
२२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यका लागि माटो र पानी पनि निरोगी हुनुपर्ने बताएका छन् । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सुरु गर्दै उनले मानव स्वास्थ्यका लागि खानाको उत्पादन पनि महत्त्वपूर्ण हुने बताएका हुन् ।
‘हामीकहाँ कस्तो पानी आइराखेको छ भने पानी पर्यो भने हिलो हुन्छ, पानी परेर भिझ्ने होइन कि हिलो हुन्छ । पानी नै त्यस्तो भएपछि त्ययसमा केके छिर्छ ?’ उनले भने, ‘त्यसमा एसिडिटिक तत्त्व छ ।’
प्रधानमन्त्री ओलीले अगाडि भने, ‘गौरीशंकरमा आगो लागिरहेको छ । त्यहाँबाट निस्केको चिज खरानी हुन्छ । खरानी हावासँग मिसिँदा धुवाँ पीरो हुन्छ, अमिलो हुन्छ, नुनिलो हुन्छ । खरानीमा अम्लीयता पनि हुन्छ, क्षारिता पनि हुन्छ । कसरी हामी अनेक कुराबाट जोगिनुपर्ने हुन्छ ।’
प्रधानमन्त्री आलीले रोग लाग्न दिनुभन्दा अगाडि नै स्वस्थमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘रुघा लागेपछि ट्याब्लेट दिने काम डाक्टर हो । रुघा लाग्नुभन्दा अगाडि स्वस्थ हुने हामी हरेकले स्वस्थ हुन ध्यान दिनुपर्दछ ।’
‘विना बहाना मर्न पाइँदैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले फरक प्रसंगमा मान्छेले मृत्युवरण गर्दा केही न केही बहाना चाहिने भएकाले अस्पतालको आवश्यकता हुने बताए ।
‘अनिवार्य रुपमा मर्नका लागि कुनै न कुनै निहुँ त चाहियाृे, बिना निहुँ त कोही मर्न पाइँदैन । कि निमोनिया हुनुपर्यो कि केही हुनुपर्यो । एउटा न एउटा निहुँ, त्यसका लागि बिरामी सिरामी, दुर्घटना केही न केही हर्टअट्याक, ब्रेनह्यामेरज भए पनि हुनु त पर्यो,’ उनले भने, ‘त्यसका लागि त अस्पताल चाहियो ।’
प्रधानमन्त्री ओलीले बिरामी हुन नपर्ने कुरा नै महत्वपूर्ण रहेको बताए । ‘पहिले बिरामी नपर्ने कुरा ज्यादै महत्वपूर्ण छ भन्ने हामीले बुझ्नुपर्छ । फेरि हामीले थाहा पाउनुपर्छ, हस्पिटल नभइ हुँदैन,’ उनले भने, ‘महिलाहरुको प्रजननको समस्या त हुन्छ, प्रेग्नेन्सीका बेलामा जाँचिराख्नुपर्छ, हस्पिटल गइराख्नुपर्छ, बच्चा ठिक ढंगले बसेको छ कि छैन हेरिराख्नुपर्ने हुन्छ ।’
प्रधानमन्त्री ओलीले अन्य प्रकारका आकस्मिक रुपमा स्वास्थ्यमा नचाहँदा नचाहँदै पनि समस्या आउने र त्यसका लागि पनि अस्पताल आवश्यक रहेको बताए । सरकारको अहिलेको लक्ष्य नै निरोगी नेपाल रहेको र त्यसका लागि विभिन्न योजना र कार्यक्रमहरु ल्याइएको पनि सुनाए ।
विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा प्रधानमन्त्री ओलीले उक्त अभियान शुभारम्भ गरेका हुन् ।
यो अभियान फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदैछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिने लक्ष्य छ ।
प्रतिक्रिया 4