+
+

विपिनको रिहाइमा पहल गर्न राष्ट्रिय सभा अध्यक्षको आग्रह

भेटमा दुई देशका विविध पक्षबारे छलफल

राष्ट्रिय सभा अध्यक्ष दाहालले ७ अक्टोबर २०२३ यता हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न नेपालस्थित इजरायली राजदूतसँग आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २१ गते १९:१२

२१ माघ, काठमाडौं । इजरायलसँग युद्धविराम सम्झौता भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई मुक्त गर्दै गएको छ । सम्झौताको पहिलो चरणमा मुक्त गरिने भनिएका ३३ बन्दीको सूचीमा नेपाली युवा विपिन जोशीको नाम छैन । तर, उनलाई मुक्त गर्न सबै पक्षले पहल गरिरहेका छन् ।

यसबीच, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका छन् ।

सोमबार शिष्टाचार भेटका लागि आएका नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग उनले जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् । भेटमा उनले इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षा र रोजगारीका विषयमा ध्यान दिन पनि आग्रह गरेको अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए ।

मल्लका अनुसार सिंहदरबारमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

जवाफमा राजदूत श्मुलिकले हमासको नियन्त्रणमा रहेका नेपाली युवा जोशीलाई छुटाउन इजरायलले निरन्तर पहल गरिरहेको जानकारी गराएका थिए । उनले विपिनका बुवालगायत परिवारका सदस्यहरूसँग सोमबार मात्र भेट भएको भन्दै उनले आवश्यक पहल भइरहेको बताएका थिए ।

७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि हमासले दुई सय ५० भन्दा बढीलाई नियन्त्रणमा लिएको थियो । त्यसयता विपिनको अवस्था अज्ञात छ । इजरायल–हमासबीच युद्धविराम भएपछि अहिले धमाधम बन्दीहरू रिहाइ भइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?