+
+

माया र घृणाको विज्ञान

मानिसका व्यवहारहरू सन्दर्भ अनुसार मात्र सही या गलत भन्न सकिन्छ । यी व्यवहारका कारणहरू के हुन् त ?

डा. विनोद ढकाल डा. विनोद ढकाल
२०८१ माघ २० गते ८:०२

हामी मानिस अचम्मका छौं । मानिसको व्यवहारका जटिलता केलाउने हो भने विचित्र लाग्छ । कहिले कुनै निम्न तहको जनावरको व्यवहार देखाइरहेको हुन्छ, कहिले ईश्वरको रूपमा प्रस्तुत हुन्छ । आफैं प्रकृति हो तर कहिलेकाहीं प्रकृतिलाई पनि चुनौती दिइरहेको छ ।

बुझ्नुपर्ने यो छ कि मानिस पनि जनावर हो । उसलाई खाना खानुपर्छ, चिसो–तातोबाट बच्नुपर्छ, खाएर बढी भएको फाल्नुपर्छ । हाम्रो अघि बाघ आयो भने हामी डराएर भाग्ने गर्छौं (या स्थिर रहन्छौं) जसरी एक हरिण भाग्ने गर्छ । शरीरको आनन्दको विज्ञान उस्तै छ जस्तो एक माछाको छ । उही किसिमका रसायनहरू शरीरबाट निक्लन्छन् जुन एक बाच्छोको शरीरबाट निक्लन्छ । तर कहिलेकाहीं हामी बिर्सन्छौं हामी आफैं पनि जनावर हौं ।

दुई महिलाहरूलाई सँगै राख्ने हो भने केही समयमा उनीहरूको महिनावारी चक्र एकअर्कासँग मिल्छ । उस्तै मुसाहरूमा पनि हुन्छ । दुई मुसाहरूलाई एक स्थानमा राख्ने हो भने उनीहरूको प्रजनन्को चक्र एकअर्कासँग मेल खाएर जान्छ ।

कुनै क्यूट पपी या बच्चालाई देख्ने हो भने हामीमा एक हेरचाहकर्ता या अभिभावकत्व पलाएर आउँछ । कुनै दुर्घटनाको घटनाले सतर्कता ल्याउँछ, कसैको मृत्यु भयो भने तनावको सृजना गर्छ ।

तर केही व्यवहार छन् जो मानिसले मात्र गर्न सक्छ । थोरै कम प्रजातिहरू मात्र प्रजनन्को लागि उपयोगी नभएको यौन गर्छन् । हामी मानिस मात्र हौं जो उक्त यौनको बारेमा छलफल गर्छौं । आफ्नो संस्कृति बनाउँछौं जसकारणले हामीले बनाएका विश्वासहरू शताब्दियौं पछि पनि उही जगमा उभिएर बस्छ ।

भागवत गीताले पूर्वीय समाजको मूल्यमान्यता र विश्वासलाई हजारौं वर्षसम्म जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको छ । बाइबलले मानिसलाई एकअर्कासँग समन्वय र एक पद्धति बनाउन सहयोग गरिरहेको छ । जुन सत्गुणका साथ हामी अर्को मानवलाई हेरचाह या हानि गर्छौं, यी व्यवहारको विज्ञान परस्पर विरोधी भए पनि एकअर्कासँग जेलिएका छन् । एकअर्कासँग सम्बन्ध राख्छन् ।

कुनै व्यवहार देखाउनुअघि शरीरमा के कस्ता परिवर्तन आएका थिए ! एक सेकेन्ड अघि के भएको थियो ? यो स्नायुको विज्ञानले व्याख्या गर्न सक्छ । धेरै क्रियाकलापहरू अवचेतन मनले गराइरहेका हुन्छन् ।

एक सेकेन्ट अघि, एक घण्टा अघि, एक दिन अघि के–कस्ता परिवर्तनहरू शरीरमा आएका थिए ? के कारणले ती नर्भ सेलहरू उत्तेजित हुनपुगे ? कस्ता रसायनहरू स्नायुका क्रियाकलापबाट बने र के कस्ता कार्य गरे ? मानिसको विकासक्रममा भएका के कस्ता परिवर्तनहरू मानिसले सँगालेर राखेको छ ? यसको अध्ययनको विषय रुचिकर छ ।

