
१९ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले चार महिने अभियानको समीक्षा गरेको छ । पार्टीको कार्यकारिणी समितिको शनिबार बसेको बैठकमा गत कार्तिक महिनादेखि चलिरहेको अभियानको समीक्षा गरेको हो ।
पार्टी प्रवक्ता मनीष सुमनले ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ नामको चार महिनादेखि जारी अभियानको समीक्षा गरिएको जानकारी दिए । दुई दिने बैठकको पहिलो दिन कार्यकारिणी समितिका २३ सदस्यले अभियानसम्बन्धी रिपोर्ट सुनाएको उनले जानकारी दिए ।
‘अहिले हाम्रो चार महिने अभियान चलिरहेको छ । शनिबार र आइतबार हामीले समीक्षा बैठक राखेका छौंँ । यसक्रममा शनिबार २३ जना साथीहरूले आआफ्नो जिम्मेवारीमा रहेको अभियानको रिपोर्टहरू सुनाउनुभयो,’ प्रवक्ता सुमनले भने, ‘आइतबारको बैठकमा बाँकी साथीहरूले समीक्षा प्रस्तुत गर्नुहुनेछ ।’
जसपाले आफ्नो अभियानको क्रममा कार्यकर्तामा नयाँ उत्साहको सञ्चार भएको जनाएको छ । सातवटै प्रदेशमा कार्यकारिणी समितिका प्रत्येक सदस्यालाई परिचालन गरेर सञ्चालन गरिएको अभियानको क्रममा पार्टीले आमजनतासँग जोडिएर उनीहरूका समस्या सुन्ने, पार्टीका नीति र सिद्धान्तबारे जानकारी गराउने काम गरेको छ । त्यसैले देशैभरका नेता–कार्यकर्तामा नयाँ उत्साह जागृत भएको रिपोर्ट साथीहरूले पेश गर्नुभयो,’ प्रवक्ता सुमनले अनलाइनखबरसँग भने ।
उनले पार्टीले पुनर्ताजगी प्राप्त गरिरहेको भन्दै विगतमा केही स्थानमा देखिएका समस्या पनि समाधान भएको बताए ।
प्रतिक्रिया 4