
२१ माघ, काठमाडौं । सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेशबारे जनता समाजवादी पार्टी नेपाल आन्तरिक छलफलमा जुटेको छ ।
‘अध्यादेश स्वीकृत वा अस्वीकृतको विषयमा हामी निर्णयमा पुगेका छैनौं’ जसपा नेपालका सांसद मृगेन्द्र कुमार सिंह यादवले अनलाइनखबरसँग भने । यही माघ २४ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदैछ ।
सांसद मृगेन्द्र सिंहका अनुसार अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदा अध्यादेश स्वीकृत गर्ने पक्षमा मत दिने कि अस्वीकृत गर्ने पक्षमा मत दिने भन्नेमा निर्णय लिन पार्टी आन्तरिक छलफलमा छ ।
‘तीन दिन देखि पार्टीको कार्याकारिणी समितिको बैठक चलिरहेको छ । संसदीय दलको बैठकले पनि निर्णय गर्ला । त्यसपछि अध्यादेशमा हाम्रो पोजिसन के हुने निक्र्योल हुन्छ’ सिंहले भने ।
मन्त्रिपरिषद्को सिफारिसमा गत पुस १४ गते राष्ट्रपति रामचन्द्र पौडेले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरेका थिए ।
पुस २९ गते थप चार वटा अध्यादेश जारी भयो । माघ २ गते अर्को एउटा अध्यादेश जारी गरेको थियो । ६ वटै अध्यादेश गत शुक्रबार दुवै सदनमा प्रस्तुत भएको छ ।
अध्यादेशलाई संघीय संसदको दुवै सदनले स्वीकृत गर्नुपर्छ ।
सरकारले यही माघ २४ गते अध्यादेशलाई दुवै सदनमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरेको छ । विपक्षी दलहरूले भने अध्यादेश अस्वीकृत गर्नका लागि विरोधको सूचना दर्ता गरेका छन् । प्रतिनिधि सभामा ५० वटा र राष्ट्रिय सभामा १६ वटा अस्वीकृतको सूचना दर्ता भएको छ ।
प्रतिनिधि सभामा सरकारको प्रष्ट बहुमत छ । तर, राष्ट्रिय सभामा जसपा नेपालको पार्टीका तीन जना सांसदले जता मत दिन्छन् उतै बहुमत पुग्छ । जसपा सरकारमा छैन । तर, विपक्षी मोर्चामा पनि खुलिरहेको छैन । यसकारण जसपा नेपाल अध्यादेश स्वीकृत गर्ने वा नकार गर्ने भन्नेमा राष्ट्रिय सभामा निर्णायक छ ।
प्रतिक्रिया 4