
काठमाडौं । क्यानडाको लिबरल पार्टीकी भारतीय मूलकी नेतृ रुबी ढल्लाले पार्टी नेतृत्वको दौडमा भाग लिने र क्यानडाको सम्भावित प्रधानमन्त्री बन्ने घोषणा गरेकी छिन् ।
क्यानडामा बसोबास गर्ने पञ्जाबको आप्रवासी परिवारमा जन्मिएकी ढल्ला पहिलो पटक सन् २००४ मा हाउस अफ कमन्समा निर्वाचित भएकी थिइन् । त्यसको केही समयअघि मात्रै उनको पहिलो र एक मात्र फिल्म रिलिज भएको थियो ।
५० वर्षीया ढल्लाले दुई दशकअघि हिन्दी भाषाको फिल्म ‘क्योँ ? किस लिए ?’मा अभिनय गरेकी थिइन् । बलिउड प्रेरित यो हिन्दी भाषाको फिल्म कम बजेटमा छायांकन गरिएको थियो । विनोद तलवार निर्देशित यो फिल्म ह्यामिल्टन सिरियल किलर सुखविन्दर ढिल्लनको वास्तविक जीवनमा भएको हत्याको मुद्दामा आधारित छ ।
सन् २००३ मा रिलिज भएको फिल्ममा रुबीले प्रहरी अफिसरको भूमिका निर्वाह गरेकी थिइन् । सन् २००४ मा, उनी क्यानडाको हाउस अफ कमन्समा ब्राम्पटन, स्प्रिंगडेलबाट सांसदको रूपमा निर्वाचित भइन् । उनी सन् २०११ सम्म उक्त पदमा रहेकी थिइन् ।
फिल्मको प्रचार सामग्रीमा आफूहरूलाई भ्रामकरुपमा चित्रण गरिएको भन्दै भारतीय मूलका राजनीतिज्ञले फिल्मको डीभिडी रिलिज रोक्न खोजेका थिए । तर, फिल्म निर्माताले उनको आरोप अस्वीकार गरेका छन् ।
रुबी ढल्ला कन्जरभेटिभ नीना ग्रेवालसँगै क्यानडाको संसदमा निर्वाचित हुने भारतीय मूलकी पहिलो महिला हुन् । उनी २००६ र २००८ मा हाउस अफ कमन्समा पुनः निर्वाचित भइन्, तर २०११ मा पराजित भइन् ।
आफ्नो राजनीतिक महत्वाकांक्षा पछ्याउँदै, उनी मोडेल र होटल व्यवसायी पनि बनेकी थिइन् । उनी सन् १९९३ मा मिस इन्डिया क्यानडा प्रतियोगितामा रनरअप भइन् ।
प्रतिक्रिया 4