
२१ माघ, काठमाडौं । पश्चिम नेपालमा भूकम्प गएको एक वर्षभन्दा बढी समय बितेपछि बल्ल क्षति आकलन गरिने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विपद् अध्ययन केन्द्र इन्जिनियरिङ संस्थानबीच पश्चिम नेपालमा भूकम्पबाट भएको निजी घरको विस्तृत क्षति आकलन गर्न सम्झौता भएको हो ।
प्राधिकरणका अनुसार जाजरकोटको नलगाड र भेरी नगरपालिकाका केही वडाबाट ‘पाइलट प्रोजेकट’ का रूपमा क्षति आकलन सुरु गर्न लागिएको छ । १७ कात्तिक २०८० का दिन पश्चिम नेपालमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पबाट १ सय ५७ जनाको मृत्यु भएको थियो भने ३ सय ७५ भन्दा धेरै घाइते भएका थिए । जाजरकोट रामिडाँडामा केन्द्रबिन्दु भएर गएको भूकम्पले नलगाडमा बढी क्षति गरेको थियो ।
भूकम्पले साढे २६ हजार घर पूर्णरूपमा क्षतिग्रस्त भएको प्रारम्भिक अनुमानबाट देखिएको थियो । तर, सरकारले विपद्पछिको कामलाई तीव्रता दिन नसक्दा भूकम्प गएको एक वर्षभन्दा लामो समय पुग्दा पनि पुनर्निर्माणको कामले गति लिन सकेको छैन ।
प्रतिक्रिया 4