+

‘महिनावारी सुकेको अवस्थामा पनि आईभीएफबाट बच्चा जन्माउन सकिन्छ’

२०८१ माघ  २० गते १६:१० २०८१ माघ २० गते १६:१०

निःसन्तानपनको समस्या भएका २५ देखि ३० वर्ष उमेर समूहका महिलाले आफ्नो अण्डा र श्रीमानको शुक्रकीट निषेचन गरी पाठेघरमा रुपान्तरण गरी आईभीएफमार्फत गर्भधारण गर्न सक्नेछन् ।

‘महिनावारी सुकेको अवस्थामा पनि आईभीएफबाट बच्चा जन्माउन सकिन्छ’

कुन उमेरसम्म एउटी महिला सन्तान जन्माउन योग्य हुन्छिन् ? उमेर ढल्किसकेपछि गर्भधान गर्न सम्भव हुन्छ ? के कारणले पटक-पटक गर्भपात हुन्छ ? यदि प्राकृतिक रुपमा गर्भधान गर्न नसके के-कस्ता विकल्प अपनाउन सकिन्छ ? यावत् प्रश्न अहिले धेरै दम्पतीमा हुनसक्छ । किनभने अहिले निःसन्तानपनको समस्या बढ्दो छ । यसले उनीहरुलाई मानसिक तनाव मात्र दिएको छैन कतिपय अवस्थामा त कलहको निहुँ पनि बनेको छ ।

यसै सन्दर्भमा बारम्बार गर्भपात हुने समस्या, आईभीएफ प्रक्रियाको आवश्यकता, तयारी र सफलताको सम्भावनाबारे विस्तृत रुपमा वात्सल्य आईभीएफ सेन्टरकी निःसन्तानपन तथा स्त्रीरोग विशेषज्ञ डा. उपमा बस्नेतसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीको सम्पादित अंशः

मानौँ महिलाको उमेर धेरै छ । त्यसमाथि पटक–पटक गर्भपात पनि भएको छ । यस्तो अवस्थामा उनले सन्तान जन्माउन सम्भव हुन्छ ?

उमेर बढ्ने क्रममा महिलामा भएको अण्डा घट्दै जान्छ । यस्तोमा उमेर पनि बढ्दै गइरहेको छ, त्यसमाथि बारम्बार गर्भपात भइरहेको छ भने कतै भ्रूणमा समस्या हो कि भन्ने हिसाबले आईभीएफ प्रक्रियामा जानु एउटा राम्रो विकल्प हुनसक्छ । किनभने आईभीएफ प्रक्रियासँगै ‘पीजीटीए’ परीक्षण गरी भ्रूणलाई राम्रो बनाएर पाठेघरमा हाल्दिँदा बच्चामा समस्या नदेखिने र गर्भपात हुने सम्भावना न्यून हुने पाएका छौँ ।

पटक–पटक गर्भपात भइरहनुको कारण के हो ?

गर्भपात हुनुको प्रमुख कारण भनेको भ्रूणमा समस्या, थायराइड प्रोल्याकटिन हर्मोनमा समस्या, बुबा वा आमाको क्रोमोजोममा समस्या, रगत बाक्लो भएमा, बाथ रोग, जन्मजातमा समस्या भएमा गर्भपात हुन्छ । गर्भपात भइरहेको अवस्था र अन्य कारणले सन्तान भइरहेको छैन भने आईभीएफ एउटा राम्रो विकल्प हुनसक्छ ।

गर्भपातबाहेक अन्य कस्तो अवस्थामा आईभीएफ गर्न सकिन्छ ?

