
२२ माघ, काठमाडौं । मौसमविदहरुका अनुसार डिसेम्बर २०२४ मा उत्तरी गोलार्धमा चिसो बढेपछि ढिलै भए पनि प्रशान्त महासागरमा ला निनाको अवस्था बनेको छ ।
प्रशान्त महासागरमा हुने एल निनो र ला निनाको प्रक्रियाले मौसममा फेरबदल ल्याइदिने भएकाले यसमा विश्वभरका वैज्ञानिकहरुको सधैं चासो छ ।
नेपालमा हिउँद, प्रिमनसुन र मनसुनको भविष्यवाणी पनि त्यसैमा आधारित हुन्छ । वरिष्ठ मौसमविद वरुण पौडेल भन्छन्, ‘नेपालसहित दक्षिण एसियाली देशहरुको सम्भावित मौसमी अवस्था पत्ता लगाउन प्रशान्त महासागरमा हुने ला निना र एल निनो, हिन्द महासागरमा हुने इन्डियन ओसन डाइपोल (आईओडी) र मेडियन जुलियन ओसिलेसनको गतिविधि समेत हेर्ने गरिन्छ ।’
ला निना र एल निनोले विश्वभर कृषि उत्पादन, स्वास्थ्य, आम्दानी र समग्र अर्थव्यवस्थामा नै असर गर्दछ, जुन क्षेत्रले पहिल्यैदेखि जलवायु परिवर्तनको असरबाट संकटको सामना गरिरहेको छ ।
साधारण तरिकाले बुझ्दा प्रशान्त महासागरमा तातो, चिसो र तटस्थ हुने प्रक्रियाले पृथ्वीको मौसममा फेरबदल आउने गर्दछ । प्रशान्त महासागरको पूर्वी क्षेत्रमा पानीको सतह तातो हुँदा एल निनो र चिसो हुँदा ला निना भनिन्छ ।
छोटो अवधिसम्म रहनेछ ला निना
पूर्वी प्रशान्त क्षेत्रमा पानीको सतहको तापक्रम औसत (३० वर्ष अवधिको तापक्रमको औसत) भन्दा बढी र पश्चिम प्रशान्तमा कम भएको अवस्थालाई ला निना नाम दिइन्छ ।
अमेरिकाको सरकारी एजेन्सी ‘नेशनल ओसन एण्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए)’ले गत जनवरीमा सार्वजनिक गरेको एक रिपोर्टमा प्रशान्त महासागरको सतह चिसो भएको उल्लेख छ । तर यो क्षणिक अवधिसम्म मात्र रहने सम्भावना छ ।
रिपोर्टमा लेखिए अनुसार फेब्रुअरीदेखि अप्रिलसम्म ला निनाको अवस्था रहने ५९ प्रतिशत सम्भावना छ । त्यसैगरी मार्चदेखि मे महिनासम्म ला निनाको असर न्युट्रल (सामान्य) हुने सम्भावना ६० प्रतिशत छ ।
वैज्ञानिकहरुका अनुसार ला निनाको अवस्था सामान्यतया हरेक तीन वा पाँच वर्षमा बन्ने गर्दछ ।
ला निनाको सामान्य स्थितिमा पूर्वदेखि पश्चिमतर्फ बहने हावा तीव्र हुन्छ । अहिले ला निनाको अवस्था देखिएकाले पूर्वबाट पश्चिमतिर बहने हावा तीव्र भएको छ । यसको असरले इन्डोनेसियामा धेरै बादल लागेको र भारी वर्षा भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
यसको असरले इक्वेडर र पेरुमा खडेरी पर्न सक्छ । अष्ट्रेलियामा बाढी ल्याउने मुख्य कारण ला निना पनि हो । यसैगरी ला निनाका कारण उत्तरी यूरोप विशेषगरी बेलायतमा कम जाडो र दक्षिण पश्चिम यूरोपमा धेरै जाडो हुने गर्छ । भूमध्यसागरीय क्षेत्रमा हिमपात हुन्छ ।
यस वर्ष ला निनाको अवस्था ढिलो बनेको छ र यो कमजोर पनि छ । त्यसैले यो धेरै समयसम्म नरहने वैज्ञानिकहरु बताउँछन् ।
यदि उत्तरी गोलार्धमा गर्मी समयसम्म ला निनाको अवस्था भएमा त्यसबाट एटलान्टिक महासागरमा अधिक विनाशकारी र तीव्र तुफान आउने सम्भावना बढ्ने विशेषज्ञहरु बताउँछन् ।
ला निनाको कारण पूर्वी प्रशान्त क्षेत्रमा अर्थात् दक्षिण–पश्चिमी अमेरिका र मेक्सिकोदेखि लिएर दक्षिण अमेरिकासम्म खडेरी र डढेलोको प्रकोप बढ्न सक्छ । यद्यपि अमेरिकाको पूर्वोत्तर राज्य र क्यानडामा ला निनाको कारण जाडोयाममा बढी जाडो र बढी वर्षा हुनसक्दछ ।
साथै ला निनाको कारण एटलान्टिक क्षेत्रमा तुफानको गतिविधि बढ्ने गर्दछ । एटलान्टिक महासागरमा समुद्रको तापक्रम रेकर्ड स्तरमा पुगिसकेको छ । जसका कारण तुफान अझै खराब हुनसक्ने आँकलन छ ।
एल निनोको असर कस्तो हुन्छ ?
