२० माघ, काठमाडौं । साविक विजेता एपीएफ विरुद्ध पुनरागमन जित निकाल्दै आयोजक टाइगर ग्रुपले पाँचौ टाइगर कप भलिबलको महिलातर्फको उपाधि जितेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा टाइगर ग्रुपले एपीएफलाई ३-२ को सेटमा पराजित गरेको हो ।
यो जितसँगै टाइगर ग्रुपले पहिलो क्वालिफायरमा व्यहोरेको हारको बदला समेत लिएको छ । क्वालिफायरमा एपीएफले टाइगर ग्रुपलाई ३-१ को सेटमा हराउँदै फाइनल पुगेको थियो । फाइनलसम्म अपराजित एपीएफले अन्तिम खेलमा पराजित हुँदा उपाधि रक्षा गर्न सकेन ।
टाइगर ग्रुपले खेलमा दुई पटक पछि परेको स्थिती उल्टाउदै पुनरागमन जित निकालेको हो ।
पहिलो सेटम एपीएफले २५-१७ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो । दोस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्यो । जहाँ टाइगर ग्रुपले टाई ब्रेकमा २९-२७ ले सेट आफ्नो पक्षमा पार्दै खेल बराबरी गर्यो । तेस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै एपीएफले फेरि अग्रता लियो । तर चौथो सेटमा टाइगर ग्रुपले पुनरागमन गर्दै २५-१६ ले सेट आफ्नो पक्षमा पार्दै खेल पाँचौ सेटसम्म लम्ब्यायो । पाँचौ सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । तर घरेलु समर्थकको साथ पाएको टाइगर ग्रुपले पाँचौ सेट १५-१२ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।
आयोजकले आफ्नो छुट्टै टोली बनाएर खेलेको यो पहिलो पटक हो र आयोजक टोलीले पहिलो पटकमै उपाधि जितेको हो । च्याम्पियन टाइगर ग्रुपले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ । फाइनलमा पराजित भएको एपिएफले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।
पुरुषतर्फ आजै नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया 4