बच्चा गर्भमा रहन र स्वस्थ भएर जन्मिन स्वस्थ अण्डामा निषेचन भएको हुनुपर्छ । यस्तोमा महिलाको अण्डा पाठेघरमा न्यून, कमजोर वा जन्मजात नै अण्डामा खराबी भएमा आईभीएफ गर्न सकिन्छ ।

त्यस्तै, महिलामा ‘पोल्सिटेटिक ओभरी सिन्ड्रोम’भएमा पनि आईभीएफ गर्नु उपयुक्त हुन्छ । यो यस्तो अवस्था हो, जसमा महिलासँग अण्डा प्रशस्त भए पनि अण्डाको गुणस्तर कम हुन्छ । अर्को, महिलामा वंशाणुगत समस्या र बच्चा नबस्ने कारण नै पत्ता नलाग्ने केही अवस्थामा पनि आईभीएफ गर्न सकिन्छ ।

त्यस्तै, पुरुषको हकमा जन्मजात समस्या, शुक्रकीटको मात्रा न्यून छ । शुक्रकीटको गुणस्तर कम हुने वा शुक्रकीट शून्य अवस्था, अण्डाशयमा भेरिकोसिल भएमा पनि आईभीएफको साहारा लिनु उपयुक्त हुन्छ।

निःसन्तानको समस्या भोगिरहेका दम्पती आईभीएफ उपचार केन्द्रमा पुग्दा गर्भ रहने प्राकृतिक सम्भावना नहेरी आईभीएफ नै गरिदिन्छन् भन्ने भाष्य पनि छ, नि ?

यस्तो भ्रम फैलिएको मैले पनि पाएको छु । जुन गलत हो । निःसन्तानपनको समस्याले आईभीएफ उपचार केन्द्रमा पुगेका दम्पतीलाई सिधै आईभीएफ गरौँ भनेर कदापी भनिँदैन ।

बरु, पहिला दम्पतीमा महिलाको अण्डाको भण्डारण र पाठेघरको अवस्था परीक्षण गरिन्छ । सबै ठिक छ भने पुरुषमा समस्या छ की भनेर शुक्रकीटको अवस्था वा कुनै अन्य समस्या छ कि भनेर हेर्ने गरिन्छ ।

परीक्षण गर्दा कुनै समस्या देखिएन भने एकपटक प्राकृतिक रुपमा नै प्रयास गर्न लगाइन्छ । यदि परीक्षणमा शुक्रकीट कम भएमा, भएका शुक्रकीटको चाल अनुकूल छैन, शारीरिक सम्बन्ध राख्दा पीडा हुने, विज्ञानले नै पत्ता लगाउन नसक्ने खालको बाँझोपन भएमा, महिलामा इन्डोमेटिरियोसिस, पोल्सिटेटिक ओभरी सिन्ड्रोम वा पाठेघरको मुख साँघुरो भएमा इन्ट्रायुटेरिन इनसेमिनेशन (आईयूआई) प्रविधिबाट उपचार गरिन्छ । जसमा पहिला शुक्रकीटलाई सफा गरी सिधै पाठेघरमा राख्ने गरिन्छ ।

यति गर्दा पनि बच्चा बसेन भने मात्र आईभीएफ उपचार गर्न सुझाउने गरिन्छ ।

आईभीएफ प्रक्रियामा जानुभन्दा अघि के-कस्तो तयारी गर्नुपर्छ ?

आईभीएफ गर्ने अवस्था आयो भने सो प्रक्रियामा जानुभन्दा अघि रगत परीक्षण गरिन्छ। जसलाई ‘एन्टीमोल्युुरियन’ परीक्षण भन्ने गरिन्छ । यो परीक्षणले अण्डाको भण्डारको अवस्था देखाउँछ ।

साथै, थायराइड, भिटामिन डीको अवस्था हेरिन्छ । त्यसपछि महिनावारी भएको दोस्रो वा तेस्रो दिनमा अल्ट्रासाउण्ड गरी अण्डा, पाठेघर र गर्भनलीको अवस्था हेरिन्छ । पुरुषको कारणले हो भने शुक्रकीटको परीक्षण गरिन्छ ।

आईभीएफ प्रक्रियामा जाँदा शारीरिक र मानसिक रुपमा कत्तिको तयारी आवश्यक पर्छ ?

