर्न पोस्टमार्टम रिपोर्ट पर्खनुपर्छ ।’

कसरी भयो घटना ?
कहिले काहिँ मामलीघर आउने चाँदनी एक महिनायता मामाघरमा थिइन् । बाक्लो बस्ती भएकाले उनलाई गाउँकाले चिन्थे । प्रेम सम्बन्ध छुटाउनका लागि भारतबाट ल्याएको खबर गाउँलेलाई पनि थाहा थियो ।
एक महिना निरन्तर देखिएकी चाँदनी आमा राजकुमारी दोस्रो पटक माइत आएर फर्किएपछि एकाएक गाउँमा देखिन छाडिन् । आमा एक्लै घर फर्किएको र छोरी मामा घरमा नभएको विषय गाउँलेले नोटिस गरिरहेका थिए ।
छोरी नलिई आमा गएको र चाँदनी गाउँमा नदेखिएपछि चाँदनी बेपत्ता भएको कुरा उठेको छिमेकी रामकुमार यादवले बताए । ‘आमा बिहानै घर हिड्यो, तर बच्चा गएन, ४–५ दिनदेखि बच्चा नदेखेपछि गाउँमा कुरा उठेको थियो,’ यादवले भने, ‘यतिसम्म हर्कत गर्छ भन्ने लागेकै थिएन् ।’
एक सातासम्म चालचुल नदेखेपछि गाउँलेले शंका लागेर प्रहरीलाई खबर गरेका थिए । घटना शंकास्पद भन्दै हजुरबुबा सरजुगलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।
‘हामीकहाँ बालिका हराएको सूचना आएको थिएन, बेपत्ता हुँदा परिवारले खोजीका लागि प्रहरीलाई खबर गर्थे,’ डीएसपी जोशी भन्छन्, ‘हराएको एक साता हुनु र हामीकहाँ खबर पनि नआउनुले घटना शंकास्पद लाग्यो ।’
प्रहरीले सोधीखोजी गर्दा सरजुगले सुरुमा नातिनी भारतस्थित घर फर्किएको जवाफ दिए । सरजुगककै फोनबाट बुबा लालमोहनलाई फोन गर्दा उनले छोरी नेपालमै रहेको जवाफ दिए । आमा राजकुमारीले माइतमा भएकाले सोधीखोजी नगर्न आग्रह गरिन् । उनले ‘मेरो छोरीका बारेमा तपाईंहरूलाई किन चासो गर्नुपर्यो’ भन्दै प्रश्न गरेकी थिइन् ।
त्यसपछि सरजुगले बोली फेरे । नातिनीले घर छाडेर भागेको जवाफ दिए । शंकास्पद व्यवहार देखाएपछि प्रहरीले घरमा खोजतलास अघि बढाएको थियो । घरदेखि दक्षिण खाली जमिनमा खाडल खनिएको स्थान बाहिर थोरै आलोमाटो देखियो । प्रहरीले तोरीको दाना निकालेर बोटहरू राखेको ठाउँमा गाईवस्तुको गोबर थुपारेको भेटियो । ‘शंकास्पद लागेर खाल्डोको माटो हटायौं, अलिकति हटाएपछि बालिकाको टाउको देखियो,’ डिएसपी जोशीले भने ।
लगाएको कपडासहित घोप्टो पारेर गाडिएको अवस्थामा शव फेला परेको थियो ।
आफन्तका अनुसार बिहारस्थित घरमा बालिकाको प्रेम सम्बन्ध परिवारले रुचाएको थिएन् । मृतक बालिकाका दाजु बबीदेवल मण्डलका (ठूलीआमाको छोरा) अनुसार प्रेम सम्बन्ध छुटाउनका लागि विराटनगर ल्याइएको थियो । एक साताअघि उनी ससुरारी जाँदा चाँदनी मावली घरमै थिइन् ।
‘ससुरालीबाट फर्किएर बहिनी कहाँ गयो भनेर सोध्दा उसकै घर गयो भन्ने जवाफ दिए, घर गएको होला भनेर मैले खासै वास्ता गरिनँ,’ शुक्रबार घटनास्थलमा भेटिएका मण्डलले भने, ‘उता एउटा केटासँग प्रेम चल्दै थियो, छुटाउन यता ल्याएको थियो ।’
घटनापछि प्रहरीले सोधपुछका लागि उनलाई पनि नियन्त्रणमा लिएको छ । छिमेकीका अनुसार चाँदनीलाई विराटनगर ल्याउनुको उद्धेश्य झारफुक पनि थियो । उनका हजुरबुबा गाउँका धामी हुन् । झारफुक गरे नगरेको भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4