१८ माघ, काठमाडौं । धनगढीमा शनिबारदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरू भएको छ । गो ड्रिर्मसको आयोजनामा धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरू भएको हो ।
प्रतियोगितामा डडेल्धुराको फेण्ड्स क्लबले विजयी सुरूवात गरेको छ । नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डिसिए धनगढीलाई ८ विकेटले हराउँदै फेण्ड्स क्लब डडेल्धुराले विजयी सुरूवात गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३२ रन बनायो । सुरूवाती विकेट सस्तैमा गुमाएर दबाबमा आएको धनगढीलाई सम्मानजनक योगफलतर्फ पुराउनका लागि अमित श्रेष्ठले सर्वाधिक ३२ रन बनाए ।
निर्धारित ओभर सकिन दुई बल बाँकी रहँदा आउट भएका अमितले ३२ बलको सामना गर्दै एक छक्का प्रहार गरे । सातौ नम्बरमा ब्याटिङ गर्न आएका निरज ऐरले २७ रन र कप्तान नारायण जोशीले १६ रन बनाए । डडेल्धुराका लागि राहुल लुनियाले ३, कुशल भुर्तेल र रवि विष्टले २-२ तथा हेमन्त धामीले १ विकेट लिए ।
धनगढीस्थित फाप्ला मैदानमा १३३ रनको लक्ष्य पछ्याएको डडेल्धुराले १५.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । डडेल्धुराका लागि कुशल भुर्तेलले अर्धशतक बनाउँदै आफ्नो टिमलाई जित दिलाए । ५१ बलको सामना गरेका उनले ८७ रनको अविजित पारी खेले । यस्तै विनोद भण्डारीले ४२ रन बनाए ।
धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले १-१ विकेट लिए । खेलका म्यान अफ द म्याच डडेल्धुराका भुर्तेल भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागिता रहेको छ । दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना हुने प्रतियोगिताको समुह ए मा डिसिए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन् ।
यस्तै समुह बी मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै यस प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतिक्रिया 4