
२० माघ, विराटनगर । जिल्ला अदालत मोरङले धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।
तीन दिनको बयान र आइतबार भएको थुनछेक बहसपछि सहकारीको रकम अपचलन मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
आदेशपछि उनी कारागार चलान भएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
उमागौरी सहकारी ठगी प्रकरणका मुख्य आरोपी रौनियार हुन् ।
उनकै सक्रियतामा स्थापना भएको यो सहकारीको रकम अपचलन मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि प्रतिवादी छन् ।
अध्यक्ष रौनियार र सांसद पत्नी कोइरालासहित यो मुद्दामा २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते सहकारीको रकम अपचलन मुद्दा दायर भएको थियो ।
२८ मंसिरमा जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक तथा धनपालथानका पूर्ववडाध्यक्ष रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
२६ जनासँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी छ ।
प्रतिक्रिया 4