२१ माघ, काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलामा थाइल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार भएको ‘लो स्कोरिङ’ खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनले हराएको हो ।
थाइल्याण्डले दिएको ८७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १६औं ओभरमा ६९ रनमा अलआउट भयो । कप्तान बाबेट डे लिडेले सर्वाधिक २५ रन बनाइन् । आइरिस विलिङले १३ तथा कारोलिन डे लाङले १० रन बनाइन् ।
थाइल्याण्डका लागि थिपात्चा पूथावोङले ४ ओभरमा १० रन दिएर ३ विकेट लिँदा ओनिचा कामचोम्फुले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिइन् । चनिदा सुथिराङले २ विकेट लिइन् भने नताया बूचाथामले १ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले १९.५ ओभरमा अलआउट हुँदै ८६ रन बनाएको थियो। चनिदा सुथिराङले सर्वाधिक २७ रन बनाउँदा फनिता मायाले १२ रन बनाइन् ।
नेदरल्याण्ड्सका आइरिस विलिङ, इभा लिन्च र सिल्भर सिगर्सले २-२ विकेट हात पारे भने इसाबेल वोनिङले १ विकेट लिइन् ।
यसअघिको पहिलो भेटमा पनि थाइ टोलीले डच टोलीलाई हराएको थियो भने नेपालसँगको खेल पनि जितेको थियो । ३ जितसहित थाइल्याण्ड शृंखला जित्ने दाबेदार टोलीको रूपमा छ ।
शृंखलामा मंगलबार नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । लगातार तीन हार व्यहोरेको नेपाल यस खेलमा पराजित भएमा शृंखला जित्ने होडबाट बाहिरिनेछ ।
प्रतिक्रिया 4