
चिनियाँ एआई कम्पनी ‘डिपसिक’ को आगमनसँगै विश्वभरि तहल्का मच्चिएको छ । न्युयोर्क स्टक एक्सचेन्जमा यसले हलचल पैदा गरिदियो । यो एप्लिकेसनले मात्र सात दिनभित्र १ सय ११ देशमा एप स्टोरको टप १० सूचीमा स्थान बनाएको छ भने १८ देशमा गुगल प्ले स्टोरमा टप १० मा पुगेको छ ।
डिपसिकको कुल डाउनलोडमध्ये ८० प्रतिशतभन्दा बढी गत सात दिनभित्र भएको छ । यसले प्रतिस्पर्धी एआई प्लेटफर्म पर्प्लेक्सिटी भन्दा ३ सय प्रतिशत बढी डाउनलोड हासिल गरेको छ । २६ जनवरीमा यो एप अमेरिकी एप स्टोरमा नम्बर १ स्थानमा पुगेको थियो भने २४ जनवरीमा गुगल प्ले स्टोरमा १ सय ३३ बाट नम्बर ५ मा उक्लिएको छ।
यसको दैनिक सक्रिय प्रयोगकर्ता संख्या २४ देखि २५ जनवरीसम्म १ सय १० प्रतिशतले वृद्धि भएको छ । चीन डिपसिकको सबैभन्दा ठूलो बजार हो, जसले कुल डाउनलोडको २३ प्रतिशत हिस्सा ओगटेको छ । अमेरिका १५ प्रतिशत र इजिप्ट ६ प्रतिशत छ ।
हालसम्म ३० लाख डाउनलोड भएको र त्योभन्दा बढी प्रयोगकर्ता बनाइएको यो एआईले अमेरिकी सेयर बजारमा भुइँचालो ल्यायो । प्रतिद्वन्द्वी च्याट जीपीटीको रेकर्ड उछिन्दै यो अघि बढिरहेको छ ।
उत्तरी छिमेकी चीनले डिपसिकको तोप चलाइरहेकै समयमा संयोगवश दक्षिणी छिमेकी भारतको प्रयागराजमा महाकुम्भ मेला चलिरहेको छ । यो लेख तयार गरिराख्दा प्रयागराजका सडक बन्द गरिएकाले मानव सागर अयोध्या अनि अन्य तीर्थस्थल उर्लिरहेको छ ।
८ करोड हाराहारी एकैदिन प्रयागराज पुगेर पृथ्वीमा एकैदिन एकै स्थानमा जम्मा भएका मान्छेको रेकर्ड कायम भएको छ । अयोध्यामा ठुल्ठूला स्पिकरबाट मेलामा छुटेका साथी र परिवारजनलाई आफू कहाँनेर भएको, यहाँ भेट्नू भन्ने सन्देश धाराप्रवाह भइरहेको छ । अपार संख्याका हिसाबले इन्टरनेट र फोन नेटवर्क नै प्रभावित हुने स्थितिमा एआईको दुनियाँबाट पर प्रयागराजमा जम्मा भएका तीर्थालु संख्याले दुई फरक संसार प्रष्ट्याएको छ । दुई फरक संसारबीचको ‘तरुल’ नेपालले दुवै क्षेत्र धर्म–अध्यात्म र एआईकै केन्द्रका रूपमा आफूलाई उभ्याउने सामर्थ्य राख्छ ।
पुराना हिन्दी फिल्ममा कुम्भ मेलामा हराउने अनि क्लाइमेक्समा भेटेर गुन्डालाई धुलाई गर्ने न्यारेटिभ बिकेको थियो । हलमा तालिको गडगडाहट यस्तै दृश्यमा आउने गर्थ्यो । अहिले व्याप्त अर्को न्यारेटिभले स-शरीर भेटिने, जम्मा हुने कार्यक्रममा सहभागी संख्या व्यापक घट्छ भन्नेलाई कुम्भका सहभागीले जवाफमात्र दिएका छैनन्, टेक्नोलोजी नै सबैथोक हो भन्ने भाष्यलाई पुनर्विचार गर्न कर पनि लगाएका छन् ।
डिपसिक आगमनपछि गुगल, माइक्रोसफ्ट र अमेजन जस्ता प्रमुख टेक कम्पनीहरूको सेयर मूल्यमा औसत ४.५ प्रतिशतले गिरावट आएको छ । यसको कारण डिपसिकले प्रदान गर्न सक्ने प्रतिस्पर्धात्मक लाभले प्रचलित टेक दिग्गजहरूलाई चुनौती दिएको हो । यसको विपरीत डिपसिकसँग सहकार्य गर्ने एआई कम्पनीहरूको बजार मूल्यमा १२ प्रतिशतले वृद्धि भएको छ । यसले एआई प्रविधिको भविष्यमा पार्न सक्ने प्रभावलाई दर्शाउँछ ।
डिपसिकको यो प्रगतिले मानवीय अनुभव प्रतिस्थापन गर्न सक्दैन । प्रयागराजमा आयोजित कुम्भ मेलाले यसको प्रमाण दिएको छ । यसपटकको कुम्भ मेलामा एकैदिन ८ करोडभन्दा बढी तीर्थयात्री जम्मा हुनुले मानवीय संयोजन र परम्पराको महत्त्व पुनः प्रमाणित गरेको छ ।
प्रतिदिन १० हजारभन्दा बढी घोषणा माइकबाट गरिन्छन्, जसले परिवार र साथीहरूलाई पुनः जोड्न मद्दत गर्छ । यो म्यानुअल प्रक्रिया ९० प्रतिशत सफलता दरसाथ काम गर्छ, जुन एउटा आफैंमा ठूलो उपलब्धि हो । यसले देखाउँछ कि प्रविधि अभावमा पनि मानवीय प्रयासले कस्तो अद्भूत परिणाम दिन सक्छ ।
नेपालले यसबाट एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छ । भारत र चीनबीच ‘स्यान्डविच’ भएको नेपालले सिलिकन भ्याली बनाउने ठूलो सम्भावना राख्छ । नेपालको भौगोलिक अवस्था डेटा सेन्टरहरूका लागि अनुकूल छ । हाम्रो हिमाली भूभागले प्राकृतिक रूपमा शीतल हावापानी प्रदान गर्छ, जुन डेटा सेन्टरहरूका लागि अत्यावश्यक हुन्छ । यसले ऊर्जा खपत घटाउन मद्दत गर्छ र स्थायित्व बढाउँछ ।
साथै, कुम्भ मेलामा जम्मा हुने करोडौं तीर्थयात्रीलाई पनि नेपालले आकर्षित गर्न सक्छ । धार्मिक पर्यटन प्रचार प्रसार गरेर भारत जस्तै ठूलो बजार नजिकै भएकाले नेपालले आफ्नो धार्मिक स्थललाई विश्वव्यापी गन्तव्यका रूपमा स्थापित हुन सक्छ । पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनीजस्ता तीर्थस्थललाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरेर नेपालले धार्मिक पर्यटनबाट ठूलो आर्थिक लाभ कमाउन सक्छ ।
मोबाइल कोट्याउँदै एआईका कुरा प्रयोग गरेर जुन सहजता हासिल गर्न सकिन्छ, त्यसरी नै हराएका–छुट्टिएकालाई मेलामा माइकबाट बोलेर पनि हुन्छ, तत्काल प्रभावकारी सञ्चार गर्न सकिन्छ । विवादको कुरा ल्याएर कुन सान्दर्भिक भन्ने निर्क्योल भन्दा पनि चीन र भारतबाट नेपालले पाउन सक्ने फाइदामा जोड दिनुपर्छ ।
नेपालले आफ्नो भौगोलिक र सांस्कृतिक विशेषता पहिचान गरेर एआई र धार्मिक पर्यटन दुवै क्षेत्रमा आफूलाई केन्द्रित गर्न सक्छ । यसले नेपाललाई प्रविधि र पर्यटनको हब बनाउन मद्दत पुग्ने छ। डिपसिकलाई लोभ्याउँदै सँगसँगै दीपशिखा प्रज्वलन पनि गरौं ।
नेपालमा समृद्ध आध्यात्मिक सम्पदा र विविध धार्मिक स्थलहरूका कारण धार्मिक पर्यटनको अपार सम्भावना छ । पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथदेखि अनगिन्ती बौद्ध गुम्बासम्मका पवित्र तीर्थस्थलले यात्रुलाई गहिरो आध्यात्मिक अनुभव प्रदान गर्छन् ।
भारतसँगको निकट सांस्कृतिक र भौगोलिक सम्बन्धलाई ध्यानमा राख्दा, विशाल भारतीय बजार नेपालका लागि महत्त्वपूर्ण अवसरका रूपमा देखिन्छ । यस सम्भावना पूर्णरूपमा उपयोग गर्न नेपालले आफ्नो पर्यटन पूर्वाधार सुदृढ पार्नुका साथै सीमापार यात्रा सुविधा सुधार्नुपर्छ । साथै, पर्यटन व्यवस्थापनमा आधुनिक प्रविधिको एकीकरण आवश्यक छ।
प्रमुख धार्मिक स्थलहरूमा डिजिटल प्लेटफर्महरू मार्फत तीर्थयात्रा बुकिङ, भर्चुअल टुर र स्मार्ट सूचना प्रणालीहरू लागु गरिए आगन्तुकको अनुभव अझ समृद्ध हुनेछ।
नेपाललाई धार्मिक पर्यटन र प्रविधिको केन्द्रका रूपमा विकास गर्दा केवल अर्थतन्त्रलाई मात्र गति दिने छैन, भारत तथा विश्वव्यापी समुदायसँगको सांस्कृतिक सम्बन्ध समेत मजबुत बनाउने छ । परम्परा र नवीनताको समुचित समायोजन गरी नेपालले आफूलाई दक्षिण एसियाको अग्रणी आध्यात्मिक तथा प्राविधिक केन्द्रका रूपमा स्थापित गर्न सक्छ ।
प्रतिक्रिया 4