+

गोदावरीमा अन्तर विद्यालय सेभेन ए साइड फुटबलको तयारी पूरा

२०८१ माघ  २० गते २०:३० २०८१ माघ २० गते २०:३०
गोदावरीमा अन्तर विद्यालय सेभेन ए साइड फुटबलको तयारी पूरा

२० माघ, काठमाडौं । दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक श्री ज्ञान कुण्ड युवा क्लबको आयोजनामा मंगलबारदेखि सुरू हुने प्रतियोगितामा नगरपालिका भित्रका १७ वटा विद्यालयले प्रतिस्पर्धा गर्दै छन् ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी गराउँदै टाइसिट पनि ड्र गरिएको थियो । १७ टिमलाई ४ वटा समूहमा विभाजन गरिएको छ । समूह बीमा ५ टिम रहँदा अन्य तीन समूहमा भने चार चार टिम रहेका छन् ।

समूह ए मा इन्द्रेणी स्कुल, टिका भैरव बोर्डिङ स्कुल, एभरेष्ट स्कुल, सूर्य शिक्षा सदन स्कुल छन् भने समूह बी मा नेवा स्कुल, बशिष्ठ स्कुल, श्री बुद्ध स्कुल टिकाभैरव, सरस्वती स्कुल र सांग्रीला स्कुल छन् ।

त्यस्तै समूह सी मा बज्र एकेडेमी, रिदभान स्कुल, अमरकान्ती स्कुल र बाल अंकुर स्कुल छन्, समूह डी मा लिटिल स्टार स्कुल, भीमसेन स्कुल, गंगाजमुना स्कुल र बुद्ध स्कुल बाँडेगाउँ रहेका छन् ।

लिग कम नकआउट प्रतिस्पर्धामा हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्ने आज आयोजित पत्रकार सम्मेलनमा ज्ञानकुण्ड युवा क्लबका कार्यवाहक अध्यक्ष एवं प्रतियोगिता संयोजक निकेश श्रेष्ठले बताए ।

नगरपालिकाभित्रका विद्यालयहरूमा खेलकुदको विकासका लागि क्लबले प्रतियोगिता आयोजना गरेको संकटा क्लबका पूर्व खेलाडी समेत रहेका दीपक श्रेष्ठले जानकारी दिए ।

यसैगरी गोदावरी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष मिलन सिलवालले नगरपालिकाले खेलकुद पूर्वाधारका लागि काम गरिरहेको जानकारी गराउँदै युवा र खेलकुदको क्षेत्रमा काम गर्न आफूहरू सधैं तयार रहेको प्रतिबद्धता जनाए ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् भने उपविजेताले २५ हजार नगद पाउने छ । यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता, र उदयीमान खेलाडीले जनही ५ हजार पाउने छन् ।

प्रतियोगिताका सबै खेल विनायक स्पोर्टस एकेडेमी ढोलाहिटीमा हुने छ ।

सेभेन ए साइड फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय