
केही दिन पहिले कान्तिपुर टेलिभिजनको समाचारमा रामेछापमा ढिकीजाँतो लोप हुन लागेको छ भनेर चिन्ता व्यक्त गरेको समाचार प्राथमिकताका साथ प्रसारण गरियो । स्थानीय सरकारले यस्तो परम्परा जोगाउन प्रयास नगरेको भनेर त्यही समाचारमा आलोचना समेत गरियो ।
अहिले पहाडतिर पानी घट्ट मासिंदै गएकोमा चिन्ता छ । पहाडमा जग्गा बाँझो हुँदै गएकोमा चिन्ता छ, बस्ती पातलिंदै गएकोमा चिन्ता छ । पहाडमा जनसङ्ख्या घटेकोमा चिन्ता छ, विद्यालयमा विद्यार्थी घटेकोमा चिन्ता छ । पहाडमा युवा बस्न नमानेकोमा चिन्ता छ, पहाडमा बस्न योग्य घर खाली हुँदै गएकोमा चिन्ता छ । चिन्ता थरी–थरीका छन् ।
हामी यस्तो चिन्ता गर्नेहरूमध्ये धेरै जना (लगभग सबै) पहाड छोडेर मधेश र मधेश हुँदै काठमाडौं पुगेर उतै बसेका छौं । मधेशको विरासत भएकाहरूले यस्तो चिन्ता गरेको होइन । पहाड छाड्नेहरूमध्ये धेरैले या त आफ्नै पालामा छाडेको हो या त अघिल्लो पुस्तामा छाडेको हो ।
म आफैं दश वर्षको हुँदा परिवारसँगै पहाड छोडेर मधेश झरेको हुँ । म हाल पूर्वी तराईमा बस्छु । मसँगैका धेरै मानिस काठमाडौं बसाइँ सरेका छन् । मेरो परिवार पहाडबाट झरेर पहिला मोरङको दक्षिणी भेगमा बसेको थियो । त्यहाँ केही वर्ष बसेपछि हाम्रो परिवार अझै सुविधाको खोजीमा भर्खर बनिसकेको पूर्व–पश्चिम राजमार्गको नजिकमा बसाइँ सर्यौं । म र मेरो परिवार ४८ वर्षदेखि झापाको मेचीनगरमा बस्छौं ।
नेपालीले पहाड छाडेर बसाइँ सर्न थालेको इतिहास पुरानै हो । २०२० साल पहिले तराईमा औलोको डरले पहाडका मानिस कामको खोजीमा तराईमा आउन डराउने हुनाले भारतको आसाममा जाने चलन थियो । भुटान, सिक्किम, आसाम र बर्मासम्म पुग्ने गरेको अवस्था थियो । योभन्दा बाहिरका देशमा जाने अवस्था नै थिएन । बाहिरी दुनियाँसँग सर्वसाधारणको पहुँच नै थिएन ।
अमेरिकाको सहयोगमा २०२०–३० मा तराईमा औलो उन्मूलन भएपछि पहाडबाट मानिसको बसाइँसराइ तराईमा तीव्र बन्न पुग्यो । तराईमा बसाइँ सरेका परिवारको जीवन पहाडमा भन्दा राम्रो भएकाले उनीहरू पहाड फर्किएनन् ।
तराईमा पनि पहिला सस्तो खेतीको जग्गा खोज्नेहरू क्रमशः बाटो, स्कूल, अस्पताल, सञ्चार, बजार आदिको सुविधाका लागि आकर्षित हुन थालेपछि दुर्गमबाट सुगम स्थानको खोजी गर्दै बसाइँ सर्न थाले । अलि सुविधा पुगेको ठाउँमा सहज भएपछि मानिसको बसाइँसराइ कम भयो । ती ठाउँमा क्रमशः शहर बन्न थाले ।
मेरो आफ्नै परिवारको कुरा गर्दा मेरा आमाबाबुको पुस्ता पहिलो पटक २००७ सालको राजनीतिक परिवर्तनमा ज्यान जोगाउन भागेर पूर्वी पहाडबाट पूर्वी तराई झरेका थिए । त्यहाँ औलोको प्रकोपको कारण बस्न सक्ने अवस्था थिएन । त्यो समयको करिब एक वर्षको बसाइँमा तीन ठाउँमा बसाइँ सरेको सुनेको छु ।