प्रशान्त महासागरको पश्चिम भागतर्फको सतहको पानी तातेर हावाको न्यूनचापीय क्षेत्र तयार हुने अवस्थालाई एल निनो भनिन्छ । यसैगरी समुद्रको तापक्रम र समुद्रभन्दा माथि रहेको हावाको बहावलाई असिलेसन भनिन्छ । एल निनो र असिलेसनको मिश्रित प्रणालीलाई भने एन्सो भनिन्छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार डिसेम्बरदेखि फेब्रुअरीसम्म एन्सो तटस्थ अवस्थामा रहेकाले नेपालमा हिउँद बढी न्यायो र कम वर्षा भएको छ ।
विभागका मौसमविदहरुका अनुसार नेपालको हिउँद अवधिको जलवायु प्रभावित पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एन्सो तथा हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डाइपोल (आईओडी) हो ।
सामान्यतया एल निनोको अवस्था हरेक दुईदेखि सात वर्षको अन्तरालमा बन्ने वैज्ञानिकहरु बताउँछन् । यसक्रममा प्रशान्त महासागरमा पूर्वदेखि पश्चिमतर्फ बहने हावा कमजोर हुन्छ । कहिलेकाहिँ त उल्टो दिशामा हावा बहन्छ । यो हावाले आम रुपमा भूमध्ये रेखालाई पार गर्दछ ।
साथै दक्षिण अमेरिकाबाट तातो पानीलाई दक्षिण–पूर्वी एसिया र अष्ट्रेलियातर्फ धकेल्छ । तर जब हावा शान्त हुन थाल्छ तब तातो पानी दक्षिण अमेरिकामै रहन्छ अर्थात् पश्चिमतर्फ अघि बढ्न पाउँदैन । यसबाट पूर्वी प्रशान्त महासागरमा चिसो पानी कम हुने हुँदा वायुमण्डलमा ज्यादा गर्मी हुन थाल्छ ।
यो कारणबाट बढी पानी पर्छ र उत्तरी–दक्षिण अमेरिका जस्ता स्थानमा बाढी पनि आउँछ ।
एल निनोको कारण समुद्रको तापक्रम बदलिँदा जेट स्ट्रिम (उपल्लो वायुमण्डलमा बहने तीव्र गतिको हावा) को बाटो जथाभावी बहन थाल्छ । यो हावाको असर वर्षामा पर्दछ । यसले धेरै स्थानको जलवायुमा बदलाव ल्याइदिन सक्छ । उदाहरणका लागि इण्डोनेसिया, भारत, नेपाल जस्ता देशमा मनसुन रोकिनसक्छ ।
एल निनो भएको अवस्थामा नेपालमा हिउँदे वर्षा प्रभावित हुन्छ । तर नेपालमा यसबारे अध्ययन कम रहेको मौसमविदहरु बताउँछन् ।
अध्ययन अनुसन्धान कम
समुद्रमा हुने प्राकृतिक प्रक्रियाबाट पर्ने असर यसको अवधिको आधारमा बदलिन सक्छ । वैज्ञानिकहरुका अनुसार जलवायु परिवर्तनले पनि यसलाई प्रभावित बनाउँछ । त्यसैले जलवायु परिवर्तनको कारण ला निना र एल निनोको स्थिति छिटो–छिटो र तीव्र रुपमा बनिरहेको छ ।
वैज्ञानिकहरुका अनुसार जब–जब पृथ्वीको तापक्रम बढ्छ, तब–तब एल निनो र ला निनाको असर पनि बढ्ने गर्दछ । त्यसैले शोधकर्ताहरु भन्छन् यदि जिवाष्म इन्धन प्रयोग नगरेर हरितगृह ग्याँस उत्सर्जन घटाउन सकियो भने विश्वभर तापक्रम बढ्दा हुने असरबाट जोगिन सकिन्छ ।
एल निनो भएको अवस्था मनसुनको समयमा नेपालमा साधारणतया सुक्खा हुने गर्दछ अर्थात् वर्षा कम हुन्छ । हिउँदको बेलामा भने एल निनो हुँदा बढी पानी पर्छ । लानिना हुँदा सुक्खा हुन्छ । तर यसको असरबारे धेरै अध्ययन अनुसन्धान भएको छैन ।
यसको असर सिजन अनुसार र रिजन (क्षेत्र) अनुसार पनि फरक–फरक हुने वरिष्ठ मौसमविद पौडेल बताउँछन् । ‘मनसुनको समयमा पनि नेपालको पूर्वी भागमा यसको असर बढी देखिन्छ भने पश्चिम भागमा कम देखिन्छ ।’ ‘मनसुनको समयमा पनि नेपालको पूर्वी भागमा यसको असर बढी देखिन्छ भने पश्चिम भागमा कम देखिन्छ ।’
प्रतिक्रिया 4