
१९ माघ, नवलपरासी । नवलपरासीको दुम्कीबासमा दुई यात्रुबाहक सवारीसाधन ठोक्किएर दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । अन्य नौ घाइते भएका छन् ।
मृत्यु हुनेमा भारतको पश्चिम बंगाल राज्यको मिधिनिपुरका ४० वर्षीय शंकर नाम गरेका यात्रु रहेको प्रहरीले जनाएको छ । उनको थर खुलिसकेको छैन । विनयी त्रिवेणी गाउँपालिका– १ दुम्कीबासमा रहेको डिभिजन वन कार्यालयनजिकै बस र विद्युतीय माइक्रोबस ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीले दिएको जानकारीअनुसार काठमाडौंबाट दाङतर्फ जाँदै गरेको रा. १ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रोबस ठोक्किएका हुन् ।
मृत्यु भएका यात्रु माइक्रोबसमा थिए । माइक्रोबसमा रहेका अन्य सबै पनि भारतीय नागरिक रहेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । अस्पताल स्रोतलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार घाइते यात्रुको अवस्था सामान्य छ । दुर्घटनाको कारण खुल्न बाँकी छ ।
प्रतिक्रिया 4