पहाडमा केही साम्य भएपछि परिवारका केही सदस्य गुमाएर हाम्रो परिवार फेरि पहाड फर्कियो । हाम्रो परिवारको बाबु पुस्ता २०१८/२० सालदेखि नै पहाड–मधेश आउजाउ गर्न थाल्यो । २०२६ सालमा सपरिवार बसाइँ सरेर तराई झरेको मेरो पुस्ता २०३३ सालसम्म सुगम ठाउँ र सुविधायुक्त जीवनको खोजीमा पटक–पटक बसाइँ सरेको छ ।
नयाँ ठाउँमा बसाइँ सरेसँगै बस्नका लागि छाप्रो (घर) बनाउनै पर्यो । २०३३ सालपछि झण्डै पचास वर्षको यो अवधि हामी आजको मेचीनगरको काँकडभिट्टामा नै छौं । हामी दाजुभाइमध्ये एकभाइ बिर्तामोडमा र एकभाइको परिवार काठमाडौंमा छौं ।
सहज, सुविधायुक्त जीवन र अवसरको खोजीमा बसाइँ सर्ने, हिंड्ने यो परम्परा निरन्तर चलिरहेको छ । मेरो बाबु पुस्ताले पहाड नछोडेको भए मैले छोड्थें । मैले नछोडेको भए मेरो छोराछोरी पुस्ताले छोड्थे । त्यसैले मेरो बुबा पुस्ताले पहाड छोडेकोमा मलाई कुनै पछुतो छैन ।
त्यति मात्रै होइन तराई झरेपछि पनि सस्तो खेतीको जग्गा छाडेर राजमार्गको नजिक आएकोमा खुसी छु । मैले र मेरो परिवारले खोजेका सुविधा पाएकाले म लगभग पाँच दशकदेखि मेचीनगरमा छु । तर मेरा सन्तति यहीं बस्छन् भन्ने छैन । केही त देशबाहिर नै पुगिसके ।
अब मैले पहाड रित्तिंदै गएकोमा चिन्ता गर्नु सान्दर्भिक हुन्छ कि हुँदैन ? म त एउटा प्रतिनिधि पात्र मात्र हुँ । म जस्ता धेरैको अवस्था यही हो ।
अब एकछिन चिन्ता भएको विषयमा पसेर हेरौं । पहाडमा ढिकीजाँतो, ओखल, तेल पेल्ने कोल, पेचा, डोको, नाम्लो लोप हुँदै गए, घट्ट मासिए भन्ने विषयमा सोचौं त ! यी साधन लोप भएर त्यहाँको जीवनमा कष्ट थपियो कि सुविधा थपियो ?
त्यहाँ बाटो र बिजुली पुग्यो । पुराना साधनको ठाउँ नयाँ साधनले लियो । पहिले हप्ताभरी, दिनभरी लगाएर र कडा श्रम गरेर हुने काम अब केही घण्टामै हुन थाल्यो । त्यसैले ढिकीजाँतो, ओखल, कोल, घट्ट, ढाकर, तोक्मा नचाहिने भयो ।
यी साधनको अभावमा त्यहाँको जीवनमा कष्ट थपियो भने यी साधनको जगेर्ना गर्नुपर्छ । लोप हुन दिनुहुँदैन तर योभन्दा राम्रा साधनमा मानिसको पहुँच पुग्यो र नयाँ साधनले जीवन सहज बनाएको हो भने किन चिन्ता लिनु पर्यो ? यस्ता साधनलाई सङ्ग्रहालयमा सुरक्षित गरेर नयाँ पुस्तालाई जानकारी मात्रै गराए पुग्छ ।
खेती बाँझियो, घर खाली भए, विद्यालयमा विद्यार्थी भएनन् भन्ने सन्दर्भमा सोचौं त ! के पहाडका भीरपाखाको खेती बाँझिएर त्यहाँ अनिकाल वा भोकमरीको समस्या छ ? बस्न योग्य घर खाली भएकाले त्यहाँ बस्ने मानिस ओडारतिर बस्न बाध्य भएका हुन् र ? विद्यालयमा विद्यार्थी घटे भन्दा के त्यहाँका बालबालिका स्कुल जान छाडेका हुन् र ?
जसको खेतबारी बाँझै छ तिनले त्यो खेतबारीमा बगाउने पसिना, गर्ने श्रम जति हो त्यति वा त्योभन्दा कम श्रम गरेर त्यहाँबाट उत्पादन हुनेभन्दा बढी अन्न, खाद्यान्न सहजै किन्न सक्ने अवस्था बनेकाले छाडेको हो । जसका बस्न योग्य घर खाली छन् तिनले त्योभन्दा सुविधायुक्त घरमा बसाइँ सरेकाले वा बस्ने अवस्था भएकाले ती घर खाली भएका हुन् ।
जसको खेत बाँझै भयो, जसको घर खाली भयो गाउँमा तिनको भन्दा कम पहुँच भएका मानिसले त्यहाँ बस्न र खनजोत गर्न पाएका छन् । जब गाउँमा सबैको हैसियत र पहुँचमा विस्तार हुँदै गयो तब खेतबारी बाँझिन थाले, बस्न योग्य घर खाली हुन थाले ।
विद्यालयमा विद्यार्थी घटेको भन्ने कुरा छ त्यो स्वाभाविक हो । पहिला छोराछोरी स्कुल पठाउने चलन नै थिएन । विकासले गाउँमा स्कुल पुग्यो, चेतनाले छोराछोरी विद्यालय पठाउने अवस्था बन्यो । तर स्कुल पुग्न साना–साना नानीहरूलाई एकघण्टा भन्दा बढी उकालो–ओरालो हिंडेर आउजाउ गर्नुपर्ने अवस्था धेरै ठाउँमा छ ।
अनि अभिभावकको अवस्थामा अलिकति सुधार आउँदा उनीहरूले अलि राम्रा र सुगम स्थानमा लगेर छोराछोरी पढाउन थालेका छन् । यो विकासले ल्याएको परिवर्तन हो । विद्यालय जाने उमेरका नानीबाबुहरू स्कूल नगएर पहाडका स्कूलमा विद्यार्थी घटेको होइन ।
पहाडमा युवा छैनन्, बस्नै मान्दैनन् भन्ने सन्दर्भमा युवाले भोगेको अवस्था जुन छ त्योभन्दा राम्रो अवसरका लागि पहाडका गाउँ छाडेका हुन् । कोही देशमा छन् कोही विदेशमा । उनीहरूको कमाइ गाउँकोभन्दा बढेको छ । जीवनस्तर उकासिएको छ । शिक्षा, स्वास्थ्य, सञ्चार, आवास, खाद्यान्न आदिमा पहुँच बढेको छ ।
अब पहाडको विकासको मोडल फेरिनुपर्छ । पुरानो अवस्था फेरिंदै गएको छ र यो फेरिंदै गएको अवस्थाले त्यहाँ जीवन भोगेकाहरूको भन्दा राम्रो जीवन भोग्ने अवसर पाएकाहरूले नै पहाड छोडेका छन् ।
मेरो पुस्ता (६० वर्ष माथिको) का कति मानिस पहाडमा छन् ? जसको जीवनले आर्जेको, भोगेको, सिर्जना गरेको धेरै कुरा पहाडमा थियो र छ । त्यो पुस्तालाई आफ्नो आर्जन र थातथलोको माया छ । त्यहींको धेरथोर आर्जनले छोराछोरीको शिक्षा र भविष्य कोरियो । चिनेजानेका छिमेकी र आफन्तहरू केही छन् । उनीहरू सहजै ठाउँ छाड्न त मान्दैनन् तर पनि यो मेरो पुस्ताका सरदर ३०/३५ प्रतिशत मानिस पहाडमा होलान् ।
