+
+

‘औरा’ कविता संग्रह ल्याउँदै राजवल्लभ : यहाँसम्म आइपुग्न ४३ वर्ष लाग्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १९ गते २१:३९

काठमाडौं । अभिनेता समेत रहेका राजवल्लभ कोइरालाले कविता संग्रह ‘औरा’ सार्वजनिक गरेका छन् । शनिबार आयोजित समारोहमा उनले आफ्नो साहित्यिक परिचयमा नयाँ प्वाँख थपे ।

आफूलाई यहाँसम्म आइपुग्न ४३ वर्ष लागेको उनले बताए । ‘कलाकार संवेदनशील हुन्छन्, कवि पनि । आज मेरो दुई पक्ष, कलाकार र कविले आत्मीयता पाएको अनुभूति गरेको छु । यहाँसम्म आइपुग्न मलाई ४३ वर्ष लाग्यो’ उनले भने ।

यो कृति छोरी औरामा समर्पित रहेको उनले बताए । ‘मेरो कविता मन पराउनेहरूले कहिलेकाहीँ कविता संग्रह निकाल्न आग्रह गर्नुहुन्थ्यो । यो पुस्तक मेरो छोरीका लागि एउटा उपहार हो, साथै मलाई माया गर्ने सबैका लागि पनि । पछिल्लो पटक ‘एक्टरः टेक वन’ फिल्मको छायांकन चलिरहँदा यस पुस्तकको तयारी भएको थियो’ उनले भने ।

आफू कवि नभएको, तर कवि भनेर माया पाएको बताउँदै कोइरालाले पछाडि फर्केर हेर्दा, आफ्ना पिताले पनि कहिलेकाहीँ कविता लेख्ने गरेको सम्झना गरे । ‘समाजमा देखिने दुःखहरूले मलाई गहिरो रूपमा प्रभावित पार्थे । हाम्रो घरमा गन्धर्वहरूले पीडाका गीत गाउने गर्थे, जसले मलाई झन् प्रभाव पार्‍यो । स्कुले जीवनमै कविता लेख्न थालेको थिएँ,” उनले भने ।

कोइरालाले आफ्नो छोरी औरा र श्रीमती प्रतिमालाई समर्पित गर्दै कविता वाचन गरे । पुस्तक विमोचन अवसरमा साहित्यकार विप्लव प्रतीक, पत्रकार दिलभुषण पाठक, फिल्म निर्देशक दीपाश्री निरौला, निर्माता तथा गीतकार अविरल थापालगायत सर्जक तथा साहित्यप्रेमीहरूले पुस्तकमा संग्रहित कविता वाचन गर्दै धारणा राखे ।

साहित्यकार विप्लव प्रतीकले पुस्तकको उत्कृष्ट डिजाइन र कविताहरूको गहिराइको प्रशंसा गरे । प्रतीकले आफूले राजवल्लभलाई पहिलो पटक अमेरिकाको ड्यालसमा भेटेको सम्झना गर्दै पहिलो भेटबाट नै घनिष्ठ रहेको बताए ।

‘औरा’ संग्रहलाई साहित्यपोस्ट डटकमले प्रकाशन गरेको हो । १०० भन्दा बढी कविता समावेश गरिएको संग्रहको आवरण कलाकार चिराग बाङ्देलले डिजाइन तयार गरेका छन् ।

कोइरालाको करिअरको सुरुवात पोखराको रेडियोबाट भएको थियो । सन् २००७ मा ‘पर्खी बसेँ’बाट फिल्ममा अभिनय यात्रा थालेका थिए । ९ वर्षको करिअरमा उनले ३ दर्जन फिल्ममा अभिनय गरेका छन् । लामो समयदेखि उनी अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका छन् । उनले पुनरागमन गरेको फिल्म ‘एक्टर : टेक वन’ प्रदर्शन भैरहेको छ ।

तस्वीर : विवेक बस्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?