आईभीएफ प्रक्रियामा जाँदा दम्पती शारीरिक र मानसिक रुपमा फिट हुन आवश्यक छ । किनकी, तनावको स्तर बढिरहेको अवस्थामा पनि प्रजननमा असर गर्छ । त्यसैले, व्यायाम, योग गर्ने, नकारात्मक भावना सकेसम्म आउन नदिने, पौष्टिक आहारको प्लान गर्ने, दैनिक पर्याप्त पानी खाने, तनावमुक्त रहने, तौल नियन्त्रण गर्ने जस्तो कुरामा ध्यान दिन जरुरी छ।

त्यसैगरी मदिरा सेवन र धूम्रपान गर्ने बानी भए छाड्ने, थायराइड, मधुमेह र उच्चरक्तचाप भएमा त्यसलाई नियन्त्रण गरेर मात्र उपचार प्रक्रिया अघि बढाइन्छ । चिकित्सकले अवस्था हेरेर सिफारिस गरेको फोलिक एसिड र भिटामिन पनि खानुपर्छ । यसले अण्डा र शुक्रकीट दुवैको गुणस्तर सुधार्न मद्दत गर्छ । भ्रूण पाठेघरमा राख्नुभन्दा अघि गर्भनली वा गर्भाशयमै मासु पलाएको वा नलीमा पानी जमेको छ कि भनेर पनि हेर्ने गरिन्छ ।

आईभीएफ प्रक्रियामा जाँदा दम्पती शारीरिक र मानसिक रुपमा फिट हुन आवश्यक छ ।

आईभीएफ उपचार प्रक्रिया कस्तो हुन्छ ? कति समय लाग्छ ?

यो प्रक्रिया एकदेखि साढे एक महिना लाग्छ । यो प्रक्रियामा महिलालाई सुई दिएर अण्डालाई ठूलो बनाइन्छ । किनकी त्यो अण्डाको सीमित आकार भएपछि बाहिर निकालेर शुक्रकीट लिएर भ्रूण बनाइन्छ । अर्को महिनावारी भएको दोस्रो वा तेस्रो दिन पाठेघरलाई बच्चा बसाउनका लागि तयार गर्न औषधि दिइन्छ । पाठेघर तयार पारेपछि भ्रूण राखिन्छ ।

यो प्रक्रिया सहज र प्रभावकारी छ ?

आईभीएफ प्रक्रिया सहज र सरल नै छ । किनकी यो प्रक्रियाले कुनै ठूलो जटिलता आएको देखिएको छैन। यो उपचारमा धैर्यता आवश्यक छ । किनकी, कति दम्पतीले पहिलो प्रयासमै सफलता पाएका हुँदैनन् । कतिको सफल हुन्छ । पहिलोपटक सफल भएन भने अर्को पटक नहुने भन्ने हुँदैन । यसलाई अझै सहज गर्न परिवार र श्रीमानको भूमिका हुन्छ । साथै, शारीरिक र मानसिक रुपमा तयार हुनुपर्छ ।

आईभीएफ उपचारको सफलताको दर कति छ ?

अहिलेसम्मको अन्तर्राष्ट्रिय तथ्यांक हेर्ने हो भने आईभीएफ उपचारको सफलताको दर ३५ देखि ४० प्रतिशत देखिएको छ । नेपालमा दुईवटा भ्रूण रुपान्तरणको सफलताको दर ६० देखि ७० प्रतिशतसम्म देखिन्छ ।

आईभीएफको उपचार कुन उमेरसम्म गर्न सकिन्छ ?