तिनका सन्तान जो आधुनिक शिक्षा शहरमा बसेर लिन पाए, प्रविधिमा धेरथोर पहुँच राख्न पाए । विदेशको सम्भावना देखे त्यो पुस्ता (२०–४०) उमेरका सरदरमा दश–पन्ध्र प्रतिशत होलान् । अर्को बीस–तीस वर्षमा यो पुस्ता बुढ्यौलीमा पुग्छ र नयाँ पुस्ता आउँछ । जुन पुस्ता फर्केर पहाडमा जाने सम्भावना कति प्रतिशतको होला ? यो अनुमान गर्दा पहाड खाली हुनु स्वाभाविक लाग्छ ।
अब पहाडको विकास कसरी गर्ने त्यो सोचौं । पहाडको विकास साविककै मोडलमा हुँदैन । निर्वाहका लागि पहाडमा खाद्यान्नको खेती गर्न सहज छैन । त्यसैले पहाडमा सम्भावना भएको स्थानमा बजारको विकास भइरहेको छ र हुन सक्छ ।
त्यो शहरलाई चाहिने उपभोग्य समान जता सस्तो पाइन्छ त्यतैबाट किनेर आपूर्ति गर्ने हो । शहर नजिकका गाउँबस्तीमा तरकारी, फलफूल र पशुपालनको व्यवसाय लामो समय चलिरहन्छ । पहाडमा उच्चमूल्यका कृषि उपज जडीबुटी, अलैंची, चिया, काठ, कफी, जुनार, सुुन्तला, किवी, ओखर लगायत फलफूल, मौरीपालन आदि गर्न सकिन्छ ।
त्यसैगरी हाइड्रो पर्यटक, साहसिक पर्यटकको सम्भावना विकास गर्न सकिन्छ । धार्मिक पर्यटनको सम्भावना छँदैछ । पहाडमा फैलँदै गरेको जङ्गल, झाडी र त्यहाँ हुने जङ्गली जनावर, चरा आदिको अवलोकन गर्ने, गराउने गरिका पूर्वाधार विकास गरेर पर्यटक आकर्षण गर्न सकिन्छ । नजिकबाट देखिने हिमाल, पहाड, झरना, खोला पर्यटक लोभ्याउने विषय हुन्छन् ।
यस्तै सुरक्षित पदमार्ग निर्माण गर्न सकिन्छ । यी र यस्ता विषयले फेरि पहाडले पुनर्जीवन प्राप्त गर्न सक्छ । तर मोडल फरक हुन्छ । पहिला जस्तो छरिएको गाउँबस्ती, पातला घर, निर्वाहका लागि खेती होइन । अब ठाउँ–ठाउँमा शहर, बजार र यस्ता स्थानमा सहज यातायात, सञ्चार, होटल, स्कूल, अस्पताल, बिजुली आदि ।
अर्थात् दिगो र भरपर्दाे पूर्वाधार सहितको शहरीकरणको विकास अबको पहाडको विकासको मोडल हुनुपर्छ । अबको ४०/५० वर्षमा पहाडको कुन–कुन शहरलाई बेस बनाएर कति दिन घुम्ने, छुट्टी मनाउने भनेर देश र विदेशमा भएका नेपाली एवम् विदेशीले कार्यक्रम बनाउने वातावरण बनाउँ पहाडको विकासमा नयाँ आयाम आउने छ ।
पहाडको कठिन श्रम, खाद्यान्नको न्यून उत्पादन, अभावको जीवन, सुविधा र पूर्वाधारको अभाव आदि कारणले पहाडमा जीवन पातलिंदै गएको हो । यसलाई विकासको स्वाभाविक आयाम मानौं, चिन्ता होइन ।
प्रतिक्रिया 4