माया र घृणाको विज्ञान उस्तै छ । हामीले आक्रामक बानीलाई निन्दा गर्ने होइनौं । हामी गलत किसिमका आक्रमणलाई मात्र निन्दा गर्छौं तर सही आक्रमणलाई माया गर्छौं ।

जस्तै एक कोठामा तपाइँले बिरामी बच्चा देख्नुभयो र तपाइँले त्यो बिरामी बच्चालाई कुटिरहेको अर्को मानिस देख्नुभयो ।

त्यो बच्चा कुटिरहेको मानिसलाई कुट्ने मानिसलाई हामी प्रायः सराहना गर्छौं । नराम्रो मानिसलाई कुट्ने र कुनै दुःखीलाई मल्हमपट्टी लगाउने व्यवहार फरक भए पनि सही छन् । दुवै व्यवहारले मानिसको मस्तिष्कको एकै स्थान (प्रि–फ्रन्टल कर्टेक्स)मा क्रियाशीलता ल्याउँछ ।

मानिसका व्यवहारहरू सन्दर्भ अनुसार मात्र सही या गलत भन्न सकिन्छ । यी व्यवहारका कारणहरू के हुन् त ?

कोही हर्माेनका कारणले गरेका हुन् भन्छन् । कोही मानिसको विकाससँग परिवर्तित व्यवहारहरू हुन् भन्छन् । कोही व्यक्तिको बालककालको अनुभवका कारणले हुन्छ भन्छन् । कोही जिन या बाँचेको रहनसहन या संस्कृतिलाई दोश दिन्छन् । यी सबै उत्तरहरू हुन् । सही उत्तरहरू हुन् ।

जे व्यवहार या कारणहरू भए पनि मस्तिष्क नै अन्तिम बाटो हो जहाँबाट यी क्रियाकलापहरूको निर्देशन हुन्छ ।

न्यूरो वैज्ञानिक पौल म्याकलिनले १९६० मा मस्तिष्कको विभाजन गर्नुभएको छ । उहाँको ट्रिउन ब्रेन मोडलका उनुसार मस्तिष्कको तीन क्रियाशील भागहरू छन् भन्नुहुन्छ ।

१. प्राचीन मस्तिष्कको भाग जो मस्तिष्कको तल्लो तहमा उपस्थित छ जुन जनावरहरूमा छेपारोदेखि मानिसको मस्तिष्कसम्म पाइन्छ । यो भागले स्वचालित, नियमित व्यवहारहरू निर्देशन गर्छ । शरीरको तापक्रम घट्यो भने यो स्थान क्रियाशील भएर शरीरको तापक्रम बढाउने कार्य गर्न लाग्छ । जसकारणले प्राणी काम्न थाल्छ । शरीरमा ग्लुकोज घट्न लाग्यो भने भोक लगाउने काम यस मस्तिष्कको केन्द्रले गर्छ । कुनै दुर्घटना भयो भने तनावको स्थिति ल्याउँछ ।

२. दोस्रो तहमा भावनाहरू निर्देशन गर्ने भाग पर्छ । यो भाग म्यामल्सहरूमा विकसित भएको मान्न सकिन्छ । कुनै डरलाग्दो परिस्थिति देखियो भने यो भागले पहिलो केन्द्रलाई निर्देशन दिन्छ र मानिस काम्न लाग्छ । माया नपाएको या डिप्रेसनमा गएको व्यक्तिमा भएको यस केन्द्रले आदेश पायो भने कुनै मिठो खानाको माग गर्छ । यदि तपाईं मुसा हो र बिरालो वरिपरि भएको अनुभव गर्नुभयो भने तनाव ल्याउने यही मस्तिष्कको केन्द्रको काम हो ।

३. तेस्रो भागमा हालसालै विकसित भएको नयाँ मस्तिष्कको केन्द्र नियोकर्टेक्स पर्छ । यो भाग मस्तिष्कको माथिल्लो भागमा टोपी जसरी बसेको छ । विशेषगरी प्राइमेट्सहरू यस मस्तिष्कको केन्द्रबाट आफूलाई निर्देशित गराउँछन् । अनुभूति, स्मरण, संवेदनशीलता, अमूर्तता, चिन्तन र दर्शन यस केन्द्रबाट निर्देशित हुने क्रियाकलाप हुन् ।

कुनै डरलाग्दो कथा पढ्नुस् तेस्रो तहले दोस्रो तहलाई संकेत दिन्छ र तपाईं डराउनुहुन्छ । अनि दोस्रोले पहिलो तहलाई निर्देशन दिएका कारणले तपाईंका रौंहरू ठाडा हुन्छन् । यूट्यूबमा कुनै मिठो खाना देख्नुभयो भने तपाईंको तेस्रो मस्तिष्कको केन्द्रले दोस्रोलाई क्रियाशील गराएर पहिलोबाट मुख रसाउने काम गराउँछ । पूर्णबहादुरले छोरोलाई पढाउन गरेको सङ्घर्ष देखेर तपाईंको आँखाबाट ह्वालह्वालती आँसु आए ।

तर पख्नुस् त्यो त चलचित्र मात्र थियो । तपाईंको वास्तविक जीवनमा घटेको समस्या त थिएन ।

यो सामान्य रूपमा विभाजनका कोही बेफाइदा पनि छन् । जस्तैः मस्तिष्कका भागहरू हेर्ने हो भने यी तीन भागका केही भाग एकअर्कासँग गाभिएका छन् । यो माथिबाट तल आउने संयन्त्र मात्र होइन । यस बाहेकका भिन्न अनुभूति पनि हुन सक्छन् । कोही मानिस चिसोको समयमा भेटिएको छ भने ऊ चिसो मानिसको रूपमा पनि लिइन सक्छ ।

केही बेफाइदा भए पनि यो प्रणाली मस्तिष्कका काम र यसको प्रणालीलाई बुझ्न महत्वपूर्ण छ ।

हामी यी भागलाई भागवत गीताका श्लोकहरूसँग पनि तुलना गर्न सकिन्छ । सबैभन्दा तल हाम्रा ज्ञानेन्द्रियहरू छन् । जसले शरीरका अङ्गहरूबाट आएका संकेतहरूलाई मस्तिष्कसम्म लैजाने काम गर्छ । ती मस्तिष्कमा आएका संकेतहरूलाई मनले लगाम लगाइरहेको हुन्छ । मन माथि बुद्धि छ र बुद्धि माथि आत्मा । यस पाउल म्याकलिनले गरेको विभाजनमा पहिलो भागलाई ज्ञानेन्द्रियहरूको संज्ञा दिन सकिन्छ भने दोस्रो भागलाई मन र तेस्रो भागलाई बुद्धिको संज्ञा दिन सकिन्छ ।

त्यस्तै वैज्ञानिकहरूको माझ एक सामान्य धारणा छ । मानिसको मस्तिष्कका दुई केन्द्रहरू छन्, एक प्राथमिक केन्द्र जो प्राइमरी ब्रेन सेन्टर र दोस्रो सेकेन्डरी ब्रेन सेन्टर भनेर विभाजित छ । प्राइमरी ब्रेन सेन्टर मानिसलाई बाँच्न अभिप्रेरित गर्छ । सेकेन्डरी ब्रेन सेन्टर मानिसका जटिल व्यवहारहरूलाई निर्देशन दिन्छ ।

दोस्रो भाग मस्तिष्कमा भएको लिम्बिक सिस्टमले स्वचालनमा ल्याउँछ । यो केन्द्र भावनाहरूको केन्द्रबिन्दु हो । जसले मानिसको राम्रा र नराम्रा बानीहरूलाई प्रेरणा दिन्छ ।

(डा. ढकाल काठमाडौं विश्वविद्यालय अस्पताल, धुलिखेलका उप–प्राध्यापक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?