
काठमाडौं । चर्चित दृश्य सम्पादक समेत रहेका सुरेन्द्र पौडेलले चौंथो निर्देशकीय फिल्मको रुपमा ‘वरिष्ठ बलराम’ निर्देशनको घोषणा गरेका छन् । वसन्त पंचमी एवं सरस्वती पूजाको अवसरमा सोमबार उनले नयाँ फिल्म घोषणा गरेका हुन् ।
पौडेलले सोमबार फिल्मको लोगोसहित केही जानकारी सार्वजनिक गरेका छन् । फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । फागुन पहिलो सातादेखि छायांकन गर्ने जनाइएको छ ।
२०८२ सालमा फिल्म प्रदर्शनको लक्ष्य राखिएको छ । फिल्ममा अहिलेसम्म दयाहाङ राई र विजय बराल मात्र फाइनल छन् । केही दिनमा सार्वजनिक हुने टिजरमार्फत थप कलाकार सार्वजनिक गर्ने तयारी छ ।
सामाजिक कथावस्तुमा बन्न लागेको फिल्मको छायांकन तराईका लोकेसनमा गर्ने तयारी छ । ‘वरिष्ठ बलराम’लाई वृषभ सिद्धी इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्ने जनाइएको छ ।
पौडेलको फिल्म निर्देशनको यात्रा ‘आभास’देखि सुरु भएको थियो । उनले अनमोल केसी स्टारर ‘कृ’ र धीरज मगर स्टारर ‘बाबरी’ समेत निर्देशन गरेका छन् । पौडेलले ‘मेरो एउटा साथी छ’बाट सम्पादन यात्रा थालेका थिए ।
प्रतिक्रिया 4