
२१ माघ, काभ्रे । काभ्रेमा रोशी खोला क्षेत्रको सिमाना छुट्याउने काम जारी छ । हालसम्म पनौती नगरपालिका–१२ मा पर्ने बैरामहादेवदेखि त्रिवेणीघाटसम्मको ९ किलोमिटर क्षेत्रमा सिमांकनको काम सकिएको छ । व्यक्ति र सार्वजनिक जग्गाका कित्ता पुनःस्थापना गर्न भने अझै तीन महिना लाग्न सक्ने अनुमान छ ।
गत असोज महिनामा आएको बाढीपहिरोले जग्गाको साँधसिमाना मेटिएको थियो । त्यसैले खोला क्षेत्र, व्यक्ति र सार्वजनिक जग्गाको सिमाना छुट्याउन लागिएको हो । यो काममा पनौती नगरपालिका, नापी कार्यालय तथा भूमि व्यवस्थापन तथा प्रशिक्षण केन्द्रका कर्मचारीहरु खटिएका छन् ।
टोलीले पनौती नगरपालिका– १२ रोशी खोला भुमेडाँडा क्षेत्रमा खोला र जग्गाको कित्ता पुनःस्थापना गर्ने कामलाई तीव्रता दिइरहेको पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले जानकारी दिए । ‘पनौती नगरपालिकाले नागरिकहरुको खण्डहर परेको जमिनको साँध सिमाना एकिन गर्नुका साथै खोलाको बहाव सही स्थानबाट पठाउने उद्देश्यले सिमांकन गर्ने काम गरिरहेका छौं,’ नगरप्रमुख भण्डारीले भने ।
उनका अनुसार खोलाको सिमाना छुट्याउने काम लगभग सकिएको छ र नागरिकहरुको वगरणमा परिणत भएको जग्गाको कित्ता पुनःस्थापना शुरु भएको छ ।
यसअघि नगरपालिकाले जग्गाको सिमाना मेटिएका व्यक्तिहरुलाई निवेदन दिन आह्वान गरेको थियो । सो आह्वान अनुसार ३ सयभन्दा धेरै व्यक्तिले निवेदन दिएका पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताए ।
ढुंगा, गिट्टी र बालुवा थुप्रिँदा खोलाको सतह उठेकाले गेगर नझिकी अन्य कित्ता छुट्याउन समस्या देखिएको नापी कार्यालय काभ्रेका प्रमुख नापी अधिकृत अशोककुमार भुषालले बताए ।
नापजाँचमा नापी कार्यालय काभ्रेबाट इन्जिनियर नापी अधिकृत गृष्म प्रधान, इन्जिनियर नापी अधिकृत मदन खत्री, अमिन संगिता बस्नेत र अमिन राकेश मानन्धर, भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रबाट प्रशिक्षक विज्ञान बञ्जारा सहितको टोली सहभागी छ । यस्तै पनौती नगरपालिकाबाट अधिकृत ईश्वर कार्की सहितको टोली सहभागी छ ।
पनौती नगरपालिकाले उक्त क्षेत्रमा खटिएका १० जनाको जनशक्तिलाई खाने बस्ने लगायतका आवश्यक व्यवस्थापनमा सहयोग गरिरहेको छ । आवश्यक यन्त्र भाडामा लिएर शुरु गरिएको नाप जाँचमा स्थानीयहरुले समेत सहयोग गरेका छन् ।
गत असोजमा अविरल वर्षासँगै आएको बाढी पहिरोले काभ्रेको पनौती नगर क्षेत्रमा मात्रै १८ जनाको मृत्यु भएको थियो । ५८६ घर पूर्ण र ९४४ घर आंशिक रुपमा क्षतिग्रस्त भएका थिए । उक्त क्षेत्रमा ११ हजार ६३७ रोपनी बराबरको खेतबारीमा पनि क्षति पुगेको नगरपालिकाले जनाएको छ ।
सम्पत्ति करमा शतप्रतिशत छुट
नगरपालिकाले बाढी पहिरो प्रभावित पनौती नगर क्षेत्रमा सम्पत्ति कर शतप्रतिशत छुट दिने निर्णय गरेको छ ।
पनौतीको वडा नं. १ मानेदोभान र न्यूरेखोला क्षेत्र, वडा नं. २ को साविक कुशादेवी गा.वि.स. वडा नं.५ र ६ का सबै क्षेत्र, वडा नं. ८ को बगर क्षेत्र, वडा नं. १० को सलान्दु र रोशी खोला किनार क्षेत्र, वडा नं. ११ को ख्याक थुम्की, डाँडागाउँ, नेपाने क्षेत्र, वडा न १२ को पूरै क्षेत्रमा कर छुट गरिएको हो ।
आर्थिक वर्ष २०८१/०८२ सम्मको अन्य सम्पूर्ण कर राजस्व भुक्तान गरिसकेकाले यो सुविधा पाउने नगरपालिकाले जनाएको छ ।
आर्थिक वर्ष २०८१/०८२ का लागि लाग्ने सम्पत्तिकर बुझाइसकेका तर यस व्यवस्था बमोजिम छुट पाउने क्षेत्र र व्यक्तिहरुका हकमा पेश हुने बिल रसिद प्रमाणका आधारमा आगामी आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति करमा हिसाब मिलान गरिनेछ ।
तर राजश्व छुटको निर्णय कार्यान्वयन गर्दा सम्वन्धित वडा समितिबाट अनुगमन गरी बाढी पहिरोपीडित भूमि (क्षेत्र) भएको किटानी सिफारिस भएपछि मात्र कार्यान्वयन गरिने नगरप्रमुख भण्डारीको भनाइ छ ।
यसैगरी साधारण निर्माणमुखी रोडा ढुंगा उद्योगहरुबाट प्रयोग भइरहेको जग्गामा चालु आर्थिक वर्ष २०८१/०८२ का लागि लाग्ने सम्पत्ति करमा ५० (पचास) प्रतिशत छुट दिने निर्णय पनि नगर सभाले गरेको छ ।
बाढी पहिरोका कारणबाट उत्पन्न प्रकोप र समसामयिक अन्य अवस्थालाई विचार गरी आर्थिक वर्ष २०८१/०८२ का लागि करका समसामयिक विषयमा निर्णय गर्ने अधिकार पनौती नगर कार्यपालिकामा प्रत्यायोजन गर्ने निर्णय पनि नगर सभाले गरेको छ ।
प्रतिक्रिया 4