सुत्केरी भएपछि केही सातापछि प्रसवको घाउ भरिँदै जान्छ । सुत्केरी महिला पहिलाभन्दा फूर्तिलो हुँदै आउँछिन् । फूर्तिलो हुँदै आउँछ भनेर ढुक्क बस्न सकिँदैन।
किनकी सुत्केरीलाई खानपिन र अन्य कारणले फिसरको समस्या आउन सक्छ । यो यस्तो समस्या हो, जसले शान्तसँग बस्न दिँदैन । दिसा गर्न असहज हुन्छ । दिसा गर्दा मलद्धारमा दुखाइ अत्याधिक गराउँछ ।
दुखाइ बढ्दै गएमा चाहेर पनि बच्चाको रेखदेखसम्म राम्रोसँग हुन पाउँदैन । दिनचर्या नै बिगार्छ । यो समस्याबाट छुट्कारा पाउन दिनचर्या तथा खानपानमा ध्यान दिनु आवश्यक छ । समस्या बढ्दै गएमा ढिला नगरी चिकित्सकको परामर्श लिनु उचित हुन्छ ।
फिसर भनेको के हो ?
प्रसवोत्तरमा हुने फिसर एक जटिल समस्या हो । यो समस्या हुँदा मलद्धारको भित्री छालामा सानो चिरा पर्छ । जसले गर्दा दिसा गर्न गाह्रो हुने र बल गर्दा रगत नै आउने गर्छ । यो समस्या अन्य बेलामा पनि हुनसक्छ । सुत्केरी महिलाहरूमा यो समस्या भएमा अझ बढी पीडादायी हुन सक्छ।
कतिपयले यो समस्यालाई पायल्स भन्ने सोचेर मनलाग्दी पायल्सको औषधि पनि खाइरहेका हुन्छन् । मलद्वारको सबै समस्या पायल्स हुँदैन । मलद्वारमा दुखाइ छैन, रगत मात्रा गएमा पायल्स हुनसक्छ ।
तर मलद्वारमा दुख्ने, रगत जाने, अझ दिसा कडा हुँदा झन् बढी रगत जाने र सँगै अत्याधिक दुख्ने भएमा फिसर अर्थात् मलद्वारको मुख च्यातिएको हुनसक्छ ।
सुत्केरी महिलाहरूमा फिसर किन हुन्छ ?
सुत्केरी महिलाहरूमा हर्मोनल परिवर्तनका कारण पाचन प्रणाली सुस्त हुन सक्छ। यस्तोमा फाइबरयुक्त खाना कम, चिल्लो मसालेदार खानेकुरा बढी खाने र आराम गर्नुपर्ने भएकोले खपत गर्न शारीरिक गतिविधि नै कम हुँदा दिसा अत्याधिक कडा भइदिन्छ । जसले दिसा सहज रुपमा आउन सक्दैँन ।
मस्तिष्कमा दिसा आएको संकेत आइरहेको तर पास हुन कठिन हुँदा बल लगाइने गरिन्छ ।
अत्याधिक बढी बल लगाउँदा मलद्धारको छाला च्यातिन सक्छ । जसकारण दिसासँगै रक्तश्राव हुनसक्छ ।
अर्को कारण भनेको लामो समयसम्म प्रसव प्रक्रिया चलेपछि मलद्धार क्षेत्रमा अत्याधिक दबाब पर्छ । बच्चा जन्माउने क्रममा अत्यधिक धकेल्दा मलद्धार वरपर चिरा पर्ने सम्भावना हुन्छ ।
यदि सुत्केरी हुन टाँका लगाउनु प¥यो भने पनि एनल फिसरको जोखिम बढ्छ ।
स्तनपान गराउने महिलाहरूमा शरीरमा पानीको मात्रा कम हुन सक्छ, जसले कब्जियतको समस्या गराइ फिसरको समस्या गराउन सक्छ ।
त्यस्तै, प्रसवपछिको हर्मोनल उतारचढावले शरीरको तन्तुहरूलाई कमजोर पार्न सक्छ, जसले गर्दा मलद्धार क्षेत्रमा घाउ पर्न सक्छ।
लक्षण
—दिसा गर्दा वा पछि रगत आउनु (पखालाको बेलाझैं रातो रगत देखिनु)
—दिसा गर्दा असह्य पीडा ।
—दिसा गर्न मन हुने तर बल गर्दा पनि नआउनु ।
— मलद्वारमा चिलाउने वा पोल्ने अनुभूति हुनु ।
—दिसा गर्दा वा पछि रगत आउनु (पखालाको बेला झैं रातो रगत देखिनु)
— दिसा गर्दा मलद्धार क्षेत्रमा घाउ भएको महसुस हुनु
—घाउ भए पछि उठ्न बस्न गाह्रो हुने गरी पोल्नु वा दुख्नु ।
यदि यी लक्षणहरू एक हप्ताभन्दा लामो समयसम्म रहिरहेमा, तत्काल चिकित्सकको परामर्श लिनु आवश्यक छ ।
के यो समस्या आफैं निको हुन्छ ?
कतिपय अवस्थामा केही दिनभित्र आफैं निको हुन्छ। कतिपय अवस्थामा घरेलु उपचार र खानपानमा परिवर्तनको मद्दतले यो रोग निको पार्न सकिन्छ।
के छ घरेलु उपचार ?
यदि दिसा गर्न गाह्रो भई रगत आइरहेको अवस्था र अत्याधिक पीडा छ भने बिहान र बेलुकी मन तातोपानीमा बेटाडिन मिसाएर एकछिन बसेमा बिस्तारै दुखाइ कम हुँदै जान्छ ।
—पानी पर्याप्त पिउने र फाइबरयुक्त सागपात र फलफुल खानाले दीर्घकालीन सुधार हुन्छ।
यति गरेर पनि निको नभएमा चिकित्सकको परामर्श सहितको औषधिउपचार आवश्यक हुन्छ । जति छिटो उपचार त्यति छिटो निको हुन्छ । जति ढिला ग¥यो त्यति जटिल भइ उपचार गर्न कठिन हुन्छ ।
उपचार
औषधिः चिकित्सकले अवस्था हेरेर केही औषधि सिफारिस गर्न सक्छन् । फिसरबाट हुने असुविधालाई धेरै हदसम्म कम गर्न सकिन्छ। यी औषधिहरू डाक्टरको सल्लाहमा मात्र खानुपर्छ।
मल्हमः फिसरमा लगाउनका लागि मल्हम उपलब्ध छन्। लक्षणहरूको आधारमा सही क्रिम छनौट गर्नुपर्छ । यसले चाँडै राहत दिनेछ। मल्हममा यस्ता तत्वहरू हुन्छन् जसले चिलाउने, पोल्ने, सुन्निने र दुखाइबाट राहत प्रदान गर्छ ।
दिसा नरम बनाउने औषधि : दिसालाई नरम बनाउने औषधिहरु पनि हुन्छ । यसलाई दैनिक लिनु उचित हुन्छ।
शल्यक्रिया (यदि आवश्यक भएमा)
यदि ६ हप्ताभन्दा बढी समयसम्म एनल फिसर निको नहुने हो भने चिकित्सकले सर्जिकल उपचारको सल्लाह दिन सक्छन्।
शल्यक्रिया अहिले लेजर प्रविधिबाट बिना चिरफार गर्न सकिन्छ । जसको शल्यक्रियाको समयावधि र निको हुने समय निकै कम हुन्छ ।
यद्यपि, धेरैजसो केसहरूमा शल्यक्रिया आवश्यकता पर्दैन । यदि जीवनशैली र खानपान सुधार गरियो भने फिसर स्वाभाविक रूपमा आपैm निको हुन सक्छ।
गर्भवती भएका प्रायलाई यो समस्या हुनसक्ने हुँदा बेलैमा रोकथामका उपायहरु अपनाउन उचित हुन्छ ।
कसरी हुन्छ रोकथाम ?
—बच्चालाई चिसो लाग्छ भन्दै फाइबरयुक्त खानेकुरा सागपात कम खाने गर्नुहुँदैन । आमाले खाएको खानेकुराले बच्चामा कुनै असर नगर्ने हुँदा फाइबरयुक्त खानेकुरा खान मिल्छ ।
हरियो सागसब्जी, फलफूल, गेडागुडी, र पुरै गहुँका परिकारहरू खाने, प्रशोधित, तारको र मैदाजन्य खानेकुरा खानुहुँदैन ।
—दिनभर ८ देखि १० गिलास पानी पिउनुपर्छ । मनतातोपानी पिउनाले दिसा नरम बनाउँछ ।
—सुत्केरीपछि झुक्ने वा बढी जोर लगाउने र धकेल्ने काम गर्नुहुँदैन ।
— सुत्केरी भन्दैमा दिनभर आराम मात्र गरेर बस्नुभन्दा पनि नियमित पैदल हिँड्ने वा कोठामै वरपर एकछिन हिँड्ने गर्नुपर्छ ।
—दिसा गर्दा अत्याधिक बल गर्नु हुँदैन ।
—व्यक्तिगत सरसफाइमा ध्यान दिने, दिसा गरेपछि सफा र नरम टिश्यु पेपर वा पानी प्रयोग गरेर सफा गर्ने गर्दा संक्रमणको जोखिम पनि कम हुन्छ ।
—साबुन वा रासायनिक पदार्थयुक्त टिस्यू मलद्धार वरपर प्रयोग गर्नुहुँदैन ।
प्रतिक्रिया 4