
२१ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक गई वसन्त श्रवण गरेका छन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरे । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त श्रवण गरेका हुन् ।
वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने चलन छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ ।
राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरेको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए ।
सोही अवसरमा सरकारका उच्च अधिकृतका साथै सुरक्षा अङ्गका प्रमुख पनि सहभागी थिए । वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजाआराधना गर्ने गरिन्छ ।
प्रतिक्रिया 4