आईभीएफको उपचारका लागि कुनै उमेर हद छैन । पाठेघर स्वस्थ रहेसम्म यो उपचार प्रक्रिया गर्न सम्भव छ । जसकारण ५० देखि ५२ वर्षको उमेरमा पनि आमा बनेका धेरै केस छ । तर, यो उमेर वा सोभन्दा बढी उमेर हुँदा पाठेघरको मात्र नभएर स्वास्थ्य सम्बन्धि अन्य समस्या जस्तै, मधुमेह, उच्चरक्तचापका साथै अन्य जटिलता देखिने भएकोले सकेसम्म त्यो उमेरभन्दा अघि नै उपचार गर्नु उपयुक्त हुन्छ । जति कम उमेर भयो त्यति सफल हुने सम्भावना पनि बढी हुन्छ ।

महिनावारी सुकेको अवस्थामा कसरी गर्भ रहन सम्भव छ ?

महिनावारी सुकेको अवस्थामा पनि आईभीएफबाट बच्चा जन्माउन सकिन्छ । उनीहरुमा अण्डाको मात्रा न्यून हुनुको साथै कमजोर पनि हुन्छ । यस्तोमा २५ देखि ३० वर्षको उमेरको महिलाको अण्डा लिएर श्रीमानको शुक्रकीट निषेचन गरी पाठेघरमा रुपान्तरण गरी गर्भधारण गर्न सकिन्छ ।

३५ वर्ष वा सोभन्दा बढी उमेरमा बच्चा जन्माउन चाहेमा आईभीएफजस्ता विधि एउटा विकल्प हुनसक्छ ।

नेपाल तथा विदेशका कतिपय सेलिब्रिटी ढिला उमेरमा आमा बनेका छन् । यो देखासिकी गरेर पनि महिलाहरूले सन्तानको योजना पछि गरौँला भन्दा–भन्दै धेरै ढिला भइसकेको अवस्था पनि छ । उहाँहरूलाई के भन्न चाहनुहुन्छ ?

कतिपय प्रसिद्ध अभिनेत्रीहरुले करिअरलाई प्राथमिकता दिई ४०–४५ वर्ष उमेर कटेपछि सन्तान जन्माउने गरेको पनि हामी देख्छौँ । उनीहरूले आईभीएफ वा आफ्नो अण्डा भण्डारण गर्ने विधि रोजेका हुन्छन्।

उनीहरुबाट प्रेरणा लिएर सन्तान जुनसुकै समयमा जन्माउन सकिन्छ भनेर ३५ वर्षमाथिको उमेरमा बच्चा जन्माउने सोच बनाएकाहरु पनि धेरै देखिन्छन् । उनीहरूले के–कस्ता विधि अपनाएर गर्भवती भएका छन् भन्ने जानकारी नभई यस्तो उदारहण हेरे ढुक्कसँग बस्नु हुँदैन ।

सम्भव भएसम्म महिलाहरुले ३५ वर्षअगाडि नै सन्तानको योजना बनाउनु उपयुक्त हुन्छ । ३५ वर्ष वा सोभन्दा बढी उमेरमा बच्चा जन्माउन चाहेमा आईभीएफजस्ता विधि एउटा विकल्प हुनसक्छ ।

दम्पतीले गर्भ योजना बनाउनुअघि शारीरिक रुपमा फिट रहन के गर्ने ?

—गर्भधारणको योजना बनाउनुुपूर्व मधुमेह, थायराइड र उच्चरक्तचापको परीक्षण गर्ने ।
—तौल नियन्त्रण गर्ने ।
—गर्भ योजना बनाउनु तीन महिना अघिबाट फोलिक एसिड खाने ।
—रुबेला, हेपाटाइिटिसको खोप लगाउने ।
—मदिरा र धूम्रपानबाट टाढा रहने ।
—यौनसम्बन्ध कायम राखिरहेको एकवर्षसम्म पनि सन्तान भइरहेको छैन भने निःसन्तानपनरोग विशेषज्ञलाई भेटेर परामर्श लिनु उपयुक्त हुन्छ ।

हेर्नुहोस् भिडियो

 

आईभीएफ नि:सन्तानपन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय